चैत महिना, साहित्य र कोरोना


हरेकपल March 28, 2020

यस वर्षको चैत कोरोनामय भयो । कोरोनाबाट बच्न सामाजिक दूरी आवश्यक भयो । घरभित्रै बस्न पर्ने परिबन्दको पक्षमा बोल्नुपर्ने अवस्था आयो । कविलेखकहरू सामाजिक सञ्जालमा यस्ता अभिव्यक्ति राख्न थाले –

‘हामी अस्तिदेखि नै घरमै क्वारेन्टाइनमा छौँ । हामी अहिलेसम्म सकुशल छौँ र हामी ८२ वर्षीया आमा पनि सकुशल हुनुहुन्छ । हामीबाट अर्को सूचना जारी नभएसम्मका लागि तपाईँहरूलाई घरमा स्वागत गर्न पूरै असमर्थ भएको व्यहोरा सविनय जानकारी गराउँदछौँ । कृपया आफन्त, साथीभाइ र छरछिमेकीले अन्यथा नलिनु होला । बरु तपार्ईँहरू पनि यसरी नै एकान्तवासमा बस्नुभयो भने यही नै तपाईँको समाजप्रेम, यही नै देशप्रेम र यही नै ‘राष्ट्रवाद’ हुनेछ । धन्यवाद ।’
नयनराज पाण्डे (चैत १० गतेको फेसबुकको भित्तोबाट)

घरमा नै बसाैँ । सरकारले घोषणा गरेको लक डाउन भनेर उल्लङ्घन गर्ने जो कोही पनि जनविरोधी, आत्मघाती, परिवारघाती र राष्ट्रघाती पनि हो । घरमा नेै बसेर अध्ययन, लेखन, ध्यान, कला, सङ्गीतबाट मनोरञ्जन लिऔं । आध्यात्मिक, दार्शनिक वा रुचिकर साहित्यका कृतिहरू पढौँ । तर घरबाट निस्कने काम नगराैँ । यसबेला तपाईं हाँस्तै घरबाहिर जान ढोका खोल्नुहुन्छ भने तपाईं, तपाईंको परिवारका सदस्य, छरछिमेकी, वा अरू कसैलाई कतै अज्ञात स्थानतर्फ लैजान मुस्कुराउँदै कोरोना नामको कोही बसिरहेको भेटिनसक्छ र तपाईंलाई रुवाउन थाल्छ । यसकारण घरमा नै बसौँ । केही दिनको सास्तीले अरू दिन मस्ती मिल्न सक्छ । सावधान, ढोका बाहिर नजाऔँ । अत्यन्त जरुरी काम परेमा आफू र अरूलाई समेतको सुरक्षा हुनेगरी मात्रै निस्कौँ । सावधान कोरोनाले संसारलाई रुवाउँदै छ । हामी मात्रै हाँस्तै सडकमा ननिस्कौँ ।
पुरुषोत्तम दाहाल (चैत १२ गतेको फेसबुकको भित्तोबाट )

माथिका अभिव्यक्तिले नै थाहा हुन्छ – यो वर्षको चैत्र कस्तो छ ! अघिल्ला वर्षहरूमा नेपालका साहित्यकारहरूलाई चैत महिनामा कार्यक्रममा पुग्न भ्याईनभ्याई हुन्थ्यो । तर यस वर्ष स्थिति ठीक उल्टो भएको छ – घरमै आफैले आफैँलाई एक्ल्याएर बस्नुपरेको छ । कोभिड १९ का कारण यो वर्षको चैत महिना फिक्का बने पनि नेपालका सन्दर्भमा साहित्यकारहरूका लागि चैत्र महिना विशेष छ । यति विशेष कि चैत महिनाको नामसँग जोडिएका दुईवटा त संस्था नै छन् । एउटा ‘सिर्जना चैत ३’ र अर्कोे ‘स्रष्टा, चैत्र ३०’ । सुन्दा अनौठो लाग्ने महिना र गते पनि जोडिएका यी दुई संस्थाको नामसँग ऐतिहासिक महत्त्व बोकेका आन्दोलनका प्रसङ्ग गाँसिएको छ । २०४६ साल चैत्र ३ गते साहित्यकारहरू मुखमा कालो पटट्ी बाँधेर प्रतीकात्मक रूपमा पञ्चायती शासनको विरुद्ध जनआन्दोलनको समर्थनमा त्रिचन्द्र कलेजको सरस्वती सदन अगाडि भेला भएका थिए । मुखका कालो पट्टी बाँधेर विरोध गर्दा पनि सरकारलाई खपीनसक्नु भयो र लेखक कविलाई गिरफ्तार ग¥यो । त्यस्तैे तत्कालीन राजा ज्ञानेन्द्रलेले शासन सत्ता आफ्नो हातमा लिएर जनतामाथि निरङ्कुशता लादेको विरोधमा २०६२ साल चैत्र ३० गते स्रष्टाहरू (कविलेखक, चित्रकार, मूर्तिकार, नाट्य कलाकार, अभिनेता, अभिनेतृ आदि) कफ्र्यु तोडेर गुरुकुल(वानेश्वर) भित्र सिर्जनात्मक विरोध कार्यक्रम गरे । कोठाभित्र मात्र कार्यक्रम गर्नुले चित्त नबुझेर नारा लगाउँदै गुरुकुलबाट पुरानो वानेश्वर चौकमा पुगे र त्यहाँ सडकमै बसेर कविता वाचन गर्न सुरु गरे । त्यसबेला प्रहरीले लाठी प्रहार मात्र गरेन, बन्दुक पनि चलायो । स्रष्टाहरूले जे पनि हुनसक्ने परिस्थिति आकलन गरी गिरफ्तारी दिएको हुँदा ठूलो दूर्घटना हुन पाएन । यसरी स्रष्टाहरूको आन्दोलनमा गोलीसमेत चलाएको दिन पनि हुनपुग्यो चैत । यस ऐतिहासिक तथ्यका कारण विशेष महिना बन्यो यो ।

प्रायशः अरू महिनाका तुलनामा चैत महिना कृति प्रकाशन, विमोचन र अन्तरक्रियाका कार्यक्रमहरू बढी हुने महिना पनि हो । यसको कारणचाहिँ एउटा त किताब प्रकाशन वर्ष ढिलो नदेखियोस् भन्ने हो र अर्को मदन, पद्यश्री लगायतका पुरस्कारहरूले वर्षभरिका कृतिको मूल्याङ्कन गर्ने र त्यसको लागि प्रकाशन भएको अन्तिम मिति चैत्र महिना तोक्ने परम्परा पनि हो । जेहोस्, चैत महिना स्रष्टाहरू घरबाहिर धेरै निस्कनपर्ने परिस्थितिको महिनामा पर्दछ । तर यसपालि भने घोषित कार्यक्रमसमेत स्थगित भएको सूचना प्रकाशित गर्ने महिना हुन पुगेको छ । गर्न चाहेको कार्यंक्रमसमेत गर्न नपाइने महिना बन्न पुगेको छ । सधैँ हुँदै आएका कार्यक्रमसमेत गर्न नमिल्ने महिनाको रूपमा चिनिएको छ चैत ।

जस्तो कि, प्रत्येक वर्ष चैत्र महिनामा शङ्कर लामिछानेको जन्मजयन्तिका सन्दर्भ पारेर चैत्र ५गते दिइने गरिएको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’को कार्यक्रम होस् वा चैत्र महिनाको ३० गते हुने ‘स्रष्टा, चैत्र ३०’ को ‘स्रष्टा सम्मान तथा आन्दोलनको स्मरण’ कार्यक्रम दुवै स्थगित भएका छन् । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माकोे ८३ वर्ष प्रवेशको सन्दर्भमा यही चैत्र २२ गते तय गरिएको ‘अभिनन्दन समारोह’ पनि स्थगित भएको छ । यसरी कोरोनाका कारण चैत्र महिनामा नगरी नहुने कार्यक्रम पनि गर्नका लागि तयारी पूरा भएर पनि रोकिएका छन् ।

यसपालि चैतमा गर्ने भनिएका साहित्यिक योजना जे जति थिए, ती सबै नै रोकिए । अपवादमा सुरुसुरुमा केही कार्यक्रम भए । कवि विश्व सिग्देलले प्रकाशन गरेको नयाँ कविता सङ्ग्रह ‘तालीको समाजशास्त्र’ विमोचन गर्न पाएनन् । लकडाउन हटेपछि अन्तरक्रिया गर्ने योजनामा छन् । असिम सागरले प्रेसमा पठाइसकिएको कविता सङ्ग्रहको प्रकाशन मिति अब वि.सं.२०७७ हुने सम्भावनामा पुग्यो । उनी कोरोना–फुर्सदमा संस्मरण विधातिर हात हाल्ने योजनामा छन् । ७० वर्षको उमेरमा आएर कविता सङ्ग्रह प्रकाशन गर्न हतारिएका कवि मदन कार्कीको रहर पनि यो वर्ष पूरा नहुने भयो । चैतभरिमै कृति प्रकाशन गर्ने उनको ठूलो धोको थियो । अहिले उनी फाइनल गरी सकिएको (प्रेसले छाप्न मात्र बाँकी राखेको) कविता सङ्ग्रहको फेरि परिमार्जन गर्न थालेका छन् ।

सारै बेफुर्सदिला स्रष्टा अभि सुवेदी कोरोनालाई पनि अवसरका रूपमा उपयोग गर्ने सुरमा छन् । उनी भन्छन् –‘म थाती रहेका काम गरेर समय बिताउँछु । मेरा धेरै काम नभ्याएर बाँकी थिए । अब कोरोना–अवसरमा तिनलाई गरेर सक्छु । कोरोना फुर्सदको सही सदुपयोग गर्छु ।’

स्रष्टाहरू घरभित्रै बस्नु परे पनि लेख्ने पढ्ने काममा व्यस्त हुन्छन् नै । अहिले भने सामाजिक सञ्जालमा बढी नै सक्रिय हुन थालेका देखिन्छन् । सचेतता फैलाउने र सकारात्मक भावना प्रसार गर्ने काममा निकै सक्रिय छन् । उनीहरू कोरोनाकै सन्दर्भमा कविता र मुक्तक पनि लेखिरहेका छन् । केहीले भने नयाँ रहर पूरा गर्ने मौका पनि पाएका छन् । जस्तो कि, आख्यानकार रत्नमणि नेपाललाई निकै अघिदेखि झप्प दाह्री पालेको एउटा तस्बिर कोठामा झुण्ड्याउने रहर थियो । तर एउटा समस्या थियो, दाह्री एकदुई दिनमै लामो नहुने । कलेजमा दाह्री पालेर पढाउन जान पनि मन नलाग्ने । यसैकारण दाह्री पालेको तस्बिर कोठामा राख्ने रहर थाती नै रहेको थियो । अहिले कोठाभित्रै बस्नुपर्ने अवस्थाका कारण उनको त्यो रहर पूरा हुने भएको छ । नेपालले अहिले दाह्री काटेका छैनन् ।

गजलकार जीवनपानी पनि स्कुल, कलेज जानु नपरेको र घरमा ट्युसन पनि पढाउनु नपरेको कारण दाह्री नकाटी बसेका छन् । उनी अहिले आफ्नु अनुहार ऐनामा हेर्दा आफैँलाई अचम्म लागेको बताउँछन् –‘म त सेत्तै पो भएँछु । कालो रङका त दाह्री नै छैनन् भन्दा हुन्छ ।’ सधैँजसो दाह्री काट्ने गणितको. शिक्षक जीवनपानीलाई बल्ल थाहा हुँदैछ, आफ्नो दाह्री कति प्रतिशत कालो र कति प्रतिशत सेतो छ भन्ने । उनी पनि दाह्री पालेर फोटो खिचाउन चाहन्छन् ।

लकडाउनको समयमा पनि आफ्ना केही बानी बदल्न नसक्ने स्रष्टाहरू नयाँ नयाँ उपायको खोजीमा छन् । जस्तो कि, प्रत्येक साँझ बियर नखाई नहुने वियोगी बुढाथोकी भन्छन्, ‘अन्तजस्तो हामीकहाँ( हात्तीगौँडामा) किराना पसलमा बियर पाइँदैन । अहिलेसम्म त घरमा भएको स्टकले पुगिरहेको छ । स्टक सकिएपछि के गर्ने ? सोच्दैछु ।’ सामाजिक सञ्जालको भरपूर उपयोग गरेर लकडाउन बिर्सने प्रयत्नमा लागेका बुढाथोकीलाई बियरको चिन्ताले भने सताउने देखिन्छ । आख्यानकार किशोर पहाडीको मर्निङ वाक गर्ने बानी छ । उनी सडकमा जान पनि डराउँछन् र प्रातःभ्रमण नगरी बस्न पनि सक्दैनन् । उनी आफ्नो पीडा यसरी व्यक्त गर्छन्, ‘जिन्दगीमा यस्तो घरभित्रै थुनिएको अनुभव थिएन । लकडाउन घोषणा भएदेखिन् घरबाहिर निस्केको छैन । मर्निङवाक छिमेकीको घरको छतमा गर्ने गरेको छु । मानिसहरू घरअगाडि चोकतिर कोरोना नियम पालना नगरी बराल्लिएको देख्दा फेसबुकमा स्टाटस लेखेर राख्ने गरेको छु । धेरैले कोरोनाप्रकोप बारे अझै नबुझेजस्तो लागिरहेको छ । यो संकटबाट कहिले मुक्ति पाइने हो थाहा छैन । मानवजगतको भविष्य अनिश्चित छ ।’

चैत्र त बित्ला । आज आधा बितिहाल्यो । तर नयाँ वर्ष पनि सामाजिक सञ्जालबाटै मनाउनु पर्ने अवस्था छ । चाँडै यो कोरोना भाइरसको औषधी पत्ता लागोस् – हरेकपल डट कमको यही कामना ।