कोरोना उपचारमा प्रयोग हुने सामग्री सातै प्रदेशमा पुर्‍याउन कांग्रेस प्रमुख सचेतक खाँणको सुझाब


हरेकपल March 30, 2020

बुटवल, १७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जिल्लामा रहेका स्वास्थ्य संस्थामा कोरोनाभाइरस रोकथाम र उपचारमा प्रयोग हुने सामग्री पुर्‍याउन सुझाब दिएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गर्दै सचेतक बालकृष्ण खाँणले जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री पठाउन आग्रह गरेका हुन् ।

स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री, मास्कलगायतका स्वास्थ्य सामग्री र उपकरण छिटो जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा पुर्‍याउन उनले आग्रह गरेका थिए ।

उपकरण र स्वास्थ्य सामग्री निजी अस्पताललाई पनि उपलब्ध गराउन सके परीक्षण गर्ने संख्यामा वृद्धि हुन सक्ने भन्दै खाँणले चीनबाट खरिद गरी ल्याएका सामग्री सातै प्रदेश र ७७ जिल्लामा आवश्यकताका आधारमा पठाउन आग्रह गरेका हुन् ।

उनले कोरोना रोकथाम र नियन्त्रणमा खटिएकाहरूलाई राज्यले मनोबल उच्च हुने गरी सुविधा दिनुपर्ने सुझाब दिएका थिए ।

खाँणको प्रस्तावको जवाफ दिँदै स्वास्थ्यमन्त्री ढकालले सोमबार नै प्रदेशहरूमा स्वास्थ्य सामग्री पठाउन सुरू गरेको र थप सामग्री चैत २१ गतेभित्र आउने र अन्य स्वास्थ्य संस्थामा पनि पठाउने बताए ।