युरोप बन्द : अन्योल र त्रासमा नेपाली


हरेकपल March 18, 2020

काठमाडौं, ५ चैत । युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणले संकटमा परेका छन्। पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन्।

अध्ययन गर्न गएका तथा वैधानिक रूपमा काम गर्ने नेपालीलाई त्यहाँको सरकारले कामबराबरको रकम उपलब्ध गराएको हुनाले दैनिकीमा समस्या छैन। जो अवैध छन् उनीहरूको हकमा भने समस्या हुने देखिएको छ। पोर्चुगल र स्पेनमा नेपाली अवैध रूपमा बसोबास गर्दै आएका छन्। त्यहाँ सजिलै वैधानिक हुन सकिने हुनाले त्यस्ता नेपालीको संख्या ती दुई मुलुकमा बढी छन्। त्यहाँ कागज बनाएर अन्य मुलुक पुग्ने गर्छन्। अन्य युरोपेली मुलुकमा पनि केही न केही नेपाली ओभरस्टे (साबाहेक) बस्दै आएका छन्। उनीहरू बढी चिन्तित रहेको नेपाली दूतावासको अनुमान छ।

युरोपमा हजारौंको संख्यामा नेपाली अवैध बसोबास गरिरहेका छन्। युरोपमा रहेका राजदूतका अनुसार नेपालीमा महामारी भएको जानकारी आएको छैन। ‘नेपालीसँग कुनै न कुनै माध्यमले जोडिएका छौं’, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले मंगलबार अन्नपूर्णसँग टेलिफोनमा भने, ‘पोर्चुगलको फारवामा एक नेपालीलाई संक्रमण भएको र त्यहाँ ४०–४५ नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी आएको छ।’

नेपालीको नाम सार्वजनिक गरिएको छैन। आइसोलेसनमा राखेर र उपचार भइरहेका नेपालीको स्थिति सामान्य रहेको जानकारी उनले दिए। युरोपेली महासंघ ९ईयू०का लागि राजदूत रहेका लोकबहादुर थापाले पनि यहाँका नेपालीलाई कोरोनाले आक्रमण गरेको जानकारी नभएको बताए। सिंगो युरोप आक्रान्त रहेकाले सबै सचेत भएर घरमै बस्नुको विकल्प नभएको उनले उल्लेख गरे। ‘युरोप औपचारिक रूपमै लकडाउनझैं छ’, उनले भने, ‘बुधबार साँझ ईयू नेतृत्वको भिडियो कन्फरेन्स गर्दै नियन्त्रण र उपचारका थप निर्णय लिनेछन्।’

अधिकांश मुलुक १५ दिनका लागि लकडाउन भएका छन्। इटाली र स्पेन यसअघि नै लकडाउन थिए। बेल्जियम, नेदरल्यान्ड र लग्जेम्बर्गसमेत हेर्ने राजदूत थापाले त्यहाँ रहेका नेपालीमा समस्या नभए पनि सन्त्रास रहेको बताए। ‘वैधानिक रूपमा काम गर्नेलाई अन्य समस्या पनि रहँदैन। सरकारले खानाका लागि पैसा उपलब्ध गराउँछ’, उनले भने, ‘अवैध बस्ने तथा दैनिक ज्यालादारी गर्नेलाई असहज भए दूतावासले सहयोग गर्नेछ। आफ्ना नागरिकलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो।’

ईयूअन्तर्गतका सबै मुलुकमा कोरोना महामारी फैलिएपछि १५ दिनका लागि सटडाउन गरेका हुन्। उनीहरूलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ। कतिपय स्थानमा नागरिक बाहिर निस्किरहेकाले त्यहाँ उनीहरूलाई सुरक्षाकर्मी परिचालन गरेर भए पनि भित्रै राख्ने नीति ईयूले लिएको अधिकारीले बताए। सुरुमा अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जान दिइएको थियो। इटाली र स्पेन प्रभावित रहे पनि अहिले फ्रान्स, जर्मनी, पोर्चुगल, डेनमार्क, स्विटजरल्यान्डमा फैलिएको छ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले युरोप कोरोना महामारीको केन्द्रबिन्दु बनेको जनाइसकेको छ। इटाली र स्पेन हुँदै ठूलो जनसंख्या रहेको मुलुक फ्रान्समा फैलिएको मात्र होइन, ९१ जनाको मृत्यु भएको छ। ती मुलुकका अधिकांश सिनेमा हल, क्याफे, संग्रहालय, विद्यालय, कलेज, रेस्टुराँ, पार्क, खेलकुद स्थल, पसल बन्द छन्। इटालीमा १५ सयभन्दा बढीको मृत्यु भएको छ। सोमबारदेखि त्यहाँ देशव्यापी प्रतिबन्ध लागू गरिएको छ। त्यस्तै प्रतिबन्ध युरोपभर लगाएर रोग नियन्त्रण गरिने निर्णय भएका छन्।

युरोपमा रहेका सबै नेपाली दूतावासले आफ्नो कार्यक्षेत्रमा पर्ने मुलुकलाई पनि ध्यानमा राखेर सूचना ल्याएका छन्। बेलायत, फ्रान्स, जर्मनी, स्पेन, डेनमार्क, रसिया र स्विट्जरल्यान्डका दूतावासले सिंगो युरोपमा आफ्ना नागरिकलाई पर्ने समस्याबारे सम्पर्क गरिरहेको जनाएका छन्। सरकारले सबै दूतावासलाई सक्रिय रहन र आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान दिन निर्देशन दिएको छ।

डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रण गर्न आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मानव मृत्यु रोक्न मानिस–मानिसबीचको दूरी कायम राख्न आग्रह गरिरहेका छन्। बेलायतमा पनि पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर हुँदै गएकाले त्यहाँका नेपाली पनि आक्रान्त छन्। अधिक नेपाली अवैध रहेको मुलुक स्पेनमा झन्डै ७ हजारमा कोरोना संक्रमण देखिएको छ। स्पेनमा प्रधानमन्त्री पेद्रो सान्चेजीपत्नी बेगोना गोमेजलाई संक्रमण देखिएपछि निवासमै उपचार भइरहेको छ।

संकटकाल घोषणा भएकाले सरकारले नागरिकलाई आवश्यक उपभोग्य सामग्री र औषधि किन्न वा काममा जानबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको हो। युरोपमा मात्र होइन, खाडी क्षेत्रका नेपालीमा पनि सन्त्रास उत्तिकै छ। अमेरिका र अस्ट्रेलियामा रहेकाको अवस्थाबारे सरकारले जानकारी लिइरहेको छ। खाद्यान्न नपाएको अवस्थामा दूतावासमा सम्पर्क गर्दा त्यस्तो समस्या सल्टाउने कामहरू दूतावासले गरिरहेको जानकारी दिइएको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।