बेलहिया नाकामा १० दिनकी सुत्केरीको बिजोग


हरेकपल April 1, 2020

बुटवल । १० दिनकी सुत्केरीको दिनचर्या कस्तो होला रु धेरैलाई लाग्ला पोषिलो खाना खाने र आराम गर्ने । तर, रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जीले यस्तो अवसर पाइनन् । भारतको दिल्लीस्थित गाजीयावादमा ९ दिनअघि सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि नेपा-भारत सीमाको बेलहिया नाकामा छन् ।

अन्य नेपालीसँगै आफ्नो देश फर्किएकी उनलाई पनि सुरक्षाकर्मीले सीमा कटेर आउन दिएका छैनन्। अझै कति दिन यसरी बस्नु पर्ने हो उनी आफैंलाई थाह छैन।

लक्ष्मी भारतको गाजीयावादबाट पैदल र बस यात्रा गर्दै यहाँ आएकी हुन्। २ दिन भारतीय बजार सुनौलीको सडक पेटीमा पल्टिइन्। ‘सडक छेउको घरको पेटी थियो। त्यही चिसो पिढीमा पल्टेर २ दिन बिताएँ,’उनले दुखेसो पोखिन्, ‘पुरै डेढ दिन केही खानेकुरा नखाएर बित्यो।’भोको पेट छोरीलाई दूध चुसाउँदा उनी बेहोशसमेत भइन्। बेहोश हुने र बिउझिने भइरह्यो। अवस्था नाजुक देखेर सशस्त्र प्रहरीले पानी खुवाउँथे।

सोमबारदेखि बेलहिया समाज र स्थानीयले खाना खुवाएपछि बल्ल उनको प्राण आयो। सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा पस्‍न पनि दियो। बेलहियाका स्थानीयले बस्न टेन्टको व्यवस्था गरी दिए। लक्ष्मी काखमा शिशु छोपेर त्यही टेन्टमा बसेकी छन्। पोषिलो खाना मात्र होइन उनले भोकलाग्दा रुखो खाना पनि खान पाएकी छैनन्। आमाले खान नपाएकै कारण शिशुलाई दूध आएको छैन। दूध खान नपाएकी छोरी छिनछिनमा रोइराखेकी छन्। उनी दूध चुसाएर भुलाउने कोशिश गर्छिन्। तर, छोरीको रुवाइ रोकिन्न। ‘चुस्दा चुस्दा निचोरिएर दूधको मून्टो नै चुडिएलाजस्तो भएको छ। तर दूध आउदैन,’ लक्ष्मीले बेथा पोखिन्,‘यो संकटमा कसरी आफ्नो प्राण बचाउँ। छोरीको कसरी बचाउँ। सोच्न सकेकी छैन।’

सीमामा अलपत्र परेकालाई सोमबार बिहान, साँझ र मंगलबार बिहान स्थानीयले खाना खुवाएका थिए। मंगलबारको साँझ कसले खाना खुवाउँछ वा खुवाउदैन टुंगो छैन। सुत्केरी शरीर करकरी दुखेको छ। तर, गोडा पसार्ने ठाउँ छैन। ३ सय अलपत्रहरुको बीचमा कोचिएकी छन्। खुन बगेका कपडा भिजेका छन्। फेर्न पाएकी छैनन्। नजिक पर्दा गन्हाउने र माखा लाग्ने भएको छ। ‘खानेबस्ने नै टुंगो नभएका बेला नुवाउने धुने भन्ने टाढाको कुरो हो,’लक्ष्मीले भनिन्, ‘सबै दुःख एकैपटक खनिएझैं लागेको छ।’

लक्ष्मीको यो दुःख सीमामा आएपछिको मात्र होइन। छोरी जन्माउँदा देखि नै सुरु भएको थियो। जब प्रसव बेथा सुरु भयो, दिल्लीमा रहेको गाजियावाद अस्पतालले भर्ना लिन मानेन। जसोतसो हात जोडेर भर्ना भइन् र सुत्केरी भइन्। सुत्केरी भएको २ घण्टा बित्न नपाउँदै अस्पतालले घरमै जान भनेर निकालिदियो। कोठामा फर्किदा घरभेटी झर्किए। त्यतिमात्र होइन अस्पतालमा बसेकाबाट कोरोना संक्रमण हुने भन्दै घरबाटै निकालिदिए।

सुत्केरी लक्ष्मी अलपत्र परिन्। २ र ३ वर्षे अन्य दुई छोरीसहित पति मनोजले घर जाने निर्णय गरे। कोठामा भएका झिटीझिम्टी कसे। र, दिल्लीबाट नेपाल आउने पैदल यात्रा सुरु गरे। २ दिन पैदल हिँडे। खुनका धारा बगाउँदै सुत्केरी लक्ष्मी अनवरत हिँडिरहिन्। न भोकमा खान पाइन् न थाक्दा बसेर आराम गर्न। शनिबार उत्तरप्रदेश सरकारले अलपत्रको उद्धार गरेर सीमा नाकासम्म पुर्‍याउने भन्दै उनलाई पनि बसमा उठाइदियो। कुन ठाउँबाट बस चढिन्, उनी सम्झन्नन्। बसका फलामे सिटमा कोचीएर उनी शनिबार साँझ सुनौली नाका आइपुगिन्।

सुनौली नाकाबाट करीब १५ किलोमिटरमा उनको घर छ। तर, कोरोना संक्रमण हुने भन्दै नेपाली सुरक्षाकर्मीले घर जान दिएका छैनन्। हिन्दु परम्पराअनुसार बुधबार छोरीको न्वारान गर्नुपर्छ। सुत्केरीले नुहाएर चोखिनुपर्छ। सीमामा अलपत्र लक्ष्मीले भनिन्, ‘तर, कोरोनाले सबै रीतिथीति सपनाजस्तै बनायो।’

बेलहिया नाकामा भारतीय सहरबाट फर्केका २ सय ९० नेपाली छन्। त्यसमध्ये १५ महिला छन्। भारतीय सुरक्षाकर्मीले सुत्केरीसहित सबैलाई नौतनवा नजिकको क्वारेन्टाइनमा लगेर राख्ने बताएको छ। तर, साँझसम्म लगेको छैन। ‘रातिसम्म व्यवस्थापन होला,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘अब सुत्केरीसहितका सबै १५ दिन त्यतै बस्नेछन्।’ कान्तिपुर दैनिकमा खबर छ ।