आजदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द, के-के हुन् अत्यावश्यक सेवा ?


हरेकपल March 22, 2020

काठमाडौं, ९ चैत । आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् । विश्वभर कोरोनाको महामारी बढिरहेका बेला नेपाल सरकारले पूर्व सावधानी अपनाउँदै आजदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने भएको हो । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्नुभएको थियो ।

यो सँगै आजदेखि चैत्र ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडानहरू पनि स्थगित हुने भएका छन् । हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट १३ हजार २५ जनाको ज्यान गइसकेको छ भने ३ लाख ६ हजार ८ सय ९२ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

कुन–कुन सेवा सुचारु, कुन–कुन सेवा बन्द ?
नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्‍चालनमा रोक लगाइएको छ । मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।