कोविड-१९ संक्रमण नियन्त्रणमा नेपालको अबको रणनीति


हरेकपल March 30, 2020

मानब सभ्यतासंगै उत्पति भएको रोग संक्रमणको इतिहासमा सन् २०१९ डिसेम्बर १० मा चिनको वुहान शहरमा पहिलोपटक कोविड-१९ देखा परेको थियो । करिब ५ महिनाको दौरानमा यसले हाल विश्वका २०० मुलुकलाई आक्रान्त बनाउदै बिश्वब्यापी रुप लिएको छ । संक्रमित रोगको इतिहास हेर्दा यस् किसमका संक्रमित रोगका महामारीहरु प्रत्येक शताब्दिमा आइरहने गरेको पाइन्छ ।

आधुनिक यातायातको साधन विशेषत हवाई यातायात नभएकोले पहिले ती महामारीहरु केही मुलुकमा मात्र सीमित हुन्थे । तर अहिले हवाई यातायातको आधुनिक साधनबाट अत्यन्त छोटो समयमा यति धेरै मुलुकलाई संक्रमित रोगले आक्रान्त बनाएको इतिहासको यो पहिलो घटना हो । फलस्वरूप नेपाल लगायतका विश्वका धेरै मुलुकहरु अहिले लक-डाउनको अवस्थामा छन् ।

सरुवा रोग विकासोन्मुख मुलुकको मात्र समस्याको रुपमा पछिल्ला बर्षहरुमा देखा परिरहेको परिप्रेक्षमा कोविड-१९ जस्तो महामारीले एक्काईसौं शताब्दीमा विकसित मुलुकलाई पनि नराम्ररी सताइरहेको छ । द्रुत गतिको संक्रमित यो रोगले विश्वव्यापी रुपमा गम्भीर संकट पैदा गरी मानव जातिलाई अहिले आतंकित बनाइरहेको छ । यसले व्यापार, बाणिज्य, यातायात, पर्यटन, उद्योग-धन्दामा यसले नराम्ररी आघात पु-याउदै आर्थिक मन्दीको मारमा विश्वलाई कडा प्रहार गर्न सक्रिय छ । । यो रोगको संक्रमणसंगै नेपाल लगायत विश्वका विभिन्न मुलुकमा कालाबजारी तथा भ्रस्टाचारीहरु सल्बलाइरहेका छन् । खुम्चदै गरेको अर्थतन्त्रले धेरै मानिसको दैनिक जीवन यापनलाई अत्यन्त कठिन मोडमा उभ्याएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार २०२० मार्च ६ सम्ममा विश्वमा १ लाख कोरोना संक्रमित थिए भने ११ दिन पछी अर्थात् मार्च १७ मा थप १ लाख गरी २ लाख पुगे । त्यस्तै अर्को ४ दिन अर्थात् मार्च २१ मै यो संख्या ३ लाख पुग्यो । त्यसपछी प्रत्येक २-२ दिनमा १ लाख भन्दा बढी बढ्दै मार्च २४ मा ४.२ लाख, मार्च २६ मा ५.३ लाख र मार्च २८ मा ६.६ लाख पुगेको छ र मार्च २९ मा ७.२ लाख संक्रमित पुगेको छ । तस्तै मृतकको संख्या ३३,९५८ पुगेको अवस्था छ ।  हजारको अबको कति दिनसम्म यो रफ्तार बढिरहने हो, त्यसले भोलि पुर्याउने धनजनको क्षतिलाई इंगित गर्छ । यो संक्रमणलाई नियन्त्रण गर्न सकिएन भने यो भयावय हुने अवस्थामा छ ।

यसै परिप्रेक्ष्यमा नेपालले कोविड-१९ संक्रमित व्यक्तिहरुको पहिचान सुस्त गतिमा सुरु गरेको छ । तर अब सरकारले चुस्त गतिमा कार्य सम्पादन गर्नुछ । यसको लागि सरकारले अब रोगको प्रतिरोधात्मक तथा उपचारात्मक दुबै उपायहरु समानान्तर रुपमा अवलम्बन गर्नुपर्छ । एकातिर नयाँ मानिसमा रोग लाग्न नदिने र अर्कोतिर रोग लागेका मानिसमा सही किसिमले राखेर उपचार गर्नु अहिलेको आवस्यकताको विषय बनेको छ ।

संक्रमित र परीक्षण

हाल नेपालमा भारत भन्दा बाहिरी मुलुकबाट आएका ५ जना नेपाली नागरिकहरुमा मात्र कोरोनो संक्रमण पाइएको छ । भारत तथा तेस्रो मुलुकबाट आएका हजारौ मानिस अहिले सरकारले निर्माण गरेका क्वारेन्टाईन तथा आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा रहेको अवस्थामा छन् । नेपालमा अहिलेसम्म ज्यादै न्युन मात्रामा कोरोना परीक्षण भएको पाइएको छ जसले गर्दा यहाँ कोरोना संक्रमितको हालको अवस्था स्पस्ट हुन सकेको छैन । यदि सामान्य लक्षण देखिएका शंकास्पद सबैमा परीक्षण गर्ने हो भने यो संख्या निकै बढ्न सक्छ । यसर्थ क्वारेन्टाइनमा रहेका सम्पूर्ण नागरिकको कोविड-१९ को परीक्षण तुरुन्त गर्ने व्यबस्था मिलाउनुपर्छ । अहिलेको अवस्था हेर्दा कोरोना संक्रमणको लागि क्वारेन्टाइनमा बसेका मानिसको उपचार त के परिक्षण नगरी मरेको खबर आउन कुनै बेर नलाग्ने देखिदैछ । त्यतिमात्र नभई अन्य शंकास्पदलाई त्यसपछी परीक्षण गराउने व्यबस्था मिलाऊनु पर्छ ।

अत्याबस्यक स्वास्थ्य सामग्रीको आपूर्ति

नेपाल सरकार कोरोना संक्रमण शुरु भएको यति लामो समयसम्म पनि कुनै योजनाबिहिन अवस्थामा रहयो । यसले हाम्रो स्वास्थ्यमा सरकार कति उदासिन छ भन्ने प्रस्ट हुन्छ । १ महिना भन्दा अगाडी आपूर्ति गर्नुपर्ने स्वास्थ्य सामग्रीहरु मुलुक लक्-डाउन गरेर ठप्प हुँदा पनि नपाइरहेको अवस्था छ । सरकारले तदारुपता नदेखाउंदा आफ्नो बचेको सानो साख समेत गुमाउने अवस्थामा पुगेको छ । सरकारले अहिले केही मेडिकल सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । यसमा पनि भ्रस्टाचारको गन्ध मिसिएका मिडीयाबाजी देखिदैछ ।

यसमा सरकार अत्यन्त पारदर्शी बन्नुपर्छ । अन्य आवस्यक थप मेडिकल सामग्रीहरु ठिक समयमा आयात गर्ने कुरामा सरकार चुप लागेर बस्नु हुदैन । यसको लागि सरकारले तुरुन्त थप कार्ययोजना ल्याउदै त्यसमा विज्ञहरुको राय लिएर कार्यन्वयनमा जानुपर्छ । यो रोग बिरुद्ध लड्न यसका लागि चाहिने अत्यावस्यक मेडिकल सामाग्रीहरु, जस्तै परीक्षण किट, पिपिएन, एन-९५ मास्क आदिको अभावमा मुलुक आक्रान्त छ । सरकारले मगाएका यी सीमित समानले एक छेउ पनि पुग्ने छनक छैन । हालसम्म सुरक्षित मास्क जनतालाई त के स्वास्थ्यकर्मी, प्रहरी, र स्वयंसेवकलाई पनि पुग्ने छैन । सरकारी तथा निजि दुवै अस्पतालमा यो संक्रमणको कारण सुरक्षित रुपमा बिमारी जांच गर्ने बाताबरण छैन । उच्च ओहोदामा पुगेकाहरुको सानो सोचका कारण सर्बसाधारणमा निराशाको कालो बादल मडारिरहेको आभाष हुन्छ ।

हामीले पनि कोविड-१९ नियन्त्रणमा व्यक्तिगत तथा सामुदायिक जुनसुकै तवरले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्छ । स्वास्थ्यकर्मीहरुलाई सर्बप्रथम सुरक्षित पीपीइ, एन-९५ मास्क प्रदान गरी उनीहरुलाई उपचारमा संलग्न गराउने कुरा सरकारले कहिल्यै भुल्नु हुदैन । निजि अस्पतालहरुले काम नगरे कारवाही गर्ने सरकारले उद्घोष गर्दा त्यहाँ रहेका स्वास्थ्यकर्मीलाई सर्बप्रथम सुरक्षित बनाउने दायित्व हुन्छ । अनीमात्र उनीहरुलाई यो संक्रमणको लागि उपचार तथा रोख्थामका लागि परिचालन गर्नुपर्छ । जनताका अपेक्षा पुरा गर्दै जनताकै साथ सहयोगबाट कोरोना संक्रमणमा सरकारले बिशेष ध्यान दिनुपर्छ ।

राहत बितरण

सरकार गरिब जनतालाई राहत प्याकेज दिनुको साटो जनताबाट कोष खडा गर्नमा मात्र तल्लिन छ । हिजो मात्र सरकारले राहत प्याकेज घोषणा गरेको छ, जुन पहिलो लक् डाउन गर्दै आजभन्दा १ हप्ता अगाडी गर्नुपर्थ्यो । अब पनि राहत दिने बेलासम्ममा कयौ गरिब बालबच्चा बुढाबुढी भोकमारिले मर्ने अवस्थामा मुलुक पुग्न सक्छ, त्यसमा सरकार नचुकोस् । तसर्थ दैनिक ज्यालादारीको भरमा आफ्नो जीवन यापन गर्ने गरिबीको मारमा आक्रान्त जनतालाई उनीहरुलाई चाहिने खाद्यान्न, दाल, नुन तेल, आलु, मसला परिवारका सदस्य संख्याका आधारमा तुरुन्त लगत विवरण तयार गरी उपलब्ध गराउने व्यबस्था गर्नु नितान्त आवश्यक छ । अहिले सागसब्जी लगायत अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशिएको परिप्रेक्ष्यमा सर्बसाधारणलाई पनि दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्न, सागसब्जी, ग्यास जस्तो आवश्यक बस्तु सुफत मुल्यमा सजिलै उपलब्ध हुने ब्यबस्था गर्नुपर्छ । यसमा सरकारक सम्बद्ध निकायको ध्यान जान जरुरि छ ।

लक् डाउनको रणनीति

नेपाल–भारतबीच १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा छ । हाल नेपाल भारत दुवै लक्-डाउनको अवस्थामा छन् । भारतले २१ दिनको लागि लक् डाउन गरेको छ । साथै ३ महिने राहत प्याकेज सार्बजनिक गरिसकेको छ । यसले के स्पस्ट पार्छ भने भारतले यो लक् डाउनलाई तीन हप्तामा मात्र सीमित नराखी लामो समयसम्म कायम राख्ने निश्चित छ । हाल नेपालले ७ दिनको लक्-डाउनलाई थप ८ दिन गरी कुल १५ दिनको लक्-डाउन बनाएको अवस्था छ । यसरी खुला सीमा भएका मुलुकमा एउटा मुलुकलेले १५ दिनको र अर्कोले २१ दिनका लक्-डाउन गर्दै अतिरिक्त ३ महिने प्याकेज ल्याउंदा यसले दुई देशका मानिसहरुको आवत जावतमा पक्कै प्रभाव पर्छ ।

यदि नेपालले लक्-डाउन छिटो तोडेमा खुला सीमाको फाइदा उठाउदै भारतका श्रमिक बर्गका मानिसहरु काम गर्न नाकाका अतिरिक्त अन्य भित्री खुला स्थानबाट नेपाल पस्ने र उनीहरु मध्ये कसैलाई कोरोना संक्रमण भए त्यसले नेपालमा संक्रमण फैलाइदिन सक्छन् । तसर्थ दुवै देशमा यस् किसिमको संक्रमित रोबट बच्न लक्-डाउन गर्दा उही समयका लागि एकै प्रकारका हुनुपर्छ । तसर्थ नेपालले पनि कम्तिमा अरु १ हप्ता लक्-डाउन बढाई हाललाई भारतको जति समय पुर्याउनु नितान्त आवस्यक छ । दुवै देशका नागरिकलाई अर्को देशमा प्रवेश गर्न नदिने साझा संयन्त्र बनाइ कडाइका साथ पालन गर्नुपर्छ । नेपालमा हुने कोरोना संक्रमणको प्रवृतिसंगै  नेपालसंग सीमाना जोडिएका भारतका पश्चिम बंगाल, सिक्किम, विहार, युपी, हिमान्चल प्रदेशमा हुने कोरोना संक्रमणको प्रवृतिले हामीलाई आफ्नो रणनीति बनाउन निर्देषित गर्छ । अन्य मुलुकसंगको आवतजावतलाई पनि लक्-डाउनको समय संगै प्रतिवन्ध गर्नुपर्छ ।

नागरिक उद्धार

अहिले नेपालभित्रै नेपाली जनता आफ्नो घरभन्दा अन्यत्र अलपत्र अवस्थामा छन् जो आफ्नो घर जना सवारी साधनको अभावमा पाइरहेका छैनन् । उनीहरुलाई आफ्नो घरसम्म तुरुन्त पुग्ने बाताबरण मिलाउने काम सरकारले अबिलम्ब गर्नुपर्छ । यसैगरी भारतका विभिन्न शहरहरुमा सानो ब्यबसाय गरी वा दैनिक श्रम गरी आफ्नो जीबनयापन गरिरहेको नेपाली नागरिकहरु कोही बासस्थान भन्दा अन्यत्र अलपत्र परेका छन् त कोहि आर्थिक अभावले दैनिकी जीवन बिताउन अत्यन्त कठिन भइरहेको छ । सरकारले तिनीहरुलाई स्वदेश ल्याउने संयन्त्रको विकाश तुरुन्त गर्नुपर्छ । नत्र उनीहरु रोग तथा भोकले मृत्युको मुखमा समेत पुग्न सक्ने छन् ।

निष्कर्ष

कोविड-१९ को संक्रमणबाट मुलुकलाई मुक्ति दिन सबै भन्दा पहिले सरकारले मेडिकल सामग्री पर्याप्त मात्रामा उपलब्ध गराई आइसोलेशन र क्वारेन्टाइनलाई प्रभावकारी बनाउनु पर्छ । त्यस्तै गरिबीको मारमा परेका नागरिकलाई राहत प्याकेज उपलव्ध गर्ने र सर्बसाधारणलाई दैनिक उपभोग्य सामग्रीको सहज रुपमा सरल मुल्यमा उपलब्ध गराउनु पर्छ । लक्-डाउनलाइ भारतसंग तालमेल गर्दै आफ्नो देशका नगरिकलाई संक्रमणबाट बचाउन कुनै कशुर बाकी राख्नुहुदैन । त्यस्तै नेपालभित्रै बासस्थान भन्दा बाहिर अलपत्र रहेका र भारतका विभिन्न शहरहरुमा दैनिक रोजगारी गरी जीवन गुजारा गरिरहेका तथा सानो ब्यबसाय गरि हाल आर्थिक संकटमा परेका र आफ्नो घर फर्किन चाहिरहेका नागरिकलाई नेपाल भित्र्याउने व्यबस्था मिलाई ब्यबस्थापन गर्नुपर्छ ।

यो महामारीको प्रकोपलाई राजनीतिज्ञ, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको साझा प्रयासमा हामी सबै गोलबद्ध भएर निष्तेज पार्नुपर्छ । सरकारका असल काममा साथ दिदै कमीकमजोरी औल्याउदै सरकारलाई सही मार्गमा अघी बढ्न सहयोग गर्नु अहिलेको आवश्यकता हो । कोरोना संक्रमण फैलन नदिन सामाजिक दुरी बनाईराख्ने, सरसफाईमा ध्यान दिने, साबुनपानीले हातमुख धोईरहने, प्रयोग गरिएका रुमाल तौलिया, मास्क आदि साबुनापानीले सफा गर्ने, आवतजावतमा बन्द गर्ने, बाहिर निस्कनु पर्ने मानिसले भरसक एन-९५ मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ ।

त्यस्तै यसबाट संक्रमित मानिसलाई आइसोलेसनमा राखेर उपचार गर्ने, संक्रमितसंग सम्पर्कमा रहेका शंकास्पद व्यक्तिलाई क्रोरोना संक्रमणको फैलिनसक्ने अबधि जुन १४ दिनको हुन्छ, क्वारेन्टाइनमा राख्ने र कुनै संकेत फेला परेमा तुरुन्त परीक्षण गरी यदि त्यतो व्यक्तिमा संक्रमण भेटिएमा आइसोलेशनमा राखेर उपचार गर्नुपर्छ । यसरी सबै किसिमका प्रक्रियालाई अबलम्बन गर्नुपर्दछ । यति गरेमा ठुलो बिपत्ति आउन नदिई यसलाई हामी परास्त गर्न सफल हुनेछौं ।

(लेखक पुर्वान्चल विश्वविद्यालयका सह-प्राद्यापक तथा हाल जवाहरलाल नेहरु विश्वविद्यालयमा जनस्वास्थ्य विधामा सोध कार्यमा संग्लग्न छन्)