कवितामा कोरोना भाइरस


हरेकपल March 18, 2020

काठमार्डौँ । दुई दशकदेखि साधनारत कवि विश्व सिग्देलले उनको पहिलो कविता सङ्ग्रह ‘तालीको समाजशास्त्र’ को विमोचन कार्यक्रमलाई स्थगित गरेका छन् । कवि सिग्देल भन्छन्, ‘विमोचनको रहर भए पनि कोरोना भाइरसका कारण यसलाई स्थगित गर्नु परेको हो । प्रकाशन मितिमा वि.सं. २०७६ राखिहालियो । अब त्यसमा टिपेक्स लाउन पनि मन मान्दैन । यो वर्षभरि कोरोनाको नियन्त्रण भइहाल्छ जस्तो पनि छैन । त्यसैले किताब भने बजारमा पठाइएको छ । कोरोना नियन्त्रण भएपछि प्रकाशकले अन्तरक्रियाको कार्यक्रम आयोजना गर्छौँ भनेका छन् ।’


अकाल कुसुम प्रकाशन गृहले प्रकाशन गरेको यस सङ्ग्रहमा कविले दुई दशकको अवधिमा रचना गरेका ४५ वटा कविता समेटिएका छन् । यसअघि सन् २०१४ मा न्यू दिल्ली, तारा इण्डिया रिसर्च प्रेसबाट अङ्ग्रेजी भाषामा ‘अब्सेसन’ नामक संयुक्त कथासङ्ग्रह प्रकाशन गरिसकेका सिग्देल उन्मुक्त पुस्ता र पोस्टर कविताजस्ता काव्यिक आन्दोलनसँग जोडिएका स्रष्टा पनि हुन् । यसबाहेक अनुवादकका रूपमा पनि उनको परिचय गाँसिएको पाइन्छ ।