आमा समूहद्वारा सहकारी सञ्चालन,१२ प्रतिशत ब्याजदरमै ऋण लगानी


हरेकपल March 22, 2020

ताङतिङ । मादी गाउँपालिका २, ताङतिङमा रहेको आमा समूहले अन्नपुर्ण महिला बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्दै आएका छन् । वि.स. २०५५र५६ सालबाट सदस्यहरूसंग २०र२० रुपैयाको दरले रकम उठाई बचत गर्न थालेको र वि.स. २०६२ सालमा सहकारीको रूपमा दर्ता गरेको संस्थाका कोषाध्यक्ष रोशमाया गुरूङ बताउनुहुन्छ ।

करिब २०० घर रहेको ताङतिङ गाउँको १७० जना संस्थाका शेयर सदस्य रहेका छन् । सुरूका दिनमा सदस्यहरूमाझ सहकारीको महत्त्व र यसको आवश्यकताको बारेमा बुझाउन नसक्दा सहकारी सञ्चालन गर्न निकै कठिन रहेको कोषाध्यक्ष गुरूङ बताउनुहुन्छ । उक्त सहकारीले वर्षेनि प्रशिक्षक लगेर विभिन्न विषयवस्तु सम्बन्धि प्रशिक्षण दिने गरेको, महिलाहरूलाई सिप मुलक तालिम प्रदान गर्ने गरेको, उभिएर बोल्न समेत नसक्ने महिलाहरूलाई आफ्नो परिचय दिन सक्ने बनाएको र सामाजिक काममा समेत निकै अग्रसर रहेको छ अन्नपुर्ण साकोस ।

हाल मासिक २०० रूपैयाको दरले बचत गर्दै आएको उक्त संस्थाले ऋण पनि तिन महिना भित्र तिर्नु पर्ने गरि सस्तो ब्याजदर १२ प्रतिशतमै दिने गरेको छ । संस्थाको कुल पुँजी २० लाख पुगेको र उक्त सहकारीले महिला भवन समेत निर्माण गरेको छ ।