कृत्रिम अभाव र कालोबजारी हटाउन सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारकाे तयारी


हरेकपल March 17, 2020

काठमाडौं, ४ चैत । सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको बताए ।

कोरोना भाइरसको सन्त्रासका कारण बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भएको भन्दै सो हटाउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भएको हो । मन्त्री भट्टले उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समिति बैठकमा मंगलबार यसबारे जानकारी गराएका छन् ।

मन्त्री भट्टले चाडपर्वमा सञ्चालन गरेजस्तो सुलभ, सस्तो पसल भनेर सञ्चालन गर्ने तयारीमा रहेको भन्दै खाद्य व्यवस्था विभाग र साल्ट ट्रेडिङले तत्काल ती ठाउँहरुमा सहज हुनेगरी आवश्यक कोटा निर्धारण गरेर वितरण गर्ने बताए ।

उनले आवश्यकताभन्दा बढी सिलिन्डर राख्नु असुरक्षित हुने भएकाले भरेका सिलिन्डर घरमा भण्डारण नगर्न आग्रह गरेका छन् । यसबारे नेपाल आयल निगमले पनि चाँडै सूचना प्रकाशन गरी आग्रह गर्ने मन्त्री भट्टको भनाइ छ ।