कोरोना संक्रमणको उपचारमा संलग्न सबैलाई सुरक्षा उपकरण दिन चिकित्सक संघको माग


हरेकपल March 27, 2020

काठमाडौं– नेपाल चिकित्सक संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सकलाई सुरक्षा उपकरण नदिएको भन्दै आपत्ति जनाएको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी आपत्ति जनाएको हो ।

संघले कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सिकलाई तुरुन्त सुरक्षा उपकरण दिन सरकारसँग माग गरेको छ । उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले आधारभूत सामग्रीको माग गर्दासमेत जिम्मेवार निकायका व्यक्तिले हल्का टीका–टिप्पणी गरेकोमा संघले गम्भीर आपत्ति जनाएको छ ।

संघले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम उपचार प्रक्रियाका लागि आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेको छ । कोरोना भाइरस रोकथाम र उपचारका लागि नेपालका चिकित्सकहरु तयार रहेको तर आधारभूत सुरक्षा सामग्री नहुँदा समस्या परेको भन्दै त्यस्ता सामग्री उपलब्ध गराउनुपर्ने संघको माग छ ।

महासचिव बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको जोखिम मोल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन विमा, स्वास्थ्य विमा र विशेष विमाको व्यवस्था गरी मनोबल बढाउनसमेत नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष अनुरोध गर्दछ ।’