कोरोनाभाइरसः नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि


हरेकपल March 27, 2020

काठमाडौं, १४ चैत । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन्।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको देवकोटाले जानकारी दिएका छन् । देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए। सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहेको देवकोटाले बताए।

दुबईबाट आएका उनी ३४ वर्षका छन्।हाल उनको अवस्था सामान्य छ। शुक्रवार साँझ मन्त्रालयमा आकस्मिक ब्रिफिङ गर्दै उनले धनगढीमा रहेका एक व्यक्तिमा कोरोना रहेको परीक्षणबाट पुष्टि भएको जानकारी दिए ।सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहेको देवकोटाले बताए।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो। तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

नेपालमा कोरोनाबाट संक्रमतिको संख्या चार पुगेको छ। यसअघि चीन, फ्रान्स र कतारबाट आएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट आएका विद्यार्थी भने उपचारपछि घर फर्किसकेका छन् भने अन्य दुई जना आइसोलेसनमा छन्।