टिपरले आमाछोरीको ज्यान लिएपछि पनौतीमा तनाव, मंगलबार बिहानदेखि कर्फ्यू


हरेकपल March 17, 2020

बनेपा । सोमबार साँझ पनौतीको बसपार्कनजिकै बनेपाबाट पनौतीतर्फ जाँदै गरेको टिपरको ठक्करबाट खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएपछि पनौतीमा तनाव भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि मंगलबार बिहान ९ बजेदेखि कर्फ्यू लगाएको छ।

घटनापछि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए। उत्तेजित भीडले तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

आमाछोरीलाई ठक्कर दिने बा ५ ख ५४८० नं को टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक गोलेका श्रीमान् छिरिङ लामा वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्।