नेपाललगायत १० राष्ट्रलाई भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने ज्याक माको घोषणा


हरेकपल March 21, 2020

विश्वप्रसिद्ध अनलाइन सपिङ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले नेपाललगायत १० राष्ट्रलाई भेन्टिलेटर, टेस्टिङ किट र मास्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले नेपाल, अफगानिस्तान,बंगलादेश, म्यानमार, मंगोलिया,माल्दिभ्स,श्रीलंका, कम्बोडिया, लावस र पाकिस्तानलाई सहयोग गर्ने भएका हुन् ।

माले विश्वभर फैलिरहेको कोरोनाभाइरससँग जुध्न १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मोमिटर उपलब्ध गराउने भएका हुन् ।

शनिबार ट्वीट गर्दै उनले भनेका छन्,‘ यो डेलिभर गर्न सजिलो छैन तर हामी चाँडो भन्दा चाँडो उपलब्ध गराउने छौं ।’

भारतका मुकेश अम्बानीलाई उछिनेर एसियाकै धनी व्यक्तिमा सूचीकृत भएका उनले यसअघि अमेरिकालाई पाँच लाख टेस्टिङ किट र दस लाख थान मास्क उपलब्ध गराएका थिए ।