आजदेखि सबै सीमा नाका ठप्प


हरेकपल March 23, 2020

काठमाडौं, १० चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम र जोखिम न्यूनीकरणका लागि भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म यात्रु आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार विहान १० बजेबाट एक साताका लागि नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

 मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ।

भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो।

बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा हुने जनाइएको छ ।

त्यसो त भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका कारण संक्रमण फैलिने जोखिम बढेपछि सिमा नाकामा यात्रु आवागमन बन्द गर्ने भएको हो ।