विद्युत् खपत घट्यो


हरेकपल April 2, 2020

काठमाडौं । मुलुक लकडाउनमा भएका कारण अहिले ऊर्जाको खपत घटेको छ। करिब १२ सय मेगावाट विद्युतको माग हुने गरेकोमा अहिले करिब ९०० मेगावाटमा सीमित भएको नेपाल विद्युत प्राधिकरणको तथ्यांक छ। ९०० मेगावाट विद्युत खपत पिक आवरमा मात्रै हो अरु बेलाको औसत खपत करिब ६२५ मेगावाट रहेको प्राधिकरण बताउँछ। पिक आवर भनेको साँझको समय हो जुन २५ देखि ३० मिनेटको हुने गरेको छ।

लकडाउनका कारण कलकारखाना, होटल तथा रेस्टुरेन्ट, मल, पसल, उद्योगलगायत सबै बन्द भएका कारण विद्युतको माग र खपत दुवै घटेको छ। प्राधिकरणको शनिबारको तथ्यांकअनुसार पिक आवरमा कुल खपत ९०८ मेगावाट छ। उत्यकाको हकमा पनि पिक आवरमा करिब २८० मेगावाट र अन्य समयमा करिब १४० मेगावाट विद्युत खपत हुन थालेको छ। लकडाउन अघिसम्म उपत्यकामा पिक आवरमा करिब ४५० र अन्य समयमा करिब ३०० मेगावाट विद्युतको माग थियो।

विद्युतको खपत घटेपछि प्राधिकरणले भारतबाट आयात गर्ने विद्युतमा कटौती गर्न थालेको छ। तथ्यांकअनुसार प्राधिकरणका आयोजनाबाट ४१६ मेगावाट र निजी प्रवद्र्घकबाट २६३ मेगावाट विद्युत खपत गरिएको छ। यस्तै भारतबाट भने २२९ मेगावाट आयात गरिएको छ। साँझको पिक आवरका लागि मात्रै भारतबाट यो युनिटमा विद्युत आयात गरिने गरेको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए। ५ सय मेगावाट भन्दा बढी विद्युत भारतबाट आयात गरिँदै आएको थियो। भारतबाट विद्युत आयातका लागि ढल्केवर मुज्जफपुरबाट २५० मेगावाट विद्युत खरिद सम्झौता भएको भए पनि अहिले २५ मेगावाटमा झरेको प्रवक्ताले बताए। शनिबार त जम्मा २५ मेगावाट मात्रै उक्त प्रसारणलाइनबाट आयात गरिएको छ।

ुप्राधिकरणले अहिले स्वदेशी विद्युत खपतमा नै जोड दिएको छ। भारतबाट आयात गर्ने विद्युतलाई पूरै कटौती गरिएको छ। टनकपुरबाट पनि ६० मेगावाट आयात हुने गरेकोमा १० मेगावाट मात्रै आयात गर्न थालिएको छु, उनी भन्छन्। अब आवश्यक परेको बेलामा बिहारबाट चाहिएजति विद्युत आयात गर्दै अरु प्रसारणलाइनबाट भारतबाट आयात हुने विद्युत कटौती गर्ने तयारीमा प्राधिकरण रहेको अधिकारीले बताए। विहारबाट कुसाहा कटैया, रक्सौल परवानीपुर र गण्डक गरी ३ प्रसारणलाइनबाट विद्युत आयात गर्ने गरिएको छ। विद्युतको माग कटौती भइरहेको अहिलेको समयमा प्राधिरकणले निजी प्रवद्र्घकको विद्युतमा कटौती नगरेको जनाएको छ।

इता, विद्युतको खपत घटिरहेको भए पनि विद्युत उत्पादन भने बढिरहेको छ। पोहोर यो समयमा प्राधिकरणको विद्युत उत्पादन ३६५ मेगावाट रहेको र अहिले ४६५ मेगावाट विद्युत उत्पादन भइरहेको प्रवक्ता अधिकारीले बताए। हिमाल पग्लिन सुरु गरिसकेकाले जलाशययुक्त आयोजनामा पानीको सतह बढेको उनको भनाइ छ। निजी प्रवद्र्घकले भने नदी प्रवाहमा आयोजित आयोजना बनाउँदै आएका छन्। अन्नपूर्ण पोष्टमा खबर छ ।