संकटको बेला बल होइन, विवेक प्रयोग गर्न प्रधानसेनापतिको आग्रह


हरेकपल March 28, 2020

काठमाडौं, १५ चैत । प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटको बेलामा बल होइन, विवेक प्रयोग गर्न आग्रह गरेका छन् । कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जाहरूलाई १० बुँदे निर्देशन दिने क्रममा थापाले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानसेनापति थापाले सबैभन्दा पहिला आफू सुरक्षित रहन निर्देशन दिएका छन् । संकटको घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबभन्दा पहिला आफूलाई सुरक्षित राख्न भन्दै उनले निर्देशन दिएका हुन् ।

प्रधानसेनापति थापाले व्यक्तिगत सरसफाइमा ध्यान दिँदै जो–कोहीसँग डेढ मिटरको शारीरिक दूरी कायम राख्न र विसञ्चो भएमा घरमै अथवा व्यारेकमा बस्न आग्रह गरेका छन् ।

आवश्यक परेमा स्वास्थ्य परीक्षण गर्ने र शारीरिक दूरी कायम गरी आइसोलेसनमा बस्न सुझाउँदै उनले आधिकारिक सूचनामा मात्र विश्वास राख्न सुझाब दिएका छन् । थापाले आफ्ना सबै सहकर्मीप्रति सहयोगको भावना राख्न र यसबारेमा बुझाउन समेत भनेका छन् ।

प्रधानसेनापति थापाले आफ्नो निर्देशनमा भनेका छन्– आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने चिकित्सकहरूलाई उच्च सम्मान गर्नुहोस्, नेपाल सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौती दुवै हो, बहादुरी होइन बुद्धि र विवेकको प्रयोग गर्नुहोस् ।

नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुलेर सदैव सर्वोच्च सेवाभाव देखाउन उनले आग्रह गरेका छन् ।