तैपनि फेरि फुलेछ लालीगुराँस !


हरेकपल March 28, 2020

वासन्तिक वनको कौमार्यसँगै
किन फुल्छन् होला फूलहरू ?
सेताम्य मेहेल र अइरीहरू
राताम्य भुईँफूल र गुराँसहरू
अनि तिनका रङहरूसँगै
किन चञ्चल हुन्छन् होला पवनहरू ?
किन जल्छन् होला मनहरू ?
थाहा छैन ।

तैपनि कोइलीहरू बोल्छन् बोलिरहन्छन्
न्याउलीहरू विरह गाउँछन्, गाइरहन्छन्
पीडामा मनहरू जल्छन्, जलिरहन्छन्
फूलका थुँगाहरूसँगै रहरहरू फुल्छन्, फुलिरहन्छन्
खडेरीमा जलेको यो वनले
दुनियाँ निराश भएको थियो
थाहा छैन
समयले त्यस्तो के दिएछ यसलाई ?
तैपनि फेरि फुलेछ लालीगुराँस !

हो, हिजो वनसँगै जलेको आफ्नै मनले
म आफैँ निराश भएको थिएँ
यसैको प्रताडना जस्तै
ग्रीष्ममा आगो अनि बर्सातमा पानी थपी
शीतमा तुसारो अनि आँधीमा असिना थपी
यही संसारले दिएको आघातले
यही जीवनले दिएको अभिघातले
काँचाका काँचै बगेर गए कति प्रहरहरू !
शब्द निशब्द ओइलाएर गए कति रहरहरू !
आँखासँगै बगेर गए कति आँसुहरू !

दृश्यसँगै रङहरू हराएर जाँदा
धोकासँगै विश्वासहरू उछिट्टिएर जाँदा
हो, मैले यही उराठलाग्दो वनलाई
आफ्नो ठानेको थिएँ
हिजोको त्यो विपत्तिमा
नकराउँदा कोइलीहरू
नचिरबिराउँदा चराहरू
नबासिदिँदा झ्याउँककिरीहरू
नउफ्रिदिँदा मृगशावकहरू
चोटहरू सहेर एक्लै बाँचेको मेरो मन
चोटहरू सहेर एक्लै बाँचेको मेरो वन
हो, मैले उस्तै उस्तै निरुद्देश्य ठानेको थिएँ
त्यसैले
यी सर्वाङ्ग जलेका गुराँसहरूको दुःखसँगै
म मेरो दुःख मिसाएर दुखिरहन्थेँ सधैँ
अव्यक्त त्यत्रो दुःख सहेर
तैपनि फेरि फुलेछ लालीगुराँस !

के सिकाउँछ मेरै वनमा फुलेको यो फूल मैलाई
थाहा छैन
गएको वर्ष केके दुःख थियो
केके भय र आतङ्क थियो
अहिले तीसँगै कोरोनाको आतङ्क थपिएको छ
मलाई लाग्छ, यसको सौन्दर्यका अघि
मुस्कान र आनन्दका अघि
कोरोना यसै नतमस्तक हुन्छ
दिनु परे पनि यति सुन्दर जीवन
कोरोना वा अन्य कुनैलाई
जरुर यो आफ्नो धर्मबाट रत्तिभर विचलित नभई
विपत्तिको इतिहासमा दुखाइरहेर आफूलाई
तैपनि फेरि फुलेछ लालीगुराँस !