कोरोना भाइरस संक्रमण भएका पौने दुई लाख मानिस निको भएर घर फर्किए


हरेकपल March 31, 2020

एजेन्सी– कोरोना भाइरस संक्रमण भएकामध्ये विश्वभरका झण्डै पौने दुई लाख मानिस निको भएर घर फर्किसकेका छन् । विश्वमा कोराना संक्रमितको संख्या ७ लाख ८५ हजार ७ सय ९७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६५ हजार ६ सय ८ पुगेको छ । ५ लाख ५२ हजार ८ सय ८३ मानिसको अवस्था सामान्य रहेको छ ।

२९ हजार ४ सय ८८ मानिसको अवस्था भने अलिक जटिल छ । उनीहरुलाई भेन्टिलेटर तथा आइसियुमा राखेर उपचार गरिँदै छ । कोरोना संक्रमितमध्ये ४।८ प्रतिशत मानिसको मृत्यु भएको छ । यद्यपि यो औसत मृत्युदर हो । यसभित्र कुनै देशमा अलि बढी मृत्युदर छ ।

कस्ता मानिस, कुन उमेरका मानिस परेका छन् भन्ने कुरामा निर्भर गरिरहेको छ । इटालीमा धेरै मानिसको मृत्यु हुनुमा त्यहाँ संक्रमित हुने बढी मानिस वृद्ध भएका कारण मृत्युदर बढी हुन पुगेको मानिएको छ ।

दक्षिण कोरियामा कम मानिसको मृत्यु हुनुमा त्यहाँ कम उमेर समूहका मानिस यसबाट संक्रमित हुनुलाई कारण मानिएको छ । साथै दक्षिण कोरियामा स्वास्थ्य एवं चिकित्सा सुविधा निकै राम्रो भएका कारण मृत्युदर कम हुन पुगेको विश्लेषण गरिएको छ ।

इटालीमा सोमबार संक्रमित हुनेको संख्या घटेको छ । आइतबार त्यहाँ ५ हजार ९ सय ७४ नयाा संक्रमित भेटिएका थिए भने सोमबार ५ हजार २ सय १७ नयाँ संक्रमित भेटिएका छन् ।

कोरियामा पनि नयाँ संक्रमितको संख्या घटेको छ । आइतबार १ सय ५ जनामा संक्रमण देखिएको थियो भने सोमबार ७८ जनामा मात्र नयाँ संक्रमण पाइएको छ । चीन र दक्षिण कोरिया कोरोना भाइरस नियन्त्रण गर्ने पहिलो र दोस्रो मुलुकका रुपमा रहेका छन् । यी देशमा अहिले विदेशबाट स्वदेश आइरहेका मानिसहरु मात्रै नयाँ संक्रमितका रुपमा देखापरेका छन् ।

यसका साथै विश्वभर नयाँ संक्रमितको संख्या घटेको छ । आइतबार ६३ हजार १ सय ६० नयाँ संक्रमित पाइएका थिए भने सोमबार नयाँ संक्रमित हुने मानिसको संख्या ६८ हजार ४ सय ११ मात्रै छ ।

लकडाउनका कारण नयाँ मानिस संक्रमित हुन पाउँदैनन् र संक्रमण फैलिनबाट कम हुन्छ । तर, लकडाउनको अवधिभर सम्पूर्ण संक्रमित फेला पारेर अलग राखेर उपचार गर्न सकिएमा मात्रै कोरोना भाइरसको थप संक्रमण हुन पाउँदैन ।

सबैभन्दा कम संक्रमित रहेको महादेशका रुपमा अफ्रिका रहेको छ । त्यहाँ सोमबारसम्म ३ हजार ४ सय ८६ मानिस मात्रै संक्रमित पाइएका छन् । दोस्रोमा पूर्वी एसिया रहेको छ, नेपाललगायतका ११ मुलुक पर्ने यो क्षेत्रमा संक्रमित संख्या ४ हजार ८४ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण युरोपमा फैलिएको छ । युरोपमा सोमबारसम्म ३ लाख ९२ हजार ७ सय ९७ मानिस संक्रमित भएका छन् भने त्यसपछि उत्तर, दक्षिण अमेरिका रहेको छ । संयुक्त राज्य अमेरिका भने सबैभन्दा बढी मानिस संक्रमण हुने देशका रुपमा रहेको छ, त्यहाँ १ लाख ६४ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।