रोगी पृथ्वी र बिमार मान्छेहरू


हरेकपल April 2, 2020

कोरोना सङ्क्रमणबाट सुरक्षित रहन सरकारले सिङ्गै मुलुक लकडाउन गरेपछिको तेस्रो दिन, बिहान छिप्प्दिैगर्दा छोरी गोधूलिले भनी ׳बिलगेट्सले कोरोनाबाट सिक्नुपर्ने पाठ भन्दै निकै राम्रो शिक्षा दिएका रहेछन् नि पढ्नुभो हजूरले ? । पढेको छुइन, भनी मैले भनेपछि एउटा महत्वपूर्ण जानकारी पाउने अवसरबाट म वञ्चित भइरहेको ठान्दै हतारहतार उसले यूट्यूव खोलेर सुन्न लगाई ।
कविता लेख्न सल्बलाईरहेको कलमलाई टक्क अड्याउँदै म यी चर्चित व्यक्तित्वका भनाइ ध्यानपूर्वक सुन्न थालें । बिलगेट्सको अंग्रेजी उच्चारण सबै राम्ररी बुझ्न सकिरहेको थिइन । र पनि उनको आसय धेर थोर ठम्याउने कोशीस गरिरहेँ । अंग्रेजी उच्चारणको बुझाईमा म केही कमजोर छु भन्ने छोरीलाई राम्ररी थाहा छ , त्यसैले यस्ता आवश्यक सामग्री मैले सुनिसकेपछि यदाकदा ऊ मलाई राम्ररी अथ्र्याइदिने पनि गर्छे ।

कोरोनाबाट सृजित वर्तमान अवस्थाकै जस्तो दृश्य परिकल्पना गरेर ९ वर्ष अघि बनाइएको कन्टेजीयन नामको चलचित्र हिजो राती हेर्दै गर्दा पनि मैले राम्ररी ठम्याउन नसकेका कतिपय सम्बादहरूलाई उसले राम्ररी अथ्र्यउँदै बुझाएकी थिई ।

बिलगेट्सको यो प्रस्तुतिले मेरो ध्यान राम्रैसँग तानिरह्यो । उनको धारणा बारे अझ प्रष्ट हुनुप¥योे भन्दै यसलाई दोहोरयाएर सुन्ने तर्खर गर्दै थिएँ । यसैबिच मेरा शुभेच्छुक मित्र एवम लघुवित्तकर्मी राजेश शर्माबाट एउटा लिन्क प्राप्त भयो । सम्झिएँ राजेशजीले पनि साबुनपानीले हात धुने , घरबाहिर ननिस्कने र घरको सीमारेखा नाघेर बाहिर गएमा सीतालाई रावणले हरेर लगेजस्तै कोरोनाले लानेछ भन्ने सन्देशसहितको सबैबिच घुमीफिरी भैरहेको त्यही थोत्रो क्लिप पठाउनुभयोे ।

यसपटक भने मेरो अनुमानले फेल खायो । राजेशजीले पठाउनुभएको लिन्कको शीर्षकमा लेखिएको थियो ׳संसारलाई बिलगेट्सको मार्मिक खुलापत्र ’׳ । क्या मजा, जे चिज जुन बेला चाहिएको हो ठ्याक्कै त्यही समयमा प्राप्त भयो । साझापोस्ट अनलाइनमा नेपालीमै अनुदित भएको यो सामग्री यसरी फेला पारेपछि त, बिलगेटसका कुरा अझ प्रष्टसँग बुझ्न पाएँ ।

विद्यमान कोरोना त्रासबाट पाउनुपर्ने शिक्षा सम्बन्धमा उनले १४ वटा बुँदा मार्फत आफ्ना धारणा राखेका रहेछन् । सबै बुँदालाई माथिदेखि तलसम्म राम्ररी हेरें । सबै उत्तिकै गहकिला । तर उनले उल्लेख गरेका दुईवटा कुराले भने मेरो मनलाई अलि ज्यादै छोयो । एउटा बुँदामा वन विनाश गर्ने हाम्रो प्रवृत्तिलाई आंैल्याउँदै उनले भनेका रहेछन् “अहिलेको घटनाले पृथ्वी बिमारी छ भन्ने कुरा प्रष्ट पारेको छ , अर्थात् हाम्रो घर नै बिमारी भएका कारण हामी पनि बिमारी छौं । ”

यसैगरी अर्काे बुँदामा उनी भन्छन् “यो कोरोना भाइरसलाई रहदानी नचाहिने हुँदा हामीले बनाएको झूटो सीमाको कुनै अर्थ रहेन । संसारमा दमनमा बाँचिरहेकाहरूको अवस्थालाई यसले सम्झना गराएको छ ।

बिलगेट्सले भनेजस्तै, प्रष्ट देखिने वा औपचारिक मार्गबाट प्रवेश गर्नेहरूलाई पो राहदानी चाहिन्छ त, । नियम कानून भनेको त, आँखा छली फट्याई गर्न नसक्नेहरूका लागि न हो । आँखैले नदेखिने यी सूक्ष्म जीवलाई त,देशको सीमाभित्र मात्र होइन आफ्नै सवारी साधन र झोलाझ्याम्टादेखि लिएर घरको मूल ढोका, बैठक,भान्सा र थालबटुका हुँदै सिङ्गो शरीरमाथि प्रवेश गर्न समेत कसको आज्ञा र स्वीकृति चाहिँदोरहेछ र ? जनसाधारणका आँगनदेखि लिएर कडा पर्खाल र पाले पहराले घेरिएका राजघरानाका सिंहासनसम्म पनि यिनको प्रवेशलाई कसले रोक्न सक्दो रहेछ र ।

कति सजिलै यिनीहरू मान्छेले प्रयोग गर्ने सरसामग्री हुँदै सिङ्गै शरीरमा समेत चढेर रज्याइँ गर्न सकेका । कुनै मृत जीवको शरीरभरि कीरा कमीला झिँगा,उपियाँ झुम्मिएको त देखिएको हो । तर यी नदेखिने कीराहरू त, गाउँघरतिर भैसीका गर्दन र डडेल्नोमा रमाउँदै चढेका गाउँका भुराभुरीको समूहझैँ ज्यूँदै मान्छेका शरीरमाथि चढेर सक्दो रज्याईँ पो गर्दा रहेछन् , कस्तो अचम्म ।


यिनीहरूको महादेशीय यात्रा पनि बडो सहज हुँदोरहेछ । कसैका झोलामा,पर्समा,रुपैयाँ पैसामा,खानेकुराका बट्टामा,उपहार पाएका सामग्रीमा,जहाजको टीकट र पासपोर्टमा जहीँ पनि यिनीहरू लुसुक्क छिर्ने र टसमस नगरी बसिरहने गर्दारहेछन् । हामीले सारै जतन गरेर शरीरमै टाँसेर राख्ने वा प्रयोग गर्ने चिजवस्तुभित्र कुन बेला कसरी लुसुक्क छिरेका हुन् पत्तै पाइदो रहेनछ । यिनको हर्कत पनि कहाँसम्म भने हामीले लगाउने भित्री बाहिरी लुगाहरूलाई पनि यिनले आफ्नो वास बस्ने काइदाको ठाउँ बनाएका हुँदारहेछन् । अनि त बिलगेट्सले भनेझैँ किन चाहिन्थ्यो र यिनीहरूलाई राहदानी । ठाउँठाउँमा चेकजाँच हुने भन्सार र इमिग्रेशनका अवरोधहरूले के रोक्न सक्थ्यो र यिनीहरूलाई । अनि त उनै अन्तर्राष्ट्रिय फ्लाइटहरूबाट हुर्रर एक महादेशबाट अर्काे महादेशसम्मको यात्रामा एकै दिनमा किन पुग्दैनथे यिनीहरू ।

तस्करहरूले कहिले औषधीका बट्टामा हालेर,कहिले जुत्ता र मोजाभित्र पोकोपारेर, कहिले खेलौनाभित्र घुसाएर त कहिले मलद्वारमै लुकाएर अनेकथरी अवैध बस्तु भित्र्याउन सफल भएको त थाहा थियो । यिनीहरू त, त्योभन्दा पनि पो ज्याद्रो रहेछन् । हो पनि, मानव अस्तित्वलाई नै सखाप पार्ने महान युद्धकलाका साथ यत्रो महायात्रामा जुटेका यी सूक्ष्म जीवको सामथ्र्य मान्छेको भन्दा शक्तिशाली किन नहोस् पनि । आखिर हामीलाई मास्न भनेर लुकी लुकी आक्रमण गर्न सीपालु शत्रुहरू यस्ता कुनै न कुनै उपाय गरेर नभित्री कहाँ छाड्थे र । दश वर्षे जनयुद्धमा एकथरी योद्धाले अर्काथरीलाई लुकीलुकी प्रहार गरेर विनाश गरेजस्तै त रहेछ नि मानव विरुद्धको यो जीवाणु युद्ध ।
׳आफ्नो घर स्वस्थ्य भए हामी स्वस्थ्य हुन्छौ । घर नै फोहोर छ वा बिमार छ भने हामी पनि फोहोरी वा बिमारी हुन्छौ । ’ प्राथमिक कक्षाका बालकहरूलाई खूव रटाइन्छ यो कुरा ।

प्राथमिक कक्षाको घेराभित्र रहेको उनको मष्तिस्कको आयतनले त्यसबेला त, घर भनेको वाउआमालाई दङ्ग्याएर बस्नेगरेको खर, जस्ता वा सिमेन्टले छाएको आवास र त्यससँगै रहेको आँगनको सानो घेरा मात्र सम्झिदो हो । जब सोचाइको परिधि फराकिलो बन्दैजान्छ त्यसपछि भने घरको व्यापक अर्थ बुझ्न उनीहरूलाई गाह्रो हुँदैन । हामी मेची महाकालीको सीमाभित्र रहेको सिङ्गो देशलाई आफ्नो घर भन्ने गथ्र्याै । वाल्यवस्थादेखि नै साइबर संसारको आदतमा हुर्केको आजका पुस्तालाई त,सिङ्गो पृथ्वी एउटा साझा घर रहेछ भनेर बुझाइरहनु नै पर्दैन । समय पाए भने धेरै कुरा उनीहरूले उल्टै हामी बूढापाकाहरूलाई नै बुझाइदिन्छन् । तर आजसम्म हामीले उनीहरूलाई बुझाउनमा विलम्ब गरेको विषयचाहिँ पृथ्वीको रक्षा कसरी गर्ने भन्ने हो । यो धरती मान्छेको मात्र नभएर सबै जीव र वनस्पतिहरूको साझा घर हो भन्ने बारेमा बेलैमा सचेतना जगाउन नसकेकै कारण यहाँका धेरै जैविक पदार्थले मानवीय दमन र वलमिच्याइको पीडा खेप्नुपरेको छ । बिलगेटसको भनाइले पनि यही यथार्थतालाई निकै भारी मनले उजागर गरेको प्रष्ट देखिन्छ ।

कोरोना महामारीले स्वेच्छिक एकान्तवासको बाध्यात्मक अवस्था सिर्जना गरिदिएपछि धेरै मान्छेहरूले सरकारको आज्ञा पालन गर्दै यो समयलाई पुस्तकहरू पढ्ने काममा उपयोग गरेको देखिन्छ । यही मेसोमा दराजमा धेरै अघिदेखि थन्किएका पुस्तकहरूले मलाई पनि बल्ल पाठकको रूपमा देख्न पाएका छन् । कोरोना आतङ्कलाई विषय वनाएर लेखिएका विविध रचनाहरू पनि सामाजिक सञ्जालमा देखापर्न थालिसकेका छन् । भेटेसम्मका त्यस्ता साहित्यिक सिर्जना नविराई पढ्ने गर्छु । कवि प्रल्हाद पोखरेल र सुदीपभद्र खनाल (हाल,अमेरिका)ले छन्दका धागामा कोरोना कहरलाई मज्जाले उनेर सिर्जना गरी पठाउनेगरेका छन् । ती दुबैका रचनालाई रमाई रमाई पढ्ने गर्छु । मुक्तककार रमेश पौडेल र वियोगी बुढाथोकीले पोष्ट गर्नेगरेका कोरोना सम्बन्धी गीत र मुक्तक पनि स्वादिला लाग्छन् ।

सप्ताहव्यापी लकडाउनको पाँचौ दिन पोखराका कवि तीर्थ श्रेष्ठले आफ्नो फेसबुकमा पोस्ट गर्नुभएको ׳लयमा׳ भन्ने शीर्षकको एउटा ताजा कविताका पङ्क्तिहरूले भने मनको भित्री तहलाई त्यसैगरी छोइरह्यो जसरी बिलगेटसका भनाइले छोएको थियो ।

׳सबै कुरा लयमा हुँदा
प्रलयको सम्भावना टाढा हुन्छ
जब लय भत्कन्छ गीतहरु बेसुरा हुन्छन् ’׳

हो पनि, जब धागो कमजोर बन्छ वा मक्किन्छ त्यसपछि धागामा उनीएका फूलका थुँगाहरू किन छरपस्ट हुँदैनथे होला र ? लय र प्रलयको यो बिम्बात्मक प्रस्तुतिलाई पाठकले नबुझ्लान कि भनेर होला कवि श्रेष्ठ आफ्नो कलमलाई अझ सरल तुल्याउँदै लयको अर्थलाई यसरी प्रष्ट्याइ पनि दिन्छन् ।

׳पहाडका छातीहरू नाङ्गो हुनु लय भत्कनु हो
जङ्गल मासिनु,जनावरहरू मान्छेसँग भयभीत हुनु
र चराहरूले वास बस्न रुखका हाँगाहरू नभेट्नु
लय भत्कनु हो’

मुलुक लकडाउन भएको तेस्रो दिन मैले पढ्न पाएको बिलगेटसको अभिव्यक्तिमा उल्लेखित पृथ्वी सङ्क्रमित भइरहेको कुरा र पाँचौ दिन कवि तीर्थ श्रेष्ठले फेसबुकमा पोस्ट गर्नुभएका यी काव्यात्मक पङ्क्तिले दिएको सन्देश एउटै रहेछ । दुबैजना एउटै पीडामा उत्तिकै रोएका रहेछन् । कोरोनाको संक्रमणबाट त,दुबै मुक्त देखिन्छन् तर प्रकृतिप्रतिको चिन्ताकोे सङ्क्रमणले भने दुबैलाई मज्जाले छोएको रहेछ ।

प्राविधिक ज्ञानका ज्ञाता भएर पनि विल गेटसले प्रकृतिप्रतिको चिन्तालाई विम्ब र प्रतीककै सहारा लिएर साहित्यिक स्वादमा पस्केजस्तो लाग्यो भने अर्कातर्फ हाम्रा तीर्थ दाइले यो धरती बिमारी भएको त्यही सत्यलाई सरल शब्दाबलीमा तर पाठकको मन छुने गरी व्यक्त गरेजस्तो लाग्यो । यसरी एक स्रष्टाको अभिव्यक्तिलाई अर्का व्याख्याताको भनाईसँग गाँसेर हेर्न पाउँदा पाठकीय आनन्द राम्रैसँग प्राप्त हुँदोरहेछ । संभवत, मेरा लागि लकडाउन नामको एकान्तवासले प्रदान गरेको यो स्वादिलो अवसर हो ।

जसले जुन भूगोलमा उभिएर जस्तो शब्द र शैलीमा व्यक्त गरे पनि पृथ्वी सङ्क्रमित भएको कुरा हामी सबैको सामूहिक अभिव्यक्ति हो । इबोला भाइरस र कोरोनाहरू त्यही सङ्क्रमण उछि«एर बनेका घाउखटिरा हुनसक्छन् । अघिल्लो शताब्दीमा देखापरेको प्लेगलगायतका महामारीहरू पनि प्राणी र वनस्पतिबिचको सन्तुलित चक्रमा देखापरेको खल्बलबाट उत्पन्न प्रकोपहरू हुनसक्छन् ।

हामी बाँचेको भूगोललार्ई सङ्क्रमणको अवस्थासम्म पुर्याउने प्रमुख पात्रचै हामी मानव समुदाय स्वयं हौं भन्नुपर्दा अप्रिय त लाग्न सक्छ तर यो सत्यलाई स्वीकार्नैपर्ने अवस्था छ । यो तथ्यलाई आत्मसात गर्दै हामी छिटै त्यही पुरानो लयमा फर्कन सकौं र कवि श्रेष्ठका कविताले भने जस्तै प्रलयको सम्भावनालाई टाढा टाढा पन्छिएको देख्न पाउँ । पृथ्वी त, डाइनासोरहरू रित्तिदा पनि बाँचेकै छ र हामी नभए पनि राम्रैसँग बाँच्छ तर पृथ्वी नै रोगाइरह्यो भने हामी चै कसरी निरोगितापूर्वक बाँचौला ?