काठमाडौं, २० चैत । भारतीय सीमाबाट नेपाल आउन चाहने नेपालीलाई प्रवेश गराउन आदेश माग गर्दै अधिवक्ता मनीषकुमार श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिएन ।
भारतबाट नेपाल आउन चाहने नेपालीहरू सीमामा अलपत्र परेको भन्दै उनीहरूलाई प्रवेश दिनुपर्ने जिकिरसहित सर्वोच्चमा रिट परेको थियो ।
न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले रिटका दुवै पक्षलाई २४ गते छलफलमा बोलाएको छ । अदालतले दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने भएको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ– प्रस्तुत निवेदनको संवेदनशीलतालाई मध्यनजर गरी दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेशको सन्दर्भमा निर्णय गर्न उपयुक्त हुने देखिएकोले चैत २४ गते अन्तरिम आदेश छलफलको पेसी तोकी प्रस्तुत निवेदन नियमाअनुसार पेस गर्नू ।
यसअघि अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले सीमा बन्द गर्ने र अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय विरूद्ध दिएको रिटमा पनि छलफल सुनेर मात्र अन्तरिम आदेश दिने सर्वोच्चले जनाएको थियो ।
विश्वभर फैलिएको कोरोना संक्रमणलाई रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि नेपालभारत सीमामा अत्यावश्यक सामग्रीका मालवाहक गाडीबाहेकको आवतजावतमा रोक लगाएको छ ।
नेपालमा कोरोनाको दोस्रो संक्रमित व्यक्ति भेटिएपछि मुलुकभरि १५ दिन लकडाउन गर्ने घोषणा पनि सरकारले गरेको छ ।