लोभ के हो ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल March 17, 2020

लोभमूलानि पापानि संकटानि तथैव च ।
लोभात्प्रवर्तते वैरं अतिलोभात्विनश्यति ।।
– संस्कृत सुभाषितम्

लोभ पापको मूल कारण हो । सम्पूर्ण संकट निम्त्याउने लोभले शत्रुता पनि बढाउँछ । त्यसैले अति लोभ गर्नु हुँदैन किनकि यसले विनाशको बाटो निम्त्याउँछ ।

लोभलाई पापको मूल कारण मानिएको छ । किनकि मनमा लोभ भएपछि मान्छे पापकर्ममा प्रवृत्त हुन्छन् । लोभ मनको विकार हो । जति मनमा इच्छा हुन्छन् ती पूर्तिका निम्ति मान्छे जस्तोसुकै कुरालाई पनि पचाउन उद्यत हुन्छ । लोभको पूर्ति मै पापकर्म अन्तर्निहित रहने भएकाले लोभलाई प्रथमतः पापको मूल कारण मानिएको छ ।


यसैगरी लोभकै कारण अनेकौँ संकट अइपर्न सक्छन् । मनका विकारलाई पूर्तिका निम्त अनेकौँ बाधा अड्चना पनि पार गर्नुपर्ने हुन्छ । लोभ एकप्रकारको भोक नै हो । जसरी भोकले खप्न नसकेका बेला जे जस्तो खानेकुरा पायो त्यो जसरी भए पनि मान्छे खान र बाँच उद्यत हुन्छ त्यसैगरी लोभको पूर्तिक निम्ति अनेकौँ संकटलाई झेल्दै मान्छे अघिबढ्ने गर्दछन् ।
यसैगरी एक आपसमा वैरभाव निम्त्याउने प्रमुख कारणका रूपमा पनि लोभलाई लिइएको छ । धनको लोभकै कारण आफन्तको साथै एकदेशको अर्को देशप्रति वैरभाव हुने गर्दछ । यद्धका विभीषिका छेडिएका छन् । लोभकै पूर्तिका निम्ति महाभारतका युद्ध भएका हुन् । दुर्योधनमा लोभको लालसा नभएको भए सायद महाभारतको युद्ध हुने थिएन ।


अतः अति लोभले विनाशको बाटो पहिल्याउने भएकाले अतिलोभ गर्नु हुँदैन भन्ने नीति वचन मननीय छ ।