बाग्मती प्रदेश सरकारलाई कांग्रेसको थप सुझाब


हरेकपल March 31, 2020

बाग्मती प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रणका लागि केही कामको थालनी गरेको छ । यो सकारात्मक छ, तर, पर्याप्त छैन । प्रदेश सरकारले हेटौँडामा कोरोना भाइरस नमुना परीक्षण ल्याब राख्ने निर्णय गरेको छ । किनकि विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ मानव सभ्यतामाथि नै चुनौतीको रुपमा आइरहेको अवस्था छ । यस्तो परिस्थितिमा सरकारले द्रुत गतिमा पर्याप्त तयारी गर्न जरुरी छ ।

यसै विषयमा आइतबार दिउँसो टेलिफोनमार्फत मुख्यमन्त्रीज्यूसँग कुरा भएको थियो । यसअघि हाम्रो (नेपाली कांग्रेस) संसदीय दलले पनि सुझाबसहित ध्यानाकर्षण गराएको थियो । हुन त यो दलको भन्दा पनि मानवीय संवेदनाको कुरा हो । हामी सबै दल मिलेर भाइरसविरुद्ध लड्दा थप प्रभावकारी हुनेछ भन्नेमा दुई मत पक्कै छैन ।

अस्ति चैत्र १६ गते सोमबार प्रदेश भौतिक पूर्वाधारमन्त्रीज्यूले फोनमार्फत जानकारी दिनुभएअनुसार प्रदेशले ५० करोडको कोष खडा गरेको छ । साथै थप केही निर्णय पनि भएका छन् । जसअनुसार हेटौँडामा कोरोना भाइरस नमुना परीक्षण ल्याब राख्ने, चितवन कोरोना अस्पताललाई १ करोड, रत्ननगर अस्पताल र धुलिखेल अस्पताललाई २०/२० लाख, त्यसैगरी ७४ गाउँपालिकालाई १०/१० लाख, ४१ नगरपालिकालाई १२/१२ लाख, उपमहानगरपालिकालाई १५ लाखका दरले र ३ महानगपालिकालाई २० लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी, स्वास्थ्य उपकरणको विषयमा कुरा गर्दा केन्द्रबाट आज मंगलबार पठाउँदै छ भन्ने कुरा मन्त्रीज्यूबाट जानकारी पाइयो । आज बिहान (मंगलबार) फेरि मन्त्रीज्यूसँग मैले थप प्रगति के भएको छ भन्ने बारे बुझ्ने प्रयास गरेँ । त्यसक्रममा औषधि र स्वास्थ्यसँग सम्बन्धित उपकरण प्रदेशभित्रका सबै जिल्लामा तत्काल पुर्याउनुपर्ने, उपचारमा संलग्न डाक्टर नर्स र अन्य स्वास्थ्यकर्मीलाई पिपिईलगायत स्वास्थ्य उपकरण किटहरुको व्यवस्था कस्तो छ ?

देश लकडाउन भएको छ । ८ दिन भइसकेको छ । दैनिक ज्यालादारी गरेर मजदुर तथा निम्नवर्गका लागि राहत प्याकेज दिने कुरा के भइरहेको छ ? जिल्लाहरुमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था के छ ? भन्ने मेरो जिज्ञासामा उहाँले ६६ निर्वाचन क्षेत्रमा निर्वाचित समानुपातिक सांसदहरु, स्थानीय तह र सम्बन्धित निर्वाचन क्षेत्रका राष्ट्रिय मान्यताप्राप्त दलका प्रतिनिधिहरुको संयन्त्र तयार गर्ने र मजदुरहरुको सुविधा सम्बन्धित वडाले गर्ने, ११ वटा हस्पिटलमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिएको जानकारी गराउनुभयो । तर, स्वास्थ्य उपकरणको विषयमा के–कति पठाएको छ, आज मात्र जानकारी हुन्छ भन्नुभयो ।

तर, प्रश्न के हो भने देश लकडाउन भएको एक हप्ता बितिसकेको छ । अर्को हप्ताको लागि लकडाउन थप भइसकेको छ, हुनु पनि पर्छ । तर सरकारले कहिले संयन्त्र बनाउने ? मजदुर र निम्न वर्गले राहत कहिले पाउने ? क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था कस्तो छ ? डाक्टर नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षाको व्यवस्था के–कस्तो गरिएको छ ? यसबारे पनि सरकार थप क्रियाशील हुनपर्नेमा हाम्रो जोड छ ।

म धन्यवाद दिन चाहान्छु, मुख्यमन्त्री र मन्त्रीज्यूहरुलाई हामीले दिएका सुझावहरुलाई हार्दिकताका साथ लिनुभएकोमा । तर, समस्या के हो भने निर्णयअनुसार काम हुन्छ कि हुन्न भन्ने हो । सरकारले गरेको निर्णयलाई हामी हरप्रकारले सघाउन तयार छौँ र सघाइरहेका पनि छौँ । हामीले सरकारलाई खर्चको कमी भएमा विकास बजेट भए पनि खर्च गर्न सहमति दिएका छौँ । तर, काम गर्ने त सरकारले हो । मलाई खड्केको सबैभन्दा मुख्य कुरा यतिखेर केन्द्र सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण पर्याप्त छ कि छैन र अहिले बजारमा हल्ला छ यसमा पनि ठूलो कमिसनको खेल भएको छ । तर, अहिले म त्यतातिर जान्न । त्यसको हिसाब–किताब भोलि गरौँला या जनताले गर्लान् ।

अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो, कोरोनाको प्रकोपबाट बच्ने र बचाउने । कसरी यो समस्याबाट चाँडोभन्दा चाँडो उन्मुक्ति पाउने ? तर, दुःखको कुरा अस्ति बुटवलमा एकजना युवाको आइसोलेसनमा नै मृत्यु भयो, मृत्युको कारण कोरोना नभएर उपचार नपाएर थियो । त्यस्तै, हिजो साँझ फेरि विर अस्पतालमा २ जनाको मृत्यु भएको छ, त्यो पनि कोरोनाको कारण होइन तर, कोरोनाको त्रासले त अवश्य हो । किनभने कोरोनाको त्रासका कारण उनीहरुको उपचारमा बाधा पुगेको भने अवश्य हो । त्यसको मुख्य कारण स्वास्थ्यकर्मी, डाक्टर र नर्स आफैँ सुरक्षित नहुनु हो । यदि उनीहरुको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) भइदिएको भए यस्ता घटना सायदै घट्ने थिएनन् ।

म सम्मान गर्छु डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई प्रति वो आफ्नो ज्यान जोखिममा राखेर दिन रात सेवामा खटिरहनु भएको छ । त्यसैले उनीहरुको पहिलो प्राथमिकता उनीहरुको सुरक्षाको व्यवस्था हुनुपर्छ । अनि मात्र क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरुले राहत र उपचार पाउनेछन् ।

(लेखक घले वागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक हुनुहुन्छ ।)