आज पापमोचनी एकादशीव्रत, महिमासहित हेर्नुहोस् २०७६ चैत्र ७ गते


हरेकपल March 20, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २० तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको पापमोचनी एकादशी तिथि बिहान ८।६ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । श्रवण नक्षत्र बेलुका ६।४८ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६।१० मा छ भने सूर्यास्त बेलुका ६।१५ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।


आज पापमोचनी एकादशीव्रत परेको छ । चैत्र कृष्णपक्षको एकादशीलाई पापमोचनी भनिन्छ । आज एकादशीको व्रत धारण गर्नाले वर्षदिनसम्म भएका पापकर्म नष्ट भएर जान्छन् भन्ने एकादशी माहात्म्य पाइन्छ । एकादशी विष्णु भगवान्को प्रिय दिन रहनुका साथै यस दिन गरिएका व्रतादि कार्य परिपूर्ण रहने भएकाले पनि पापमोचनी एकादशीको महिमा विशेष रहेको छ ।