प्रदेश नम्बर एकमा नेपाली सेनाले बनायो ४ सय शैयाको क्वारेन्टाइन


हरेकपल March 20, 2020

काठमाडौँ,७ चैत । नेपाली सेनाले प्रदेश नम्बर एक मा ४ सय शैयाको क्वारेन्टाइन बनाएको छ । प्रदेश सरकारसँगको समन्वयमा तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

बुधबार नै नेपाली सेनाले इटहरीस्थित पूर्वी पृतनाले मोरङको टाँडीमा क्वारेन्टाइनको लागि १ सय २ वटा टेन्ट बनाएको थियो।

झापाको चन्द्रगढीस्थित कृषि तालिम केन्द्रमा पनि ४० बेडको क्वारेन्टाइन तयार भएको छ।

त्यस्तै उदयपुरको बेलसोतस्थित नम्बर एक विकास गणको भवनमा पनि २ सय क्षमताको क्वारेन्टाइन शनिबारसम्म तयार हुने पाण्डेले बताए।

प्रदेश नम्बर एकसँगको सहकार्यमा नेपाली सेनाले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टाइन बनाउन सुरु गरेको हो।

यसअघि नै प्रदेश-१ सरकारले एक हजार क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो।