रामनवमीका अवसरमा रावणीय शासकप्रति शुभकामना


हरेकपल April 2, 2020

आज श्रीरामनवमी तिथि, हिन्दूधर्मावलम्वीको विशेष पर्व, भगवान् श्रीरामचन्द्रको जन्मोत्सव , पावन तथा पवित्र दिवस, सर्वप्रथमतः रामजन्मोत्सवका अवसरमा समस्त आदर्श पथानुगामी सनातनी सज्जन तथा समस्त पृथिवीनिवासी मानवसमुदायप्रति वैश्विक महामारी कोरोनारोग निराकरण सामर्थ्य सम्प्राप्तिपूर्वक सुस्वास्थ्यको मङ्गलमय शुभकामना । साथै तत्सामर्थ्य सर्वतन्त्रस्वतन्त्र श्रीभगवानले सबैमा प्रदान गरून् भनी उनै श्रीरामचन्द्रप्रति समभिनन्दनपूर्वक सम्प्रार्थना ।

जतिबेला अधर्मको प्रावल्य र धर्मको ह्रास हुँदै जान्छ त्यतिबेला भगवानले विभिन्न स्वरूपमा यश धरामा अवतार लिनुहुन्छ ; जसलाई स्वयम् भगवान श्रीकृष्णले श्रीमद्भगवद्गीतामा अर्जुनलाई बताउनु भएको छ –

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ! अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।४/७ । परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय संभवामि युगे युगे ।।४/८ ।

अवतारका विशेष शर्तहरू छन् ; राक्षसी दुर्जन चरित्रको विनाश,साधुसज्जनको रक्षा एवम् अधर्मको नाशपूर्वक धर्मको स्थापना । यिनै प्रयोजनपूर्तिका लागि समय समयमा भगवानले अवतार लिने अास्था,श्रद्धा,विश्वास र भरोसामा हामी बसेका छौँ र दुःखसहनपूर्वक पनि बाँचेका छौँ, जस्तै अफ्ठ्यारा परिस्थितिमा पनि टिेकेका छौँ ।

जुनबेला आततायी रावणद्वारा राज्यमा पुरै आतङ्क मच्चिरहेको थियो,ऋषिमुनि,साधक,चिन्तक,दार्शनिक एवम् धार्मिक सबै सज्जन पिरोलिरहृका थिए,एकप्रकारको त्रासदीपूर्ण भयावहपूर्ण उकुसमुकुसको निसासिँदो वातावरण समाजमा देखा परिरहेको थियो , रावणका भयले धार्मिक समुदाय किङ्कर्तव्यविमूढ बनिरहेको थियो, प्रायः धर्माचरणशून्य स्थिति एवम् अधर्मले बाँस गर्दै थियो र सबै राजा-प्रजा पथभ्रष्टता तथा धर्मविमुखतातर्फ अभिमुख हुँदै थिए त्यसैबेला समाजमा सबैप्रकारका आदर्श तथा मर्यादारूपी धर्म संस्थापना गर्ने उद्देश्यले आजकै विशेष तिथिमा जानकीपति दाशरथी श्रीरामचन्द्र यस धराधाममा अवतीर्ण भई लोकभारहरण तथा लोकोपकरण गर्नुभएको हो भन्ने हामी सबैलाई अवगत नै छ। जुन तथ्यका लागि संस्कृत वाङ्मयका शास्त्रहरू तथा विशेषगरी रामायण पुराण सर्वोपरि प्रमाढका रूपमा हाम्रा सामु समुपस्थित छ। जसको अध्ययन-अध्यापन,श्रवण,मनन,निदिध्यासन तथा अनुसरण र अनुगमन गर्न सकृ आजपनि हामी रामराज्य स्थापना गर्न सफल हुनेछौँ,समर्थ हुनेछौँ।

नीतिसम्मत ढङ्गले देश-काल-वातावरण अनुरूप देश र जनताको हितलाई सर्वोपरि स्वार्थ ठानेर शासन गर्नु नै रामराज्यको मुख्य अभिलक्षण तथा वैशिष्ट्य हो। जहाँ शासक मनोमानी ढङ्गले नभई जनभावना अनुसार चल्छ,त्यहाँ नै रामराज्य रहन्छ। लोकापवाद तथा जनताको विरोधबाट जहाँ शासक डराउँछ,त्यहाँ रामराज्य हुन्छ । जहाँ झुटको खेती हुँदैन,सत्यको नै जय हुन्छ,त्यहाँ रामराज्य हुन्छ। जहाँ वाक्स्वतन्त्रता रहन्छ वा जनमतको कदर गरिन्छ,त्यहाँ रामराज्य हुन्छ । जनमतको कदरको उदाहरणका लागि सामान्य धोवीका श्रीमान्-श्रीमतीको कलहका क्रममा श्रीराम र सीताको चरित्रमाथि गरिएको आशङ्का तथा विरोधलाई लिएर श्रीरामले बदलाको भावना लिएनन्।बरू उनी पत्नीवियोगको ज्वालामा जीवनभर जलिरहे,वेदनामा व्यथित भइरहे। नबुझीकन विधर्मीले यसैलाई लिएर जति आरोप र लाञ्छना लगाएपनि जनताकै खुसीका लागि सतीस्वरूपा पत्नीलाई त्याग्न उनी विवश भए । व्यक्तिगत सुखसुविधा तथा स्वार्थलाई तिलाञ्जलि दिएर सामाजिक तथा राष्ट्रिय सेवामा समर्पित भए। त्यसैले त श्रीराचन्द्र आदर्श राजा तथा प्रजाप्रेमी शासकका रूपमा सम्पूजित तथा समादृत भइरहे ।

हाम्रा देशका सत्तासीन शासक तथा सम्पूर्ण नेतृत्वले श्रीरामचन्द्रबाट यही जनभावना अनुरूपको शासनकलाबाट प्रेरणा वा शिक्षा लिन सके आज पनि रामराज्य स्थापित हुनसक्छ । ´म खाऊँ मै लाऊँ सुखशयल वा मोज म गरूँ ! म बाचूँ मै नाचूँ अरु सब मरून् दुर्बलहरू!`को राक्षसीस्वभाव प्रदर्शन गर्दै भ्रष्टाचारको दलदलमाफसेका नेपाली शासकहरूले छिट्टै नै रामचन्द्रबाट आदर्श शासनप्रणालीको शिक्षा लिएर सच्चियून्,भ्रष्टमति सुधारून्,जनचाहना बमोजिम आफ्ना कदम अघि बढाउन् नत्र एउटामात्रै रामले जन्म लिने त होला नि , त्यसलाई त हामीजस्ता सयौँ रावण मिलेर हराइहाल्छौँ नि भन्ने सोचाइ अब नपाले हुन्छ । तिमीले चुनावका बेला भाषणका क्रममा शब्दमा मात्र जप्ने गरेका ३ करोड जनता जनार्दन नै श्रीरामका रुपमा देखापर्ने छन् र स्वार्थी शोषक दुष्ट तिमीजस्ता रावणराक्षसलाई सखाप पार्नेछन्,अस्तित्वविहिन अवस्थामा अतीतको गर्तमा मिल्काइ दिनेछन् ! होसियार ! बेलैमा सचेत बन! एक सचेत र राष्ट्रभक्त नागरिकका तर्फबाट अाजको रामनवमीको पावन अवसरमा तिमीलाई शुभकामना ।

सिक्ने नै हो र सुध्रिने नै हो भने श्रीरामचन्द्रबाट हामीले जीवनोपयोगी धेरै कुरा सिक्न सक्छौँ । पारिवारिक जीवनशैलीदेखि लिएर राज्यशासन पद्धति सिक्न सक्छौँ । भगवान रामबाट हामी सबैले सिक्नु पर्ने एउटा गुण हो-यो संसारमा सबै समान छन् , कोही सानो र ठूलो छैन । त्यसलाई रामले शवरीको हातबाट जुठो बयर खाएर पुष्टि गरे । त्यसैगरी ´संघे शक्ति कलौ युगे`अर्थात् जनसमूह(सङ्गठन) नै सबैभन्दा ठूलो शक्ति हो जसद्वारा जस्तोसुकै शक्तिशालीलाई पनि सहजै परास्त गर्न सकिन्छ भन्ने सत्यलाई श्रीरामले वनबासका युद्ध गर्नुपरेका बेला अयोध्या तथा जनकपुरबाट सहयोगको आवश्यकता देखेनन् बरू त्यहीँका वन्यजन्तुलाई सङ्गठित गर्दै अघि बढे,त्यसबेला सुग्रीव , जटायु , हनुमान ,बाँदर अादिसँग घनिष्ठ मैत्री सम्बन्ध विस्तार गर्दै शक्तिसञ्चय गरी रावणजस्तो शक्तिशाली राक्षसलाई परास्त गर्न श्रीराम सफल भए । यतिबेला हाम्रा शासक पनि विदेशी प्रभुका गुलाम बन्न छाडेर आफ्नै देशका साधन र स्रोतको सदुपयोग गर्दै देशका जनतालाई सचेत , जागरुक तथा समाजसेवाका लागि सङ्गठित एवम् महामारीप्रकोप नियन्त्रण र निराकरणका लागि एकजुट बनाई अघि बढ्ने हो भने विश्वमा जस्तोसुकै महामारीका रूपमा फैलिए पनि कोरोनारूपी राक्षसलाई सहजै परास्त गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण शिक्षा आत्मसात गरीअघि बढ्नु आजका लागि राष्ट्रको मूलभूत आवश्यकता , अपरिहार्यता तथा महत्तम उपलव्धी हुनेछ ।

जनताका इच्छा,आकाङ्क्षा र आवश्यकता अनुरूपको विकास, समृद्धि, स्वतन्त्रता, सुरक्षा, निर्भयता, समानता रहनु रामराज्य हो भने जनचाहना विपरीत ह्रास, अवनति, पराधीनता, निरङ्कुशता अादि हुनु रावणराज्य हो । अहिले हामी रामराज्य वा रावणराज्य कतातर्फ अभिमुख भइरहेका छौँ ? शासक तथा सचेत जनसमुदायप्रति म सविनय प्रश्नमात्र उपस्थापन गर्न चाहन्छु । अन्तमा – आदर्श शासक(राजा),आदर्श पुत्र,आदर्श मित्र, आदर्श शिष्य,आदर्श भ्राताका अनुपमेय मर्यादापुरुषोत्तम श्रीरामचन्द्रप्रति पुनःपुनः नमन गर्दै जनताबाट शोषण गरेर जम्मा गरेको राज्यढुकुटी नै स्वाहा पार्ने नेपाली शासक तथा नेतृत्ववर्गलाई थोरै भएपनि विपद्का समयमा जनताको पिरमर्का बुझ्ने र चहर्याइरहेको घाउमा मलमपट्टि लगाउने सद्बुद्धिको आधान गरिदिन अनुनय गर्दछु । पुनश्च ´जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी`राष्ट्रियताको मन्त्र घोकाइदिन र अमर देशभक्तिको भाव जगादिन उनै राष्ट्रवादी तथा प्रजाप्रेमी मर्यादापुरुषोत्तम भगवान् श्रीरामचन्द्रप्रति सादर समभिवन्दना तथा प्रार्थना समर्पण गर्दछु !!ॐ!!