घरमै क्वारेन्टाइनमा बस्न सुझाव


हरेकपल March 23, 2020

काठमाडौं । भारतबाट भित्रिएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। एकैपटक हजारौंको संख्यामा भारतीय सीमा नाकाबाट नेपाल भित्रिएका सबैलाई घरमा पुगेपछि होम क्वारेनटाइन अर्थात् घरमै अलग्गै बस्न राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। भारतमा कोरोना संक्रमण देखिइसकेको र त्यहाँबाट आउने मानिसमा केही दिनपछि देखिन सक्ने हुनाले उनीहरूलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गरेको महाशाखाका प्रमुख वासुदेव पाण्डेले बताए।

शनिबार भारतका विभिन्न नाकाबाट भित्रिएका नेपाली सबैलाई घरमा क्वारेन्टाइनमा बस्न सूचना दिन नसकिएको महाशाखाले स्विकारेको छ। ‘संख्या धेरै भएका कारण कतिपयले फारम भरे, कतिपयले भर्न पाएनन् र घरमै क्वारेनटाइन बस्ने कुरा पनि सुन्न पाएनन्,’ महाशाखाका प्रमुख पाण्डेले भने भारतमा कोरोना संक्रमण भइसकेका कारण त्यहाँबाट आएका नेपाली घरमै क्वारेनटाइनमा नबसे कोरोना फैलिने जोखिम बढ्ने पाण्डेले बताए। तुरुन्तै स्थानीय स्वास्थ्य निकायमार्फत गाउँमा फारम पठाइ उनीहरूको अवस्थाबारेमा खोजी गर्ने तयारी भइरहेको उनले बताए। तर यो कार्य सजिलो भने छैन।

स्वास्थ्य मन्त्रालयका अधिकारी सीमाबाट नेपाल भित्रिनेको ज्वरो नापेको तर पछि सम्पर्क गर्न आवश्यक फारम भर्न नभ्याएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले भारतीय नाका बन्द गर्न गृह तथा अन्य मन्त्रालयलाई अनुरोध गरेपछि पनि नाका बन्द नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशनकुमार पोखरेलले बताए। उनले निर्बाध रूपमा सीमाबाट दैनिक नेपाली आउने क्रमले कोरोनाको जोखिम बढेको स्वीकार गरे। ‘हामीले पहिला नै स्थलगत नाकाहरू पनि बन्द गर्नुपर्छ भनेर गृह र अन्य मन्त्रालयलाई अनुरोध गरिसकेका हौं, स्वास्थ्य मन्त्रालय एक्लैले निर्णय गर्ने अवस्था हैन’, उनले भने।

कुनै पनि व्यक्ति कोरोना प्रभावित देशबाट आएपछि १४ दिन सरकारले तोकेको या घरकै क्वारेनटाइनमा बस्नुपर्छ। घरकै क्वारेनटाइनमा बस्नेले सरकारको स्वास्थ्य संस्थालाई सम्पर्क नम्बर, यात्राको विवरण, नामठेगानासहितको फारम भरेर बुझाउनुपर्छ।

होम क्वारेनटाइनमा व्यक्ति छुट्टै बस्ने, घरमा बस्ने क्रममा दैनिक ज्वरो नाप्ने र ज्वरो आएको या कोरोनाको कुनै पनि लक्षण देखिएमा सरकारले उपलब्ध गराएको नम्बरमा फोन गरी खबर गर्नुपर्नेछ। यसका लागि सरकारले ९८५१२२५५८३०, ९८५१२५५८३७ र ९८५१२५५८३४ नम्बर उपलब्ध गराएको छ। त्यस्ता बिरामीका लागि सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नेछ। घरमा बस्दा परिवारका अन्य सदस्यले प्रयोग गर्ने सामग्री प्रयोग नगर्ने, छुट्टै सामग्री प्रयोग गर्ने, छुट्टै कोठामा बस्ने, परिवारका सदस्यसित नजिक नबस्नेजस्ता नियम पालना गर्नुपर्नेछ।

यसैबीच कोरोना संक्रमण हुन नदिन प्रयोग गरिने पिपिई ९व्यक्तिगत सुरक्षा सामग्री० तथा अन्य औषधि हवाईजहाजबाट ल्याउने तयारी भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पिपिई अभावमा विभिन्न अस्पताल कोरोना संक्रमण आशंकाका बिरामीको परिक्षण गर्न डराउने गरेको पाइएको छ। चीनबाट सामग्री ल्याउने तयारी भएको महाशाखा प्रमुख डा। वासुदेव पाण्डेले बताए। ‘चीनले उपचार सामग्री सहयोग गर्छु भनेकाले ल्याउने तयारी भइरहेको हुन्छ’, उनले भने। नेपालमा रहेका सीमित पिपिइ भने विभिन्न मेडिकल कलेज तथा अस्पतालमा वितरण गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नागरिक दैनिकमा खबर छ ।