वीरगन्जमा कोरोना भाइरस संक्रमित आशंकित व्यक्तिकाे पटनामा उपचार हुँदै


हरेकपल March 22, 2020

काठमाडौं, ९ चैत । नेपालको वीरगन्जमा एकजना कोरोना भाइरसको संक्रमित फेलापरेका छन् । केही दिनअघि खोकी र ज्वरो आएपछि उपचारका लागि भारतको पटना लगिएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यसको पुष्टि गरेका छन् । बस्नेतले दिएको जानकारीअनुसार पटनाको एक अस्पतालमा चेकजाँचका क्रममा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

संक्रमित व्यक्तिलाई अहिले पटनामा आइसोलेसनमा राखिएको र उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको हुने सक्ने भएकाले परिवारका सदस्यलाई पनि आइसोलेसनमा राख्नेबारेमा छलफल भइरहेको सहायक प्रजिअको भनाइ छ ।

कोरोनाको आशंका गरिएपछि ती बिरामीलाई पर्साको कुनै पनि अस्पतालले लिन नमानेपछि उनलाई उपचारका लागि पटना लगिएको थियो । कोरोना संक्रमित भएको पुष्टि पनि परिवारले नै गरेका थिए ।

व्यापारिक कामको सिलसिलामा दुबई पुगेका ती व्यक्ति केही दिनअघि मात्रै दुबईबाट आएका थिए । उनलाई दुबईबाट आएलगत्तै ज्वरो आउन र खोकी लाग्न सुरु भएको थियो ।