कोभिड-१९


हरेकपल April 1, 2020

विश्व अहिले कोभिड–१९ महामारीको सन्त्रासमा छ । गत २०१९ डिसेम्बरको अन्त्यमा चीनमा देखा परेको कोरोना र्भारस तीव्र गतिमा भूमण्डलीकरण भई समग्र विश्वमा फैलिएको छ । हजारौँ वर्षअघिदेखिको मानव–इतिहासलाई फर्केर हेर्ने हो भने यो कुनै नयाँ र अहिलेका पुस्ताले मात्र झेल्नुपरेको समस्या होइन र यो नै अपूर्व जटिल महामारी पनि होइन ।

यस सङ्कटले भौतिक विकाससँगै विलासिताको खोजीमा तीव्र गतिमा दौडिरहेको विश्वलाई केही समयका लागि लगभग गतिविहीन अवस्थामा पुर्‍याउनुका साथै फरक ढङ्गले सोच्न बाध्यसमेत पारेको छ । यस महामारीले मानवजीवनमा पुर्‍याउने क्षति पक्कै पनि दुःखद र यसबाट जीवन गुमाउनेहरूको परिवारका लागि अपूरणीय नै हुनेछ । त्यसबाहेक यसले पुर्‍याउने आर्थिक क्षतिको पूर्ति गर्न पनि व्यक्तिलाई मात्र होइन, राष्ट्रलाई समेत निकै लामो समय लाग्ने निश्चित छ । यस महामारीले हाम्रा आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष र पद्धतिहरूमा पक्कै परिवर्तन ल्याउनेछ ।

कोरोना–कहरले गर्दा घरघरमा थुनिएर बसेका हामी अहिले हाम्रा धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यमान्यताहरूको सान्दर्भिकता र वैज्ञानिकताको विषयमा विज्ञान र प्रविधिले दिएको नवीनतम साधन र माध्यमहरू प्रयोग गरेर चर्चा गरिरहेका छौँ । चर्चा मात्र गरिरहेका छैनौँ, जुन कुरा हामी आफैँले आफ्नो जीवनकालमा अनुसरण, मनन र आत्मसात्सम्म गर्न सकेका छैनौँ अथवा तयार छैनौँ, त्यसको महिमासमेत गाइरहेका छौँ । यसले समय कटाउने एउटा बहस र छलफलको विषय त पक्कै दिएको छ तर हामीलाई अबको दिनमा हालको यस सङ्कटबाट उम्कन गर्नुपर्ने कर्महरूप्रति थोरै मात्र योगदान दिन सक्छ भन्ने कुरामा आश्वस्त हुन सकिने आधार भने छैन ।

विशेष गरी अभिवादन गर्ने, काजकिरिया गर्ने, पूजापाठ गर्ने मान्यता र पद्धतिको जतिसुकै चर्चा र बहस गरे पनि यसले संयोगवश कुनै कुराबाट केही सुरक्षा वा लाभ दिन सक्ला तर यो समग्र मानवकल्याणका लागि अचुक उपायका रूपमा ग्रहण गर्न सकिने अवस्था भने दखिँदैन । हामी जुन मूल्यमान्यतामा हुर्केबढेका छौँ, त्यो हाम्रा लागि प्रिय हुनु र त्यसको अनुसरण गरिनु कुनै आश्चर्यको विषय होइन । मानवविकासका क्रमसँग त्यस्ता मान्यता र पद्धतिहरू विकासित हुन्छन् र पुस्तैनी हस्तान्तरण पनि हुँदै जान्छन् । समयका गतिसँगै र विभिन्न घटनाक्रमसँगै त्यस्ता कुराहरूमा परिवर्तन पनि हुँदै जान्छ । विज्ञानका नवीन खोजहरूले त्यस्ता कतिपय मान्यताहरूलाई असान्दर्भिक बनाइदिन्छन् भने सांस्कृतिक गतिशीलतासँगै कति हराएर वा बदलिएर जान्छन् । त्यसले मानवजीवनलाई खासै ठूलो फरक पार्दैन पनि । ती मान्यता र पद्धतिहरूसँग कति राम्रा अर्थात् मानव वा प्रकृतिका लागि हितोपयोगी र कतिपय खराब कुराहरू पनि जोडिएका हुन सक्छन् । प्रयोग र हस्तान्तरणका क्रममा तिनमा कतिपय व्यक्ति वा समुदायका स्वार्थहरू जोडिएर जाने र प्रामाणिक तथा राम्रा पक्षहरू ओझेल पर्दै विकृत पक्षहरू हाबी हुँदै जान्छन् । त्यो हाम्रो पूर्वीय संस्कृतिमा मात्र नभई संसारमा प्रचलित जुनसुकै संस्कृतिमा पनि हुने गर्छ ।


यस समयमा हामीले आफ्ना धर्मसंस्कारगत सबै पुराना मान्यताहरूको अन्ध–वकालत गर्नुभन्दा पनि तिनमा भएका मानव र प्रकृतिका लागि उपयोगी हुने कुराहरूको खोजी गर्ने र समयसान्दर्भिक हुने कुरालाई अनुसरण गर्नु नै बढी बुद्धिमानी ठहरिएला । त्यससँगसँगै ती उपयोगी हुने कुराहरूको पुनरुत्थान कसरी गर्न सकिन्छ भन्ने कुरा सोच्न जरुरी छ । यसरी पुनरुत्थान गर्ने क्रममा हामीले विगतमा तिनलाई सान्दर्भिक र गतिशील बनाउन किन सकेनछौँ भन्ने कुराको खोजी र चिन्तन गरिनु पनि जरुरी हुन्छ ।


वर्तमान सङ्कट छोटो समयमै तीव्र रूपमा विश्वव्यापी हुनुमा हाल भएको विश्वको आर्थिक–सामाजिक सञ्जालीकरण र त्यसलाई अनुकूल बनाउने भू, जल तथा हवाई यातायात प्रणालीलाई दोष दिन सकिएला तर विज्ञानका यी उपहारहरू आजसम्म मानव–समुदायले आफ्नो हितका लागि नै प्रयोग गरिरहेको थियो र अद्यापि त्यसका लागि नै प्रयोग हुनेछन् भन्नेमा दुई मत हुनै सक्दैन । ठीक त्यसै गरी सूचना–प्रविधि, चिकित्सा–विज्ञान, कृषिलगायतका क्षेत्रमा भएका खोज र विकासको पनि ज्यादातर मानवोपयोगी पक्षहरू नै छन् । प्रत्येक नयाँ कुराले पुरानालाई विस्थापित गर्दै जाने सृष्टिको नियम पनि हो । त्यसकारणले गर्दा हाम्रा कतिपय परम्परागत प्रविधिहरू मानव र प्रकृतिका लागि अनुकूल र उपयोगी हुँदाहुदै पनि तिनले मानवीय आवश्यकता र विस्तारित मागको परिपूर्ति गर्न नसकेको कारणले वा तिनलाई वैकल्पिक रूपमा विकसित गर्न नसिएका कारणले लोप भएका वा लोपोन्मुख भएका छन् ।

कृषिको कुरा गर्ने हो भने सन् १९६० को दशकमा विश्वका धेरै देशमा भएको हरित क्रान्ति तत् समय र त्यसको दशकौँपछिसम्म मानवका लागि वरदान साबित भएको हो । विश्वमा व्याप्त भोकमरीलाई हटाउन बालीको नश्लसुधार, कीटनाशकको प्रयोग र रासायनिक मलको प्रयोग उपयोगी सिद्ध भएको तथ्यलाई नकार्न सकिँदैन । तर यसले परम्परागत पद्धतिबाट हुने उत्पादनद्वारा माग धान्न सक्ने व्यक्ति, समुदाय र राष्ट्रलाई अस्वाभाविक दबाब र प्रभाव सृजना गर्दै त्यस आधुनिक प्रविधिको असन्तुलित प्रयोगमा अग्रसर गराएको अर्को पाटो हो । यसमा नवीनतम खोज र विकास मात्र दोषी हो कि हाम्रा परम्परागत कृषि पद्धतिलाई समयानुकूल विकसित गर्न नसकिएको पक्ष पनि उत्तिकै दोषी हो भनेर निक्र्योल गर्न जरुरी विषय हो । यसले हामीलाई यसभन्दा अगाडिको यात्रा सहज र अनुकूल गराउनका लागि पक्कै पनि मदत गर्छ । जसले गर्दा हामीलाई आधुनिक विज्ञानले दिएका प्रविधि एवम् यन्त्रहरूलाई उपयोग गरेर हाम्रो परम्परागत कृषिलाई प्रकृतिमैत्री र मानवहितोपयोगी हुने गरी विकसित गर्ने उपायहरू पनि सुझ्न सक्छन् ।

हामी अहिले हाम्रो परम्परागत औषधविज्ञानको गुनगानमा पनि एकाग्र भएका छौँ । आजसम्म पनि पूर्वीय चिकित्सापद्धतिलाई चिकित्साविज्ञानका नयाँ खोज, अनुसन्धान र तथ्यमा आधारित रोग पहिचान र निराकरणसँग सान्दर्भिक रूपमा जोड्न सकेका छैनौँ । यसमा आधुनिक चिकित्साविज्ञानले आयुर्वेदलगायतका परम्परागत उपचारविधिलाई मान्यता नदिनु मात्र दोषी हो कि यी परम्परागत पद्धतिका पक्षधरहरूले यसलाई प्रामाणिक गराउने कुरामा आवश्यक खोज, अनुसन्धान र विकास गर्न नसकेको हो, त्यतातर्फ पनि निष्पक्ष भई सोच्न जरुरी छ । हो, अवश्य पनि कतिपय रोगको उपचारका लागि परम्परागत औषधी र उपचारहरू उपयोगी छन् भन्ने हामीले अनुभूत गरेका छौँ तर तिनलाई प्रयोग गर्न र आगामी पुस्तासम्म हस्तान्तरण गर्नका लागि तथ्यगत आधारहरू खोजिनुपर्छ । अन्यथा मानिसहरू विश्वास र अन्धविश्वासको चक्रव्यूहभित्र फस्छन् र उपयोगी कुराहरूलाई पनि छाड्दै जान सक्छन् ।

आजकल धेरै सुनिने अर्को पक्ष हो, हाम्रो प्राचीन धर्मशास्त्र र ग्रन्थहरूलाई आधुनिक शिक्षा विकल्पका रूपमा वकालत गरिने । हो, पक्कै पनि ती ग्रन्थहरूमा मानवोपयोगी कुरा छन् र विज्ञानका कतिपय कुराहरूको उद्गम पनि तिनमा उल्लिखित तथ्य वा सङ्केतहरू होलान् भन्ने मानौँ । तर तिनलाई व्यापक बनाउने पद्धति त्यसैका पक्षधरहरूले किन विकसित गरेनन् र आज पनि गरिँदै छैन भन्ने कुराको खोजी गरिनु जरुरी छ । ज्ञानलाई व्यापक बनाइनु नै मानवहित उपयोगी हुन्छ न कि सीमित गरिनु । आधुनिक विज्ञानले गरेका नयाँ खोजहरू केही समयसम्म केही व्यक्ति, समूह वा राष्ट्रले आफ्नो निहित स्वार्थका लागि सीमित गर्न खोजे पनि कुनै न कुनै माध्यमबाट ती व्यापक भइरहेका छन् र त्यसैकारणले विकसित पनि हुँदै छन् । तसर्थ हामीले हाम्रा पूर्वीय ग्रन्थ, दर्शन र मान्यताहरूको गुनगान मात्र गाउनुले मानव र जगत्को हित हुन्छ भनेर सोच्नु किमार्थ गलत हुनेछ ।

अन्त्यमा, हामी आज चाहेर वा नचाहेर पनि विश्वमा व्याप्त विज्ञान र प्रविधिहरूको प्रभावबाट मुक्त हुन सक्दैनौँ । तर पनि त्यो नै हाम्रा लागि अन्तिम विकल्प हो भन्ने कुरा भने होइन । पछिल्लो समय जसरी आधुनिकता, अति उपभोगवाद र असन्तुलित औद्योगिकीकरणका कारण उत्पन्न जलवायु परिवर्तन, प्राकृतिक विनाश, वातावरणीय क्षय र यसको परिणामस्वरूप मानव र समग्र जीवले बेहोर्नुपर्ने सम्भावित क्षतिको आँकलन गरिन थालिएको छ । त्यसले अव विकासको शब्दावलीलाई फरक ढङ्गले सोचिनुपर्ने अवस्था पनि आएको छ । अहिलेको कोरोना–कहरलाई पनि मानवजातिले सानो क्षति बेहोरेर भविष्यको ठूलो सङ्कटलाई टार्ने अवसरका रूपमा लिन सक्यो भने आउने पुस्ताले हामीले भन्दा सुन्दर संसार देख्न पाउलान् कि भन्ने आशा गर्न सकिन्छ ।