कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने


हरेकपल March 22, 2020

काठमाडौं, ९ चैत । अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको संकटबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न आ-आफ्नै घरमा बसी ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रममा सहभागी भइदिनुहुन सम्पूर्ण गुरुवर तथा यससम्बन्धी ज्ञाता तथा ईच्छुकमहानुभावहरुलाई विश्वभरबाट आह्वान गरिएको छ ।

विश्व अध्यात्म केन्द्रको आह्वान तथा अन्य स्थानीय संस्था र व्यक्तिको संयोजकत्वमा हुने यज्ञका लागि यही मार्च २०, शुक्रवार साँझ ९ बजे बसेको अनलाईन बैठकले निर्णय लिएको हो । बैठकले विश्वभर रहनुहुने सम्पूर्ण गुरुवर्गहरुलगायत यससम्बन्धी ज्ञाताहरु आ-आफ्नै घरमा बसी पाठ तथा जप गरिदिनुहुनका लागि अनुरोध पनि गरेको छ । यस बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो ।

जसमध्ये न्यूयोर्कबाट पिपलमणि सिग्देल तथा उद्धव शास्त्री, न्युजर्सीबाट डिल्लीराम उपाध्याय तथा श्रीहरि कँडेल, डिसी, मेरील्यान्ड तथा भर्जिनियाबाट राजेन्द्र खनाल, टेक्सासबाट मेघराज निरौला तथा तुलसीराम कँडेल, क्यालिफोर्नियाबाट चूड़ामणि पाठक, टेनेसीबाट उदयराज सिग्देल, नेपालबाट हरिनारायण सापकोटा, क्यानडाबाट जगदीश गैरे, बेलायतबाट जगदीश पौडेल, दुर्गाप्रसाद पोखरेल र शेखर शाण्डिल्य र अस्ट्रेलियाबाट प्रकाश ढोडारी सहभागी भई आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्र शक्तिको माध्यमबाट विश्वभर एकै समयमा (स्थानीय समय ९ बजे) जपयज्ञ प्रारम्भ हुने कुरा बताइएको छ । प्रातस् स्नान, आचमन, ध्यान, योग तथा प्राणायाम आदि नित्यकर्म गरी निम्नानुसार
जपयज्ञमा सहभागी हुनुहुन सबैमा सूचना मार्फ़त आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम सुरुआत मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजे सम्म स्थानीय समय अनुसार महामृत्युंजय ( ॐ ह्रौं जूं सस् ॐ भूर्भुवस् स्वस् ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्योर्मुक्षीयमाऽमृतात् । ॐ स्वस् भुवस् भू ॐ सस् जूं ह्रौं ॐ मन्त्रले यथाशक्य जप तथा मार्च २६, २०२० बिहीबार बिहान ९ देखि१० बजे सम्म
रोगानशेषानपहंसि तुष्टा
रुष्टा तु कामान् सकलानभीष्टान् ।
त्वमाश्रितानां न विपन्नराणां
त्वमाश्रिता ह्याश्रयतां प्रयान्ति ।।
तथा अन्य देवी स्तोत्र १ मन्त्रले पाठ तथा
मार्च २७, २०२० शुक्रवार बिहान ९ देखि १० बजे सम्म ( ॐ नमो भगवते वासुदेवाय !,
श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवस् !
तथा अन्य नामसंकीर्तन वा विष्णु सहस्रनाम स्तोत्र आदि पाठ तथा जप गर्न आयोजकहरुले आह्वान गर्नुभएको छ ।

हाल विश्वमा व्याप्त यो माहामारीबाट जीवन गुमाउनेहरुप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकमा सहभागी विद्वानहरुले गर्नुभएको थियो ।