लपुका गाउँपालिकाले देखासिकीमा औषधि नछर्कने


हरेकपल March 31, 2020

ललितपुर, १८ चैत । महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले चिकित्सकसँग सल्लाह गरेर मात्र आवश्यक परेमा कीटनाशक औषधि डिसइन्फेक्सन स्प्रे छरिने बताउनुभएको छ । टेलिफोनमा रासससँग कुरा गर्दै अध्यक्ष दाहालले कोभिड–१९ को सङ्क्रमण बढिरहेका अवस्थामा छर्नै परे तापनि यसको फाइदाबेफाइदा बुझी गाउँपालिकामा सो औषधि प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा गाउँवासीले घरघरमा पशुपालन गरिरहेका छन् । पशु र मानिस दुवैको स्वास्थ्यमा असर गर्दैन भने कोरोनाविरुद्धको कीटनाशक औषधि छर्ने हो, नत्र विना चिकित्सकको सल्लाह नबुझी अरुले छरे भन्दैमा देखासिखी गरी कीटनाशक औषधि छर्दैनाँै ।”


सो गाउँपालिकाका प्रायः घरमा पशुपालन गरिएको छ । गाउँवासी र उनीहरुले गरिरहेको पेशामा असर पर्न नदिन आफूले बुझेर मात्र औषधि छर्ने दाहालले स्पष्ट गर्नुभयो ।
यसैगरी वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पनि कोरोनाको सङ्क्रमण गाउँमा बढ्यो भने मात्र औषधि छरिने बताउनुभयो । ‘अरुले गरे भन्दैमा आत्तिँदैनौँ,’ उहाँले भन्नुभयो । कोञ्ज्योसोमा गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले गाउँमा कीटनाशक औषधि छर्ने विषयमा पाँचै वडाका केही व्यक्तिसँग छलफल गरिने जानकारी दिनुभयो । कस्तो तरिकाले औषधि छर्दा मानिसलगायत पशुपन्छीलाई असर गर्दैन भनी बुझ्ने उहाँको भनाइ थियो ।
ललितपुरमा रहेका दुई नगरपालिका र एक महानगरपालिकाले भने धमाधम कोरोना सङ्क्रमण न्यूनीकरण विरुद्ध कीटनाशक औषधि टोलटोल र बस्तीबस्तीमा छरिरहेका छन् ।