उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मेडिकल कलेजमा तनाव


हरेकपल March 16, 2020

भैरहवा,३ चैत । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा तनाव उत्पन्न भएको छ।

नवलपरासीको बर्दघाट– २ की यमकुमारी पुनको उपचारको क्रममा मृत्यु मृतकका आफन्त र डाक्टरबीच झडप समेत भएको थियो।

शुक्रबार टाउको दुखेर उपचारका लागि मेडिकल कलेज आएकी पुनको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सकमाथि हातपात गरेको अस्पतालले जनाएको छ।

मृतकका आफन्तले उपचारमा संलग्न जुनियर रेसिडेन्ट ९जेआर० डाक्टर अर्चन घिमिरेलाई हातपात गरेका थिए। हातपातपछि डाक्टर घिमिरे सामान्य घाइते भएका छन्।

कुटाइ खाएपछि डाक्टरहरुको टिमले पनि बिरामीका आफन्तमाथि कुटपिट गर्दै अस्पताल गेटबाट निकालेको मृतकका भदा कर्णबहादुर गुरुङले बताए।

उनले टाउकोमा समस्या भएर अस्पताल भर्ना गरिएकी दिदीको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको भन्दै काठमाडौं रिफर माग्दा अस्पतालले रिफर नदिई लापरबाही गरेर दिदीलाई मारेको आरोप लगाए। उनले दिदीको उपचार भइरहेको र सन्चो हुन्छ भन्दै राखेर रिफर माग्दा पनि नदिएको बताए।

अस्पताल प्रशासनले भने डाक्टरको लापरबाहीले पुनको मृत्यु नभएको जिकिर गरेको छ।

डाक्टरमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै प्रशासनमा
पुनको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनावका कारण मेडिकल कलेजको उपचार सेवा प्रभावित भएको छ।

उपचारमा संलग्न डाक्टरमाथि बिरामी पक्षले हातपात गरेपछि सुरक्षा र कारबाहीको माग गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्।

डाक्टरहरु आन्दोलनमा उत्रिएपछि अस्पतालको ओपिडी सेवा पूर्ण रुपमा ठप्प भएको छ। ओपिडीमा टिकट लिएर बसेका बिरामीहरु डाक्टर उपचारमा नफर्किएपछि घर फर्कन बाध्य भएका छन्।

मेडिकल कलेजमा कार्यरत विशेषज्ञ डाक्टर जुनियर रेजिडेन्ट डाक्टर तथा विद्यार्थीहरु मेडिकल कलेजका ३ वटा ठूला गाडीमा जम्मा भएर जिल्ला प्रशासन कार्यालय आएका छन्।

डाक्टर कुट्ने मृतकका आफन्तलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउन गएको अस्पतालले जनाएको छ। प्रशासन पुगेका डाक्टर तथा विद्यार्थीले अहिले प्रशासन अगाडि नाराबाजी समेत गरेका छन्। स्वास्थ्यखबरबाट