अर्थानामर्जने दुःखमर्जितानाञ्च रक्षणे ।
नाशे दुःखं, व्यये दुःखं, धिगर्थान् कष्टसंश्रयान् ।। – पञ्चतन्त्र
धन कमाउन गाह्रो छ र कमाएको धन रक्षा गर्न झनै गाह्रो हुन्छ । हराए पनि दुःख र खर्च भए पनि दुःख हुने धनलाई धिक्कार छ ।
धन सर्वप्रथमतः कमाउन नै कष्टसाध्य हुने भएकाले धनलाई दुःखको कारण भनिएको हो । किनकि पहरामा चढेर पार पाउनुजस्तै हो धन कमाउनु । धन सधैँ अप्ठ्यारोमा नै हुने गर्दछ । धनका निम्ति कनेकौँ कष्टसाध्य कार्य गर्नुपर्ने हुन्छ । कार्य नै कष्टसाध्य हुने भएकाले सर्वप्रथमतः धन कमाउन नै अनन्त दुःखका खुड्किलो पार गर्नुपर्दछ ।
यसरी अथक कष्टले कमाएको धनलाई जोगाउन झनै गाह्रो हुने गर्दछ । लगानी नै गर्दा पनि डुब्न सक्ने सम्भावना रहन्छ । यसगरी साथमै राख्दा पनि कसैले चोर्ला वा लुट्ला भन्ने चिन्ता रहि नै रहन्छ । यसैगरी धन हरायो भने पनि दुःख नै लाग्छ ।
हामी सौच्छौँ धन हुँनेलाई दुःख हुँदैन । तर हाम्रो सोचाई गलत हो । किनकि धन नहुनेलाई एउटामात्र दुःख हुन्छ धन नभएको । तर धन हुनेलाई चौतर्फी दुःखले घेरिरहेको हुन्छ ।
यसैगरी धन खर्च नै गर्दा पनि चित्तमा शान्ति हुँदैन । अलि सस्तो पाइन्थ्यो होला धेरै मोल तिरियो भन्ने हुन्छ । यसैगरी खर्च गरेर किनेको सामान गतिलो परेन भने अझ दुःख लाग्ने गर्दछ । यसैगरी धनकै कारण सम्बन्धमा पनि दरार आउने गर्दछ । धनले नै शत्रुता पनि अभिवृद्धि गरिरहेको हुन्छ । यसैले यो धन दुःखको कारण हो । यस्तो दुःखी धनका पछि लाग्नु पनि धिक्कार छ भन्ने नीति वचन मननीय छ ।