कोरोना भाइरसबाट इटालीमा एकैदिन ३६८ जनाको मृत्यु


हरेकपल March 16, 2020

काठमाडौं, ३ चैत । कोरोना भाइरसका कारण इटालीमा आइतबार ३६८ जनाको मृत्यु भएको छ। यो संगै कोरोना भाइरसबाट इटालीमा ज्यान गुमाउनेको संख्या १ हजार ८०९ पुगेको छ।

यस्तै, युरोपको अर्को मुलुक स्पेनमा आइतबार ९७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २८८ पुगेको छ।

फ्रान्समा आइतबार थप २९ जनाको मृत्यु भएको छ। योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२० पुगेको छ।

यसैगरी, बेलायतमा आइतबार १४ जनाको ज्यान गएको छ। बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भइसकेको छ।
युरोपका बिभिन्न मुलुकमा कोरोनाको संक्रमण बढेपछि ती देशले नागरिकलाई अवातजावतमा रोक लगाउनुका साथै सीमामा कडाई गरेका छन्।
जर्मनीले फ्रान्स, स्वीट्जरल्याण्ड, अस्ट्रिया, डेनमार्क र लग्जेम्बर्गसँगको सीमामा नियन्त्रण गरेको छ भने पोर्चुगलले स्पेनको प्रमुख सीमा बन्द गर्ने बताएको छ।

चीनबाट फैलिएको कोरोनाका कारण विश्वमा हालसम्म ६ हजार ६५ जनाको मृत्यु भएको छ।