आजबाट प्रमदी नामको संवत्सरका साथै चैत्रनवरात्र आरम्भ, हेर्नुहोस् २०७६ चैत्र १२ गते


हरेकपल March 25, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको १२ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मार्च महिनाको २५ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको प्रतिपदा तिथि दिवा ४।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र अहोरात्र हनेछन् । यसैगरी आज ब्रह्म योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।४ मा छ भने सूर्यास्त बेलुका ६।१७ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् ।


आजबाट प्रमादीनामको संवत्सर आरम्भ भएको छ । यसैगरी शक संवत् पनि आजबट १९४१ सुर भएको छ । शालिवाहनीय शक संवत् चैत्र शुक्ल प्रतिपदाबाट आरम्भ हुन्छ । यसैगरी बृहस्पतिको मध्यम भोग अनुसार चैत्र शुक्ल प्रतिपदाबाट नै संवत्सर पनि परिवर्तन हुने गर्दछ । यसैले आजबाट प्रमादी नामको संवत्सरसँगै शक संवत् १९४२ आरम्भ भएको हो ।


दुर्गा भगवतीको उपासनागरी मनाइने चैत्रनवरात्र पनि आजबाट आरम्भ भएको छ । नवरात्रमा नवदुर्गा भगवतीको विशेष उपासनाका साथै सप्तशती चण्डी पाठ एवं देवी भागवतको पाठ पारायण हुने गर्दछ । शक्तिकी देवी भगवती दुर्गाको उपासना गर्ने उत्तम समयका रूपमा चैत्र नवरात्रलाई लिइन्छ । नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन,धान्य,पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् भन्ने फल देवी माहात्म्यमा वर्णन पाइन्छ ।


नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् ।

आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् । मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीद्वारा जसको स्तुति भएको थियो तिनै देवीको नाम महाकाली हो । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् ।


नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म ,अर्थ काम ,मोक्ष चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छ । जुन कामना सहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचमा उल्लेख गरिएको छ ।