कोरोनाभाइरस: नेपालमा तेस्रो व्यक्तिमा सङ्क्रमण


हरेकपल March 25, 2020

काठमाडौं, १२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो संक्रमित भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक विरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालले बताएको छ ।

जनसस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिष्ट एवम् सूचना अधिकारी राजेशकुमार गुप्ताले दिएको जानकारी अनुसार आज एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको छ । गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्। स्वास्थ्य मन्त्रालयले दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर यो केशको बारेमा जानकारी दिने भएको छ ।

यस अघि कोरोना संक्रमण देखिएपछि एक किशोरीको टेकुमै उपचार भइरहेको छ। आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारीअनुसार फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । नेपालमा कोरोना भेटिएका मध्ये एकजना भने पूर्ण स्वस्थ भएर फर्किसकेका छन् भने
दुई जना आइसोलेसनमा अझै रहेका छन्।

अहिलेसम्म नेपालमा कूल ६ सय ८७ जनामाथि कोरोनाको परीक्षण गरिसकिएको छ। तीमध्ये ६ सय ८४ जनामा नेगेटिभ रिजल्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।