जुम्ला विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना


हरेकपल March 22, 2020

जुम्ला ९ चैत । यहाँस्थित विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा आज हेल्थ डेस्क स्थापना गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जिल्ला बाहिरबाट आउने सबै यात्रुले अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गनुपर्ने बताउनुभयो । उहाँले जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मघाटमा पनि हेल्थ डेस्क स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार कोरोना भाइरसबाट जोगिन जिल्लामा उच्च सर्तकता अपनाइएको छ ।