६१ वर्षे इतिहासमा पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध


हरेकपल March 23, 2020

काठमाडौं , १० चैत । नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो ।

नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास छैन । सरकारको निर्णयले विभिन्न कामको सिलसिलामा नेपालमा रहेका १० हजार विदेशी नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । विदेशमा रहेको लाखौँ नेपाली पनि स्वदेश फर्कन पाउने छैनन् ।

सरकारको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडाको अधिकतम मूल्य ३६ प्रतिशतसम्म घटाएका छन् । आन्तरिक उडानका तीन ठूला एयरलाइन्स कम्पनीले सबै क्षेत्रको अधिकतम भाडादर घटाएर सार्वजनिक गरेका छन् ।

कोरोना भाइरस सन्त्रासका कारण काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि एयलाइन्स कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा लिन थालेका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर भाडा तोक्न निर्देशन दिएका थिए । एयरलाइन्स कम्पनीहरूले आइतबार नयाँ भाडादर तोकेका हुन् ।

व्यवसायीले लिएको भाडा सरकारले नै तोकेको सीमाभित्रै रहे पनि जनतामा मार परेको गुनासो आएपछि सबै एयरलाइन्सले भाडादर घटाएको वायुसेवा सञ्चालक संघ ९आयोन०का प्रवक्ता योगराज कँडेलले बताए । घटाइएको भाडादर सोमबारदेखि नै कार्यान्वयनमा जाने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै विराटनगरको अधिकतम भाडा पाँच हजार पाँच सय कायम गरिएको जनाएको छ । अहिले विमान कम्पनीले सात हजार नौ सयसम्म लिँदै आएका थिए । त्यस्तै, ६ हजार पाँच सय ४० अधिकतम भाडा रहेको राजविराजका लागि चार हजार दुई सय र नौ हजार आठ सय भाडादर रहेको भद्रपुरका लागि ६ हजार दुई सय नयाँ भाडा तोकिएको छ ।

त्यस्तै, १० हजार ६ सय भाडा रहेको नेपालगन्जका लागि ६ हजार तीन सय र धनगढीका लागि सात हजार नौ सय तोकेको छ । यसअघि धनगढीका लागि एयरलाइन्स कम्पनीहरूले १४ हजारसम्म भाडा लिने गरेका थिए । पाँच हजार तीन सय अधिकतम भाडा रहेको पोखराको अब तीन हजार सात सय नयाँ भाडा तोकिएको छ । ‘यो भाडादर चैत २१ गतेसम्म लागू हुनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ । नयाँपत्रिका दैनिकमा खबर छ ।