सार्क आपत्कालीन कोषमा नेपालको १० करोड सहयोग, नरेन्द्र मोदीले गरे स्वागत


हरेकपल March 21, 2020

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनका क्रममा कोभिड १९ सार्क आपत्कालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने बताएका थिए । नेपाल सरकारको सो निर्णयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

शनिबार ट्विट गर्दै मोदीले नेपालको कदमको स्वागत गर्दै भनेका छन्– ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशको समर्थनलाई दर्शाउँछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेसमा यो कोषको घोषणा गरिएको थियो ।

यसअघि यही चैत २ गते भारतीय प्रधानमन्त्री मोदीले आपत्कालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए । सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ताका क्रममा मोदीले सो घोषणा गरेका हुन् ।

सार्क सदस्य राष्ट्रले यो कोषमा आफ्नो स्वेच्छाले रकम जम्मा गर्न सक्नेछन् । सो रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्च गरिनेछ ।

यो रकम सार्कका कुनै पनि देशले प्रयोग गर्न पाउनेछन् । यद्यपि कसरी खर्च गर्ने भनेर कार्यविधि भने बनिसकेको छैन ।