स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी


हरेकपल April 1, 2020

काठमाडौं, १९ चैत । स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनासंख्यामन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलसम्बद्ध वाग्मती प्रदेशसभाका सांसद रमेश पौडेलले अनलाइन उजुरी दिएका हुन् ।

चीनबाट स्वास्थ्य सामाग्री ल्याउँदा अनियमितता भएको ठहर गर्दै उनले उजुरी हालेका हुन् । सरकारले स्वास्थ्य उपकरण खरिद गर्दा बजार भाउभन्दा ४ गुणा महँगो शुल्क तिरेको र ल्याइएको सामानसमेत गुणस्तरीय नभएकाले छानबिनको माग गरेको उनको भनाइ छ ।

अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले उजुरी परेको पुष्टि गर्दै उजुरीमाथि छानबिन भइरहेको जानकारी गराएका छन् ।