नेपाल प्रज्ञा–प्रतिष्ठान कसको पकेटमा छ ?


हरेकपल March 20, 2020

सुदूर पश्चिममा यसपटक भएको नेपाली साहित्यको अन्तर्राष्ट्रिय कुम्भ मेला आफैंमा गौरवको कुरा हो । देश/विदेशका कैयौं स्रष्टाहरू, कैयौं बुद्घिजीवी द्रष्टाहरू, कवि/दार्शनिकसम्मको जमघट, साहित्यिक रसास्वादन, वैचारिक बहस, साहित्यिक अन्तरक्रियाका लागि ठूलो योजनाका साथ तामझामसहित जम्मा भयो; कार्यक्रम गर्यो सुखद कुरा हो ।

साहित्य साझा सम्पत्ति हो । उचाइमा उठेको छ भने सार्वकालिक र सार्वजनिक सम्पत्ति हो । अझ देशीय सीमा र माहोलका दृष्टिले हेर्ने हो भने देशको मुटु नै भाषा र साहित्य हो । यसले नै अतीत परम्परालाई जोगाएको हुन्छ । संस्कृतिलाई परिशीलन गर्दै परम्परालाई ऐनामा देखाएझैं देखाउने पनि साहित्य नै हो । भाषा मार्फत प्रकट हुने अनुभूतिले सही रूपमा राष्ट्रलाई डो¥याएको हुन्छ ।

भाषा र साहित्यको प्रतिनिधि सिम्बोल भनेकै नेपाल प्रज्ञा–प्रतिष्ठान हो । व्यक्तिगत संस्थाबाट चालिएका कदम÷गरिएका कार्यक्रममा त्रुटि/कमी कमजोरी छन्; हुन सक्छन्; हुन्छन् । सुदूर पश्चिमी कुम्भ मेलामा पनि यावत यस्ता कमी कमजोरीहरू देखिए । राज्य ढुकुटी इतर व्यक्तिबाट वा संस्थाबाट सञ्चालित यस्ता त्रुटीसँग हाम्रो केही लेनदेन छैन । यस्तामा पर्ने घाटा स्वयम् संस्था र सञ्चालकमा जान्छ । यो हाम्रो सरोकारको विषय भएन । काठमाण्डौंदेखि मानिसलाई जहाजमा उडाएर फिर्ता पनि जहाजमै पठाउने तर साहित्यिक माहोलको निर्विवाद प्रतिनिधित्व चाहिँ आफ्नै सुदूर पश्चिमी क्षेत्रमा समेत गर्न नसक्नु आयोजकको सामन्तपनको प्रतीक सिवाय अन्य केही म ठान्दिनँ । सामन्तपनको झलक साहित्यको दशी होइन, बरु असाहित्यिक कुम्भ मेलाको आत्मरतिको थलो वा जमघट भत्र सकिन्छ । बरु समय लम्ब्याएर जहाजको खर्च सम्पूर्ण साहित्यिक जगतलाई समेटेर मजबुत यात्राको सुरुवात गर्नु आफ्नो ठाउँमा छ तर यस क्षेत्रका निरपेक्ष व्यक्तिले प्रशंसा गर्न लायक हुनुपर्छ यस्ता कार्यक्रमहरू ।

जे भए पनि अन्तराष्ट्रियस्तरको साहित्यिक कुम्भ मेला नेपालको सुदूर पश्चिममा भयो । साहित्यिक यात्रुहरूकै कार्यक्रम उद्घाटनार्थ राष्ट्रपतिको उपस्थिति रह्यो; हल्लाका लागि यो आफैंमा काफी छ । यति भएर पनि साहित्यिक मन–मुटुको, साहित्यिक सङ्घ–संस्थाको, भाषिक संरचना र विकासको प्रतिनिधिमूलक निर्णायक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको उपस्थिति त्यहाँ नहुनु दुखद नभएर हाँस्यास्पद हो । यसै उद्देश्यका लागि राज्यमा स्थित जनताका करबाट उठेको रकम जागिरेकै रूपमा लिने प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधित्व नहुनु आफैंमा निर्लज्जताको उदाहरण सिवाय अरू कारण के हुन सक्छ ? या त आयोजकले निम्ता नदिएको हुनुपर्यो ! यदि यसो हो भने प्रज्ञा–प्रतिष्ठान कस्को पकेटमा छ ? यसको आधिकारिक जानकारी प्राज्ञ जगतले दिनुपर्यो जो विद्यमान अवस्थामा प्रतिष्ठानमा कार्यरत छन् ।