जनप्रतिनिधिलाई प्रभावकारी भूमिका खेल्न प्रकाशमानको आग्रह


हरेकपल March 17, 2020

काठमाडौँ, ४ चैत । प्रतिपक्षी दल काँग्रेसका नेता प्रकाश मान सिंहले कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष, सदस्यहरु र पार्टीका क्षेत्रीय सभापतिहरुलाई प्रभावकारी भुमिका खेल्न र जनतालाई अनुभुत हुने काम गर्न आग्रह गरेका छन् ।

उनले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसले पार्न सक्ने प्रभावलाई ख्याल गरी स्थानीय स्तरमा जनताको घर घरमा पुगेर आवस्यक जनचेतना र प्रभावकारी भुमिका खेल्न र जनतालाई सहयोगमा जुट्न निर्देशन दिएका छन् ।

साथै जनप्रतिनिधिहरुले यतिखेर जनतामा रहेको त्रास हटाउने र सहजताको वातावरण निर्माण गर्न र सबै ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

कोरोनाको नाममा कालो बजारी गर्ने र अभाव शृजना गरी जनजिवन प्रभावित हुदा समेत सरकारले बजारमा हस्तक्षेपकारी भुमिका देखाउन नसक्नु दुखद भएको उनले बताएका छन् ।

उनले भाषण भन्दापनि बिपत्तिमा जनमानसमा रहेको त्रास अभाव हटाउन सरकार समक्ष अपिल गरेका छन् । उनले बिपदमा आफूहरु सरकारलाई सहयोग गर्न तयार रहेकाले विशेष पहल गरी कालो बजारी महंगी नियन्त्रण गर्न र बिपत्तिबाट बच्न विशेष प्याकेज ल्याउन समेत माग गरेका छन् ।

उनले भने, “यति बेला कांग्रेसको भुमिका प्रभावकारी भएन भन्ने चौतर्फी चिन्ता रहेकाले पार्टी क्राईसिसमा रहेको सत्य भएको र कसरी पार्टीको भुमिका प्रभावकारी बनाउने भन्नेमा सबैले सोच्ने बेला आएको छ ।” साथै पार्टी विधिविधान अनुसार चल्न नसकेकाले आजको अवस्थामा पुगेको बताएका छन् ।

जनप्रतिनिधीहरुलाई पार्टीसंग समन्वय गरी काम गर्न आग्रह गर्दै उनले आफ्नो व्यक्तिगत आकाङ्क्षा त्यागेर दिन रात जनताको काममा लाग्न निर्देशन दिएका छन् । काठमाडौ महानगरपालिकाको काम गराई चित्त बुझदो हुन नसकेको भन्दै उनले हेरेर बस्नेभन्दा पनि सशक्त भुमिका देखाउन उनले निर्देशन दिएका छन् ।