तीन दिनमा १८ वटा आईसोलेसन कक्ष बनाउँदै तामाकोशी अस्पताल


हरेकपल March 19, 2020

रामेछाप । तामाकोशी अस्पताल मन्थलीले आगामी ३ दिन भित्र १८ वटा आईसोलेसन कक्ष तयार गर्ने भएको छ । जिल्ला अस्पताल रामेछाप र जिल्लाका अरु स्वास्थ केन्द्रहरु भन्दा श्रोत र साधनले पनि अगाडि रहेको उक्त अस्पतालले बढ्दो कोरोना भाईरस संक्रमणको हल्ला संगै तयारी स्वरुप छोटो समयमा आफनो भवन भित्रै आईसुलेसन कक्ष तयार गर्न लागेको हो ।


सरकारी निर्देशन र तयारीलाई सार्थक बनाउँदै संम्भावित संक्रमणबाट सर्वसाधारणलाई जोगाउने तयारी स्वरुप अस्पतालले सरकारी मापदण्ड भित्र रहेर आईसुलेसन कक्ष तयारी गर्न लागेको अस्पतालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार अघिल्लो साता जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अस्पताल भित्र तत्काल आईसोलेसन कक्ष तयार गर्न निर्देशन दिएको र सोहि आधारमा अस्पतालले ६ वटा आईसोलेसन कक्ष यस अघिनै तयार गरिसकेको छ ।


हालको आईसोलेसन कक्ष अपुग पनि हुन सक्ने अनुभूतिका आधारमा हामिले आफुलाई थप जिम्मेवार बोध गरि तीन दिन भित्र आईसुलेसन कक्ष थप्ने निर्णय गरि आवश्यक पकृया अघि बढाई सकेका छौ । आईसुलेसन कक्षमा सरकारी मापदण्ड अनुसारको बेड,सौचालय उपचार र औषधि कक्ष र स्वास्थ कर्मिहरुले प्रयोग गर्ने माक्स, कपडा लगाएत सवै किसिमको आवश्यक सामाग्रिको ब्यबस्था र समेत मिलाई सकिएको जानकारी पनि घिमिरेले गराए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ५ दिन अघि बसेको सरोकारवालाहरुको बैठकले रामेछाप जिल्ला अस्पताल लगाएतका अन्य ३ वटा अस्पताललाई तत्काल आईसुलेसन कक्ष तयार गर्न निर्देशन दिएको थियो । तर विहिवार सम्म जिल्ला अस्पताल रामेछापले २ वटा मात्र आईसुलेसन कक्ष तयार गरि औपचारीकता निभाएको छ ।


अस्पातालमा १० हजार मास्क र मुलढोकामा पानि
छोटो समयमा आईसोलेसन कक्ष निर्माण गरिसक्ने ब्यवस्थापनमा जुटेको अस्पताल प्रशासनले अस्पताल प्रयोजनका लागि १० हजार थान मास्क ब्यवस्थापनको समेत पुर्व तयारी गरिसकेको छ ।त्यसै गरि अस्पतालले अस्पतालमा आउने जाने विरामी र सर्व साधारणका लागि आफनो मुल ढोकामा धाराको ब्यवस्था समेत गरेको छ । अस्पताल भित्र आउँदा र बाहिरीदा साबुन पानीले अनिवार्य हात र गोडा धुनै पर्ने ब्यवस्थाको पुर्ण कार्यान्वयनका लागि पनि आवश्यक प्रकृया मिलाई सकिएको जानकारी अस्पताल प्रशासनले गराएको छ ।