कोरोना कहर र अर्थतन्तमा यसको प्रभाव


हरेकपल April 2, 2020

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्नका लागि घोषणा गरिएको लकडाउनका कारण बिस्व अर्थतन्त्र नै धराशायी हुने अबस्थामा पुगेकोछ । कोरोनाको उद्गमस्थलको रुपमा रहेको चिन यस महामारीबाट भरखरै तंग्रिन खोज्दैछ भने शुरुमा चीनलाई खिशीटिउरी गर्ने युरोप र अमेरिका लगायतका पश्चिमा राष्ट्रहरु कोरोनाको महामारीबाट प्रताडित भएका छन । त्यतिमात्र होइन एसिया, अफ्रिका लगायत बाकि विस्वका राष्ट्रहरु समेत कोरोनको यस महामारीबाट त्रशित बनिराखेका छन ।

अर्थशाश्त्रिय सिद्दान्त अनुसार बजार सन्तुलनको लागि माग र पूर्तिमा सन्तुलन कायम हुनु पर्दछ, तर अहिलेको अबस्थाले माग र पूर्तिको सन्तुलनमा समेत ठुलो उथल पुथल आईरहेको छ । बिस्व बजारमा पहुचको हिसाबले हेर्दा ठुलो परिमाणमा बस्तु र सेवाको उत्पादन गरेर पैठारी गर्न सक्ने हैसियत भएका राष्ट्रहरु चिन, यूरोप र अमेरिका कोरोनाको महामारीमा रुमलिइ राखेको अबस्था छ भने अस्ट्रेलिया, जापान, भारत, रुस जस्ता ठुलो परिमाणमा बस्तु र सेवाको उत्पादन गरि आपूर्ति गर्न सक्ने राष्ट्रहरु समेत उत्पादनलाई निरन्तरता दिन सक्ने अवस्थामा छैनन् । यसबाट वस्तु तथा सेवाको उत्पादनमा कमि आएर बिस्व बजारमा समग्र आपूर्ति प्रणालीमा नै समस्या आउने कुरामा दुई मत छैन । 

अहिले बिश्व बजारमा कोरोनाको संक्रमण रोक्नका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षण सामाग्रीहरु, दैनिक उपभोग्य सामाग्रीहरु र दुर संचार सेवा लगायत केहि सिमित बस्तु र सेवा  बाहेक अन्य बस्तु र सेवाको कारोबारमा मन्दीको अबस्था रहेको छ । त्यसो त स्वास्थाकर्मिहरुले प्रयोग गर्ने  व्यक्तिगत सुरक्षण उपकरणहरु (PPE), सेनिटाईजर, मास्क, ट्वाइलेट पेपर  लगायतका बस्तुको अभाब संगै एक खालको कारोबजारी समेत देखिएको अबस्था छ । लगभग सबै मुलुकहरूमा लक डाउनको अवस्था भएको हुनाले यातायात, पर्यटन, होटेल तथा रेष्टुँरा जस्ता क्षेत्रहरु करिब करिब बन्दको अबस्थामा रहेका छन । कोरोनाको सङ्क्रमण थप नफैलिओस् भनेर निश्चित सामाजिक दुरी कायम राख्ने र क्वारेन्टाइनका मापदण्डहरू पुरा गर्नुपर्ने बाध्यतामा सिंगो मानब समुदाय रहेको छ ।  विश्वभरिका पुँजिबजारमा गिरावट आईरहेको छ भने अल्पकालीन रुपमा कतिपय शेयर बजार बन्द समेत गरिएको छ । यो समग्र परिस्थितिमा बान्छित सुधार नहोउन्जेल सम्म बिस्व बजारमा समग्र मागको आकार बढ्न सक्ने अबस्था देखिदैन ।

बिस्व बजारमा समग्र माग र पूर्ति दुबैमा गिरावट आईरहेको र यो क्रम अझै बढ्न सक्ने देखिएको हुनाले यसले अर्थतन्त्रलाई दुरगामी रुपमा नकारात्मक प्रभाब पार्दछ । यसवाट रोजगारीका नयाँ अबसरहरुको सिर्जना नहुने कुरा त छैदैछ भैरहेको रोजगारि समेत गुम्दै गैरहेको अबस्था छ ।

कोरोना भाईरसले निम्त्याएको यो सङ्कटसँग जुध्नको लागि र अर्थतन्त्रमा देखिएका यस्ता नकारात्मक असर र प्रभावलाई न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैङ्क, एशियाली बिकास बैंक र सम्बन्धित राष्ट्रका केन्द्रीय बैङ्कहरूले आर्थिक सहायता योजना अगाडी ल्याएका छन् । आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले भने जस्तै विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसकेको र यो मन्दी सन् २००८ मा देखिएको मन्दी भन्दा पनि अझै भयाबह हुने भन्ने कुरामा बिश्वास गर्न सकिन्छ । यो अबस्थाबाट पार पाउन विकसित मुलुकले अझै धेरै आर्थिक सहायता गर्नुपर्ने र बजारलाई सन्तुलनमा ल्याउनका लागि ठुलो परिमाणमा सहयोग रकम आवश्यक रहने कुरामा दुई मत छैन । आईएमएफले न्युन आय भएका सदस्य राष्ट्रहरुलाई आपतकालीन वित्तीय सहयोगका लागि ५० बिलियन अमेरिकी डलर सम्मको रकम कोरोना जस्ता महामारी संग जुझ्नको लागि लगानी गर्ने कुरा उल्लेख गरेकोछ । त्यसै गरि बिश्व बैंकले तत्कालका लागि १२ बिलियन अमेरिकी डलर बराबरको रकम विकासोन्मुख राष्ट्रहरुको स्वास्थ सेवा, रोगहरुको निगरानी, मेडिकल उपकरणको सहज उपलब्धता र ब्यबसायको चालु पुँजीका लागि उपलब्ध गराउने कुरा बताएकोछ ।   

विकसित मुलुकहरूको सङ्गठन (ओइसीडी) ले सन् २०१९ मा बिस्वको कुल गार्हस्थ उत्पादन (GDP) वृद्धि २.९ प्रतिशत रहेकोमा सन् २०२० मा गएर यो वृद्धि २.४ प्रतिशतमा सिमित रहने अनुमान यस अघिनै गरि सकेको थियो । नयाँ वर्षको पहिलो त्रैमास सकिदाको अबस्था हेर्ने हो भने यो वृद्धि हासिल हुने कुरामा आशंका उत्पन्न भएको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सले त अब विश्वको आर्थिक वृद्धिदर १ प्रतिशत मात्रै रहने प्रक्षेपण गरि सकेको छ । जुन सन् २००८ को आर्थिक वृद्धि भन्दा पनि न्युन अबस्था हो । 

बेरोजगारीको समस्या बढ्दो क्रममा रहेकोछ भने दैनिक ज्यालादारी गरेर जीवन निर्बाह गर्नेहरुको जीवनस्तर अत्यन्तै कष्टकर बन्न पुगेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोरोनाका कारण विश्वभर २ करोड ५० लाख भन्दा बढी मानिसले रोजगारी गुमाउने अनुमान सार्वजनिक गरिसकेको छ । मुडिज ईन्भेस्टरस् सर्भिस (Moodys Investors Service) ले भारतको सन् २०२० को GDP को वृद्धिदर पहिले अनुमान गरिएको ५.३ % बाट घटेर २.५ % मा सिमित हुने कुरा उल्लेख गरेको छ ।  त्यसैगरी एशियाली बिकास बैंक (ADB) ले कोरोनाको प्रभावको कारण चीनको आर्थिक वृद्धिदरमा ०.३ % देखि १.७ % सम्म र एशियाका विकासोन्मुख राष्ट्रहरुको वृद्धिदरमा ०.२ % देखि ०.५ % सम्मले संकुचन आउने कुरा उल्लेख गरेको छ भने बिस्व अर्थतन्त्रमा ०.१ % अथवा ७७ बिलियन अमेरिकी डलर देखि ०.४ % अथवा ३४७ बिलियन अमेरिकी डलर सम्मको संकुचन आउन सक्ने आंकलन गरेको छ । साथै बैंकले विकासोन्मुख सदस्य राष्ट्रहरुलाई नोवेल कोरोना भाईरसको महामारी संग लड्नका लागि ६.५ बिलियन अमेरिकी डलर बराबरको रकम सुरुवाती प्याकेजको रुपमा घोषणा समेत गरि सकेको छ । 

नेपाल पनि कोरोना भाईरसको महामारीबाट अछुतो छैन । नेपालमा हालसम्म परिक्षण भएका झन्डै ११०० व्यक्तिहरु मध्ये ५ जनालाई कोरोना भाईरस संक्रमण भएको कुरा पुष्टि भैसकेको छ भने संक्रमित पाँचै जना विदेश बाट नेपाल भित्रिएको र एक जनाको उपचार पछी निको भै घर फर्किसकेको अबस्था छ । उनीहरु जस्तै विदेश बाट नेपाल भित्रिने नेपालीको संख्या उल्लेख्य रहेको र ति मध्ये धेरै जसोले क्वारेन्टाइनमा बस्नुपर्ने सामान्य नियमको समेत पालना नगरेकोले धेरै व्यक्तिहरुमा यो भाईरस संक्रमण भएकोछ कि ? भन्ने आशंका आम रुपमा रहेको छ । उनीहरु संग सम्पर्कमा आएका थुप्रै व्यक्तिहरुको स्वाब परिक्षण हुन नसकेकोले पनि आम नेपालीहरुमा त्रासको अबस्था बिध्यमान रहेको छ । यसै परिप्रेक्ष्यमा नेपालले पनि कोरोना भाइरसको महामारी बाट बच्नका लागि सर्ट डाउनको घोषणा गरिसकेको अबस्था छ ।

कोरोनाको प्रभावले नेपालको होटेल, रेष्टुराँ, उत्पादन क्षेत्र, निर्माण क्षेत्र, यातायात, ब्यापार –ब्यबसाय लगायत धेरै क्षेत्रमा प्रभाब पर्ने आंकलन एशियाली बिकास बैंक (ADB) ले गरेको छ । ADB ले कोरोना भाइरसको कारण नेपालको अर्थतन्त्रले ३६.७८ मिलियन अमेरिकी डलर बराबरको घाटा व्यहोर्नुपर्ने र GDP मा ०.१३% सम्मले कमि आउन सक्ने कुरा उल्लेख गरेकोछ । यसलाई अझ प्रष्ट पार्दै बैंकले कोरोनाको प्रभाब न्युनतम पर्दा ०.०४ % अथवा १२.१२ मिलियन अमेरिकी डलर, सामान्य पर्दा ०.०६ % अथवा १८.३५ मिलियन अमेरिकी डलर र बढी पर्दा (खराब अबस्था आएमा) ०.१३ % अथवा ३६.७८ मिलियन अमेरिकी डलर ले अर्थतन्त्रमा संकुचन आउने कुरा उल्लेख गरेको छ । बैंकले यो सबै अनुमान सन् २०१८ को नेपालको कुल गार्हस्थ उत्पादन (GDP) २९ बिलियन अमेरिकी डलर मानेर गरेको कुरा उल्लेख गरेको छ । त्यसैगरि ADB ले कोरोनाको महामारीको कारण होटेल तथा रेष्टुरेन्ट ब्यबसायमा ०.०३ % अथवा ८ मिलियन अमेरिकी डलर देखि ०.८ % अथवा २४.०७ मिलियन अमेरिकी डलर सम्मले संकुचन आउने कुरा उल्लेख गर्दै सबै क्षेत्रमा गरेर ५२१० देखि १५,८८० जना व्यक्तिले रोजगारी गुमाउने खतरा रहेको कुरा समेत ब्यक्त गरेकोछ । यी सबै प्रक्षेपणहरु र सरकारले गरेको सर्ट डाउनको कारण अर्थतन्त्रका प्राय: सबै क्षेत्रमा नकारात्मक असर परिसकेको छ र यो जति छिटो नियन्त्रणमा आउदछ त्यसको आधारमा क्षतिको न्यूनीकरण हुने कुरामा आशाबादी हुन सकिन्छ । अब हेर्नुछ कि सरकारले यो महामारीबाट जनता र अर्थतन्त्रलाई जोगाउनको लागि कस्ता खालका राहत प्याकेज, योजना र नितिहरु अगाडी सार्दछ त्यसैमा नै देशको भबिष्य निर्भर रहन्छ ।

एशियाली बिकास बैंकका प्रमुख अर्थशास्त्री यासुकी सावडाले भने जस्तै यो महामारीले भबिष्य अनिश्चित तुल्याईदिएको छ  । यो अवस्था कति लामो समय सम्म रहन्छ भनेर कसैले अनुमान गर्न सक्ने अबस्था अहिलेलाई देखिदैन । त्यसैले पनि अबको मन्दी सन २००८ मा देखा परेको विश्वव्यापी आर्थिक मन्दि भन्दा अझै गम्भीर र चुनौतीपूर्ण हुने कुरामा कुनै द्विविधा रहेन । 

विकासोन्मुख देशहरुले यसबाट पार पाउनका लागि स्वास्थ क्षेत्रमा खर्च बढाउने, सामाजिक सुरक्षाका क्षेत्रमा लगानी वृद्धि गर्ने, निजि क्षेत्रलाई आबश्यकतानुसार सघाउने, महामारी प्रभावितलाई राहत प्याकेज वितरण गर्ने, विपन्न परिबारलाई जिबन यापनमा सघाउने लगायतका उपायहरु अबलम्बन गर्नु उपयुक्त हुने देखिन्छ ।

*अध्यक्ष: सहकारी अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल