काठमाडौं । कोभिड–१९ भाइरसविरुद्ध सरकारले गरेका निर्णय सशक्त भए पनि कार्यान्वयन फितलो देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तय गरेका रणनीति प्रभावकारी रूपमा लागू हुन सकिरहेका छैनन् ।
समितिले फागुन २९ मा गरेको १९ बुँदे निर्णयको पहिलोदेखि दस नम्बरको बुँदासम्म विदेशबाट आउनेका लागि विभिन्न प्रकारका नियम तोकिएको छ । ती नियम तोकिएअनुसार लागू भइरहेका छैनन् । समितिले सोमबार मात्रै उपत्यकाका ६ वटा अस्पताललाई कोरोना उपचारमा केन्द्रित गरी १२० वटा आईसीयू शय्या बनाउने, उपत्यकामै एक हजार शय्यासम्मको आइसोलेसन वार्ड बनाउने, उपत्यकाबाहिरका अस्पतालहरुमा १ सय १५ वटासम्म आईसीयु शय्या तयार पार्नेलगायतका निर्णयहरू गरेको छ ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न उद्योगी व्यवसायीसँग समन्वय गरी व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, डाइग्नोस्टिक किट्सलगायतका सामग्रीहरुको आपूर्ति व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश प्रस्थान गर्ने यात्रुहरुलाई प्रस्थान विन्दुमा र मुलुकभित्रका सबै आन्तरिक विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुलाई प्रस्थान विन्दुमा विश्व स्वास्थ्य संगठनबाट निर्धारित मापदण्डबमोजिम स्वास्थ्य स्क्रिनिङको कार्य गर्न निर्देशन दिइएको छ ।
सरकारको यसअघिको निर्णयमा विदेशीको नेपाल प्रवेशलाई नियन्त्रित बनाउन चैत १ देखि अनअराइभल भिसा स्थगन गर्ने तथा भिसा प्राप्त गरिसकेका जोकोहीले नेपाल प्रवेश गर्न चाहे पछिल्ला सात दिनको स्वास्थ्य जाँच प्रमाणपत्र ९स्वाब टेस्ट पीसीआर० पेस गर्नुपर्ने उल्लेख छ । तर, सोमबार कतारबाट फर्काइएका दुई सय ५० नेपालीमध्ये धेरैलाई स्वास्थ्य जाँच प्रमाणपत्रबिनै प्रवेश अनुमति दिइयो । केहीले मात्रै यस्तो रिपोर्ट देखाएका थिए ।
निर्णयको ५, ६ र ७ नम्बरको बुँदामा विदेशबाट नेपाल आउने जोकोही पनि १४ दिनको ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने भनिएको छ । तर, विश्वका विभिन्न देशबाट नेपाल फर्किएकाहरू काठमाडौंमा ओर्लिएलगत्तै परिवारका सदस्यसँग झ्याम्मिएर खिचेका फोटा फेसबुकमा बग्रेल्ती देख्न सकिन्छ । नेपाल प्रवेश गर्नेहरूलाई सेल्फ डिक्लरेसन फारम भराएर क्वारेन्टाइनमा बस्न हस्ताक्षर गराए पनि त्यो लागू भएरनभएको कुनै निकायबाट अनुगमन भएको छैन ।
अध्यागमन विभागका महानिर्देशक ईश्वराज पौडेलका अनुसार चैत १ गते नयाँ नियम लागू भएपछि नेपाल भित्रिने विदेशीको संख्या ह्वात्तै घटेको छ । ‘साविकभन्दा ६५ प्रतिशत कम विदेशी मात्रै आइरहेका छन्, विदेशबाट आउने नेपालीको संख्या पनि कम हुँदै गएको छ,’ उनले भने, ‘अनअराइभल भिसा पूर्णरूपमा रोकिएको छ । कूटनीतिक व्यक्ति र अफिसियलहरू मात्रै आएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।