श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २१ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र कृष्णपक्षको द्वादशी तिथि बिहान ९।३० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र राति ८।३१ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६।९ मा छ भने सूर्यास्त बेलुका ६।१५ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् ।
आज शनिप्रदोषव्रत परेको छ । शनिवार त्रयोदशीयुक्त सन्ध्याकालीन समय रहने दिनलाई प्रदोष भनिन्छ । आज शनिवार पनि परेको शनिप्रोदष भएको हो । आज शिवजीको व्रत एवं उपासना लाभदायी रहनेछ । यसैगरी शनिजन्य दोष निवारणका निीम्त पनि आज उत्तम दिन हो ।