अरुणको किनारै किनार


हरेकपल March 20, 2020

हामी चढेको हवाइजहाज तुम्लिङ्टार पुग्दा दिउँसोको १.३५ बजेको थियो ।

झण्डै पन्ध्र वर्षपछि म आफ्नो सुन्दर गाउँ कुलुङ जाँदै थिएँ । भोजपुर जिल्लाको उत्तरी क्षेत्रको संखुवासभासँग जोडिएको गाउँ कुलुङमा जन्मिएको हुँ म – जहाँ म हुर्कें, पढेँ, खेलेँ र जीवनकै अमूल्य क्षणहरू बिताएँ । हवाइजहाजबाट तुम्लिङ्टार हुँदै अरुण नदीको किनारै किनार तेर्सैतेर्सो हिँडेपछि या त कात्तिकेघाट या बुम्लिङ्टारको पुल तरेर ५/६ घण्टा हिँडेपछि मेरो गाउँ कुलुङ बुम्लिङ्टार पुगिन्थ्यो । काठमाडौँबाट उडेदेखि नै मनमा उत्सुकता थियो – पन्ध्र वर्षपछि मेरो गाउँ कस्तो भयो होला ? हवाइजहाजको झ्यालबाट तल जमिनमा हेर्दै थिएँ । डाँडा–पाखाहरूमा रेखाहरू कोरिएका थिए – यत्रतत्र डोजरले खनेका मोटर बाटाहरू । जहाज जति–जति तल–तल जान्थ्यो ती सडकहरू प्रष्ट देखिँदै जान्थे । अहा ! कति धेरै परिवर्तन भइसकेछ यो पन्ध्र वर्षमा ! गाउँ पाखाहरूमा अब मोटर दौडने भयो । यातायातको सुविधा भएपछि त्यसको प्रभाव निश्चित रूपमा धेरै कुरामा पर्छ नै । जहाज अरुण नदीको किनारै किनार उड्दै थियो । नदी शान्त र स्थिर मुद्रामा फैलिएको देखिन्थ्यो । जहाजले कोल्टे फेर्दा पारिपट्टि दिङ्ला र अर्कोेपट्टि संखुवासभाको सदरमुकाम खाँदबारी देखिन्थ्यो । सम्झिएँ – उहिले हामी काठमाडौँ पढ्न जाँदाका गोरेटा बाटाहरू । ती अलि–अलि मात्र देखिन्थे जहाजबाट । सभा खोला तरेर, अक्करको भीर, माङ्माया, डिकुरे, पाख्रीबास, हिले, धनकुटा हुँदै धारापानीको उकालो चढ्दै, साँगुरी भङ्ज्याङबाट ओरालो झरेर धरान पुगेपछि बल्ल गाडी चढ्न पाइन्थ्यो । तुम्लिङ्टारमा भर्खर एयरपोर्ट खनिँदै थियो त्यो बेला ।

अब ती कुरा पुराना भए । समयले कोल्टे फेरिसकेको छ । खनिँदै गरेको विमानस्थल कालोपत्रे भइसकेको छ । अब त ५०/६० सिटे मध्यम साइजका जहाजहरू पनि यहाँ ल्यान्ड गर्न र उडान भर्न सक्छन् । पूर्वी पहाडकै व्यस्त विमानस्थल हो यो र यहाँबाट भोजपुर, तेह्रथुमलगायत यससँग जोडिएका पाँच–छ जिल्लाका यात्रुहरूले सुविधा लिन पाएका छन् । यसका साथै मकालु बेस क्याम्प, सोलुतिर जाने पर्यटकहरू पनि तुम्लिङ्टार हँुदै जाने गर्छन् । जहाजबाट ओर्लेर चारैतिर नजर दौडाएँ – एयरपोर्ट मास्तिर बस, जिपहरू, ट्रकहरू दौडिरहेको देखेर मन औधी प्रसन्न भयो । बजार निकै विस्तार भइसकेको रहेछ ।

सभा खोला र अरुण नदीको काखमा रहेको विशाल समतल यो तुम्लिङ्टार मुख्यतया माटाको भाँडा बनाउने कुमालेहरूको बस्ती मानिन्थ्यो, त्यसो त क्षत्री, बाहुन र अन्य जातजाति पनि यहाँ बसोबास गर्ने गर्थे तर अहिले आएर सबै जातजातिहरूको बसोेबास भएको देखिन्छ । गर्मी याममा निकै गर्मी हुने हुँदा तराईको सम्झना आउँछ । डुङ्गा (नाउ)बाट सतीघाट हुँदै अरुण नदी तरेर भोजपुरको प्रसिद्ध दिङ्ला बजार जाने र त्यहाँबाट अरुणको किनारै किनार गढतिरै गढतिर ३/४ घण्टा हिँडेर गएपछि च्यावाबेँसी, हेलुवाबेँसी हुँदै बुम्लिङ्टार पुगिन्छ । तर आजकल हेलुवाबेँसीसम्म नै जिपहरू चल्ने हुनाले धेरै हिँड्नु पर्दैन । कुलुङ जानेहरू या त कात्तिकेघाटको पुल तरेर वा हेलुवाबेँसीको पुल तरेर जाने गर्छन् । तुम्लिङ्टारको पल्लो छेउको गिद्दे चौतारो हुँदै सतीघाट पुग्नु अघि तल अरुणको किनारमा प्रसिद्ध मनकामना मन्दिर छ, त्यहाँ थुपै भक्तजन, उनीहरूका कुटी, देवी देवताका मूर्तिहरू छन् । अति मनमोहक वातावरण छ त्यहाँ । त्यहाँको धार्मिक परिवेशले सबैलाई मोहित पार्छ ।

वारी जमुना पारी जमुना
जमुनाको फेदैमा मनकामना ।

यो प्रसिद्ध गीत उहिले देखिनै संखुवासभा र भोजपुरको त्यो क्षेत्रमा बूढापाकाले गाउने गरेका हुन् तर हालै आएर यसले प्रसिद्धि पायो, गायक खेमराज गुरुङको स्वरबाट ।

नोस्टाल्जिक भएँछु, बहकिएँछु म । तुम्लिङ्टारको एयरपोर्ट आसपासको क्षेत्रमा एक राउन्ड घुमेर हामी एउटा जिपमा खाँदबारीतिर लाग्यौं । धुले बाटो । ठाउँ ठाउँमा ग्राभेल हुँदै गरेको । अगाडि बसेकाले मलाई त्यति धेरै धुलो परेन तर पछाडि बस्ने मान्छेहरूको शरीरभरि धुलैधुलो । मान्छे चिन्नै गाह्रो ! त्यति धुलो ! सुन्दर वन–पाखा, खेतहरूका बीचबाट हामी उकालो चढ्दै गयौं । रातो माटो र सेतो कमेराले पोतिएका घरहरू हेर्दै खाँदबारी पुगेर जिप रोकियो । केही मान्छे ओर्लिए, केही थपिए । यात्रा फेरि सुरु भयो अनि तेर्सैतेर्साे डाँडैडाँडा हुँदै मानेभङ्ज्याङ पुगेपछि खाना खान ओर्लियौँ हामी यात्रुहरू । बाबै नि ! मेरो कुलुङ गाउँको क्षेत्र त छर्लङ्गै पो देखिँदो रहेछ यो डाँडाबाट । उः त्यो माथिको म पढेको हाइस्कुल, त्यो चौतारो जहाँ हामी खेल्ने गथ्र्यौं, त्यो बर–पीपल । ती सुन्दर खेतहरू ,झर्नाहरू, वन पाखाहरू । कम्ती रमाइनँ म ! हाम्रो देश वास्तवमै विश्वकै सुन्दरतम मध्येको हो । प्रकृतिको यस्तो भण्डार विश्वमै दुर्लभ छ ।

खाजा खाएको होटलकी साहुनीले बिक्रीमा राखेका स–साना पेरुङ्गा सुकुटी माछा देखाइन् ।

‘कुन खोलाको माछा हो बहिनी ?’

‘सभा खोलाको ।’ – साहुनी बोलिन् ।

‘कति पर्छ एक पेरुङ्गाको ?’

‘तीन सय पचास । धेरै लानुभयो भने अलि मिलाइदिन्छु ।’

यसो हेरेँ – सबै कत्ले माछा, असला एउटा पनि छैन । अनि साइजमा पनि साना । मैले भनेँ – ‘भैहाल्यो बहिनी ! म अरुण र संखुवा खोलाकै किनारतिर जाँदैछु, त्यता पनि पाइएला नि । यहाँदेखि बोकेर के लानु ?’ वास्तवमा अरुण र संखुवा खोलाका माछाको स्वाद नै कस्तो मिठो ! हिमालबाट हिउँ पग्लेर आएको पानीका माछा पो माछा !

छेउमै एउटी गुरुङ बहिनीले जाँड र सरुवा बेच्न राखेकी रहिछन् । पाँच–सात कठुवा जति अनि ३÷४ काइयों झप्री केरा । ‘सरुवा’ त्यहाँ पहिले–पहिले निकै प्रसिद्ध थियो । सरुवा वास्तवमा लोकल बियरजस्तै हुन्छ । जाँड पनि निकै खपत हुने गर्छ, गर्मीमा मोहीको सट्टामा पिउने गर्छन् पारखीहरूले । हाम्रो जिप तेर्सैतेर्सो चन्दनपुरतिर लाग्यो । तल अरुण नदी बगिरहेको देखिन्थ्यो । मेरो गाँउबाट उकालो चढ्दै चन्दनपुरको बाटो कति हिँडेको छु म । मैलै आफ्ना पुराना दिनहरू सम्झिएँ । ऊ पारिपट्टि नेपाले डाँडा, अर्को छेउमा मेरो कुलुङ क्षेत्र, सुन्दर वन–पाखा ।

हाम्रो जिप अब ओरालो लाग्न थाल्यो । हेलुवाबेँसी पुगेपछि आ–आफ्ना झोला टिपेर हामी अरुण नदीको पुलतिर झ¥यौँ । हेलुवाबेसी पनि अहिले सानो बजारमा परिणत भएछ । पारिपट्टि हेर्दा झ्mन् अचम्म लाग्यो – मैले कल्पना पनि नगरेको मोटरबाटो देखेर । यो क्षेत्रमा डोजरले सडक निर्माणमा क्रान्ति नै ल्याएको रहेछ । छब्बीस खेतदेखि वेतिनी, आइपा, हिले हुँदै अग्राखे पुगेर त्यही सडकमाथि वीरेन्द्र हाइस्कुलसम्म पुग्दोरहेछ । प्रष्टै देखेँ मैले – अलि–अलि यो बारेमा सुनेकोसम्म थिएँ तर आज प्रत्यक्ष आफ्नै आँखाले देख्न पाइयो । अरुण नदीमा झोलुङ्गे पुल मात्र भएकाले डोजर कसरी तारियो भन्ने मेरो जिज्ञासामा स्थानीयहरू भन्थे – पुलमुनि ढुङ्गाहरू बिच्छ्याएर डोजर तारियो रे कुलुङतिर । सुखद आश्चर्य !

पुल माथिको डिलबाट हेरेँ – धित मरुन्जेल आफ्नो सुन्दर गाउँ बुम्लिङ्टारलाई । कलकल बगेको अरुण नदी, झर्नाहरू, हरियो वन, पारि सल्लेरी गाउँ, उताबाट बगेकी संखुवा । कालो माटो भएको उब्जाउ भूमि । वाह ! वास्तवमै सुन्दर, प्रकृतिको मनोरम भण्डार !

मैले देखेँ – त्यति सानो गाउँमा दुईवटा मोटर बाटो । घर–घरमा बिजुली, लोडसेडिङको नाम निसान छैन । व्यांखुवा खोलाबाट गाउँलेहरूको प्रयासमा बिजुली निकालिएको रहेछ । कतिपय घरमा टिभी र ग्याँस पनि देखेर झन् अचम्म लाग्यो । प्रायः घरहरूमा टिन लगाइएको थियो । खुसी त लाग्ने नै भो । त्यहाँको प्रसिद्ध शिवशक्ति आश्रम गएँ । मन शान्त भयो । आनन्दित पनि । संखुवा खोलाको चिसो पानीमा बाल्यकालमा पौडी खेलेको, माछा मारेको, भाङ्टार र आइपा खेतमा गाईबस्तु चराएको खुब याद आयो । अहा ! त्यो रमाइलो बाल्यकाल अब कहाँ पाउनु !

केही दिन गाउँमा बस्दा आफन्तहरूसँगको भेटघाट त रमाइलो हुने नै भो । आफूले पढेको, पढाएको सरस्वती प्रा. वि. अहिले नि.मा.वि. भइसकेछ । आफूले पढेको हाइस्कुल पनि उच्च मा. वि. भएछ । त्यति मात्र होइन, क्याम्पसको पनि स्थापना भएछ – कुलुङ् बहुमुखी क्याम्पस । सबैतिर गएँ म । शिक्षक साथीहरूसँग भेट भयो । यी सबै शिक्षण संस्थाहरू एवं धार्मिक स्थलहरूमा मैले पनि सक्दो भौतिक र आर्थिक सहयोग गरेको हुँदा – सबैजना खुसी हुनुभयो । नेपालकी प्रसिद्ध नारी योगमायाले तपस्या गरेको स्थल मझुवा बेँसी र गौँडेनी पनि पुगेँ । यो सबै भ्रमणबाट मन आनन्दित भयो ।

वास्तवमा संखुवासभाको मनकामना आवाल ब्रह्मचारी षडानन्दको जन्मस्थल भोजपुुरको दिङ्ला, योगमायाले तपस्या गरेको भोजपुुरको मझुवाबेँसी, गौँडेनी र शिवशक्ति आश्रम भएको बुम्लिङ्टार लगायतका सम्पूर्ण क्षेत्र एउटा महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रूपमा मानिन्छ, तर तदनुरूप विकास हुन सकेको छैन ।

आफूले हिँडेका बाटाहरू, साथीहरूसँग बिताएका क्षणहरू, बाल्यकालको याद दिलाउने सबै ठाउँहरू पुगेँ । आफ्नो जन्मभूमिमा आउने उत्कृष्ट इच्छा हुँदाहुँदै पनि कामको व्यस्तताले आउने समय निकाल्न सकेको थिइनँ । पन्ध्र वर्षपछि फर्केर आउँदा मैले कल्पना पनि नगरेका परिर्वतनहरू यो क्षेत्रमा देख्न पाएँ । भौतिक विकास निकै भएको रहेछ । मानिसहरूको सामाजिक, राजनैतिक चेतनाको स्तर निकै उच्च रहेको पाएँ । रुद्राक्ष र अलैंचीले गर्दा यस क्षेत्रका अधिकांश जनताको आर्थिक स्तर पनि राम्रो हुँदै गएको देखिन्थ्यो ।

तर यति हुँदाहुँदै पनि सामाजिक सद्भावमा ठूलो ह्रास आएको, समाजमा विकृतिहरू बढ्दै गएको, युवाहरू कामको लागि विदेशिएको, प्रायः सबै घरमा वृद्धवृद्धा मात्र रहने र खेती गर्ने जनशक्ति नहुने हुँदा कृषि उत्पादनमा ह्रास आएको, परनिर्भरता बढ्दै गएको, समुदाय/समुदायमा द्वन्द्व बढ्दै गरेको स्थितिले मन खिन्न पनि भयो । जबसम्म जनताले सुख र शान्तिको अनुभूति गर्न पाउँदैनन्, भौतिक विकासको खासै अर्थ रहँदैन । सायद यो स्थिति हाम्रो देशमा प्रायः सबै क्षेत्रमा विद्यमान होला भन्ने मलाई लाग्छ ।

आठदश दिन त्यो सुन्दर र पवित्र पूण्यभूमिमा बसेर प्यारो संखुवा खोला, पारिको सुन्दर झर्ना, सुन्दर हरिया रसिला वनपाखासँग बिदावारी हुँदै अरुण नदीको किनारै किनार तुम्लिङ्टारतर्फ लागेँ – मनभरि गाउँका यादहरू सँगाल्दै । लाग्थ्यो – म हिँडिरहेको छु , तर मन भने उतै गाउँमै छुटेको छ ।