गाह्रो साँघुरोमा जनतालाई साथ दिने भनेको नै स्वतन्त्र प्रेसले हो


हरेकपल April 3, 2020

विश्वको अहिलेको अवस्था हेर्दा कोरोनाको कहरको अन्त्य कहिले हुने भन्ने कुनै अनुमान पनि कसैले गर्न सकेका छैनन् । आजको कारोना कहरको वारेमा जनतालाई सुसूचित गर्ने भनेको स्वतन्त्र पत्रकारिताले हो जहाँ अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति छ । यदि स्वतन्त्र पत्रकारिता नभएको भए सायदै विश्वले यति छिटै जानकारी पाउँथ्यो र जोजो सतर्क हुन पाएका छन्, त्यसमा पक्कै नै प्रेसको महत्व बढेको देखियो । तर विश्वमा नदेखिएको नयाँ वैश्विक अवस्था अहिले छ -पूरै विश्व बन्दाबन्दीमा छ , लकडाउनमा जकडिएको छ ।

स्वतन्त्र प्रेसलाई चलाउन थालियो भने अहिलेको समाचार पनि बन्द हुनेछ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री डाक्टर अमत्र्य सेनले एकपटक प्रजातन्त्रको विशेषताका सम्बन्धमा भनेछन् – प्रजातन्त्रमा कोही पनि भोकै मर्ने छैनन् , कोही पनि भोकै मर्नु पर्दैन । अनि श्रोताहरुले सोधेछन्—तपाईँको देश भारतमा नै धेरै मानिसहरु भोकै मर्छन् प्रत्येक वर्ष अनि तपाईँ कसरी भन्नुहुन्छ कि प्रजातन्त्रमा कोही पनि भोकै मर्दैन ? अनि सेनले भनेछन्यो- कुरा तपाईँले कसरी थाहा पाउनु भयो कि मेरो देशमा धेरै मानिसहरु भोकै मर्छन् ? अनि श्रोताहरुले भनेछन्- हामीले पत्रिका पढेर , रेडियो सुनेर र टेलिभिजनमा देखेर । अनि सेनले मुस्कुराउँदै जबाफ दिएछन्—त्यही त प्रजातन्त्र हुनाले प्रेस स्वतन्त्र रह्यो , जानकारी दियो अनि सरकारले पनि त्यसठाउँमा खानाको व्यवस्था तत्कालै गर्यो,जसरी पनि लगेर ख्वायो । अहिलेको अवस्था पनि त्यही हो ।

नेपालमा प्रजातान्त्रिक व्यवस्था छ । नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको लागि निर्वाधरुपमा प्रयोग गर्ने प्रत्याभूति दिएको छ । साह्रै ठूलो आन्दोलन र दुःखले प्राप्त गरेको प्रजातन्त्र र नयाँ संविधानको दुरुपयोग हुने गरी कुनै कानुन बनाउन पाइने छैन अर्थात् संविधानका धारणाविपरीत कुनै नियम बनाउन पाइँदैन र संविधानसँग बाझिएको हदसम्मको नियम कानुन स्वतः खारेज हुने व्यवस्था पनि संविधानमा नै छ ।

एकप्रकारले विश्व नै अहिले आपतकालको अवस्थामा छ र प्रत्येक देशमा सङ्कटकालको जस्तो अवस्था देखिएको छ । भनिन्छ-चीनमा अब नयाँ संक्रमितहरुको संख्या न्यून देखिएको छ र बिसेक भएर घर जानेहरु धेरै भएका छन् । विभिन्न सञ्चार माध्यममा देखिएको र चीनले दिएको जानकारी भनेर लेखिए अनुसार अहिलेसम्म (यो समीक्षा तयार गर्दासम्म)३,३१२मात्र चिनियाँ नागरिकहरुको संक्रमणबाट मृत्यु भएको छ जवकि पछि संक्रमण सुरु भएका देशहरु इटाली, स्पेन, अमेरिका, फ्रान्स जस्ता देशहरुमा मृत्यु हुनेका संख्या चीनको भन्दाअ बढोत्तरी भएको आँकडा देखिन्छ । युरोप र अमेरिका नै कोभिड -१९को केन्द्रीय स्थान हुन थालेको देखिन्छ ।

हाम्रै नेपालमा पनि संक्रमितहरुको संख्या यी हरफ लेख्दासम्म ५ जनामात्र हो र जति पनि संक्रमितहरु छन् , तिनले बाहिर देशबाट नेपालमा आउँदा अरुबाट संक्रमित भएर नेपालमा विषाणु बोकेर आएका हुन् । बरु प्रेसको प्रचारले नै तिनीहरुले आफू संक्रमित छु कि भनेर आफैँ जँचाउन गएका हुन् । ती सचेत नागरिक हुन् र तिनलाई सचेत गराएको पनि स्वतन्त्र समाचारको माध्यमले हो ।

कसैले भन्यो कि त्यो हवाइजहाजबाट आउनेलाई त कोरोना भाइरसले भेटेको रहेछ नि, हामीले समाचारमा थाहापाएको अनि शङ्कामा आफ्नो ¥याल र खकार जँचाउन गएका हुन् । ती मध्ये एकजनाचाहिँ कोरोनाबाट मुक्त भएका छन् लरे भनेर पनि हामीले सञ्चारबाट नै थाहा पाएका हौँ । सायद ती उपचाररत चार जना पनि छिटै निको भएर घर आउने अपेक्षा गरेका छौँ किनभने उनीहरुको स्वास्थ्य अवस्था सन्तोषजनका छ भनेर पनि हामीले समाचारबाट नै थाहा पाएका हौँ ।
यी सबै जानकारी हामीले स्वतन्त्र सञ्चारको योगदानका कारणले पाएका हाँैँ । हाम्रै नेपालमा पनि आम सञ्चारका माध्यमले नै अहिलेसम्मको सरकारी प्रयासलाई सकारात्मकता दिन सकेका छन् । यो बेलामा तर संसारभर त्यही प्रेसलाई संकुचनमा राख्ने या प्रेसलाई यही आपतकालीन अवस्थाको बहानामा प्रतिशोध लिने काम हुन थालेको छ । कृपया स्वतन्त्र प्रेसको घाँटी थिच्ने वा घाँटी निमोठ्ने काम यो संक्रमणकालमा भयो भने यो नयाँ तर अदृश्य रोगले अरु भयावह अवस्था आउन सक्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा पनि के देखिएको छ भने स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजिएको छ सजिलो बेलामा पनि भने अहिले झन त्यसमा अरु नियन्त्रणको प्रयास बढाउन खोजेको देखिन्छ । यदि स्वतन्त्र प्रेस नभएको भए सरकारले या जिम्मेवार व्यक्तिहरुले जेजेमा अडान लिएका थिए तर प्रेसले गलत भएको जानकारी दिएको थियो, ती ती कुराहरु सही साबित भएर सरकारले कार्बाही गरेको प्रमाण अहिलेको चीनबाट ल्याएको स्वास्थ्य सामानका वारेमा स्पष्ट भएको छ । यदि प्रेसले नबोलेका भए योभन्दा पहिलेका पनि कतिपय कुराहरुमा सरकारले या सरकार संरक्षित मानिसहरुले होइन त भनेका नै थिए । तर पछि त्यही सही निस्कियो र कार्बाही गर्न सरकार बाध्य भएको छ । ची्नबाट आउँदै गरेका सामानसमेत चीनले रोकेर राख्यो । किन होला ? ओम्नी समूहलाई किन कालो सूचीमा राख्यो होला सरकारले र आफ्नो सम्झौता तोडेर उल्टै ५ करोड धरौटी रकम जफत गरेको होला ? यदि यी कुराहरु बाहिर प्रेसले नल्याएको भए ???

अनि सरकार र सरकार संरक्षित सँस्थाहरु संविधानले दिएको नागरिक हकअन्तर्गतको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी अनलाइन र पत्रपत्रिकाहरुलाई कार्बाही गर्न थालिएको , वेब पोर्टलको डिजाइन गर्नेहरुले नै प्रसारित समाचारहरुलाई बन्देज लगाउन थालेका समाचारहरु नेपालमा आउन थालेका छन् । ती तिनै व्यक्तिहरु हुन् जो मिडिया कानुन बनाउँदा स्वतन्त्र प्रेसलाई तह लगाउने नियमहरु राख्न उद्यत थिए र अहिले पनि तयारी नै छन् ।

अहिलेको कहरबाट प्रिन्ट मिडियाको अवस्था संसारभर अप्रकाशित हुने अवस्था आएको छ र अनलाइनलाई पनि कार्बाही गर्न थालियो भने सायद सही समाचार आउनै पाउने छैन । गलत अफबाह र गलत समाचार दिनेलाई गरिने कार्बाही र सही समाचार दिएर जनतालाई सुसूचित गर्नेलाई एउटै मारमा पार्न थालिएको छ । यसो हुनुमा कुनै दूरगामी नियन्त्रणको उपाय अपनाउन थालिएको हो कि भन्ने पनि अनुमान गरिएको छ ।

विश्व अहिले कोभिड—१९को महाव्याधिमा जकडिएको छ । अदृश्य विषाणुको मारमा लाखौँ मानिसहरु फसेका छन् तर यसको खासै यस्तो उपचार भनेर आविष्कार भएको पाइँदैन । सतर्कताका साथ बन्दाबन्दी या लकडाउन नै एकअर्कासँग सम्पर्क नगरी सुरक्षित हुने उपाय मानिन्छ । साबुनले हात धोइरहने, विषाणुलाई शरीरमा प्रवेश गर्न नदिन अल्कोहल मिश्रित साइटाइजरको प्रयोग गरिरहने र चिसोबाट बच्ने अर्थात् रुघा खोकीसँगै आउने ज्वरोसँग सतर्कता अपनाउने भन्ने कुरा विश्व स्वास्थ्य संगठनले पनि बच्ने उपायका वारेमा भनिरहेको अवस्था छ । तर स्वास्थ्य सेवाको सबैभन्दा उपलब्धता र सर सफाइमा सबैभन्दा राम्रो कहलाइएको देशहरुमा कोभिड—१९को कहर बढेको छ । विश्वका यस्ता पनि बस्ती छन् जहाँ खानका लागि पानी पनि छैन, लगाउन लुगा पनि छैन, खानका लागि प्रशस्त खाना पनि छैन र कुपोषणबाट वर्षमा लाखौँ बालबालिकाहरुको ज्यान गइरहेको छ ।

न बस्ने बास छ, न बस्ने आफ्नो देश छ अनि सफाइका लागि कुरा कता हो कता, हातलाई बारम्बार साबुनले धुने कता हो कता ? तर कोरोना कहर कस्तो देखिन्छ भने यो समीक्षा सुरु गर्दा र अन्त्य गर्दा नै हजारौँको संख्यामा फरक पर्न थालेको छ । विश्वका करिब २०० देशको भ्रमण पूरा गरेको कोरोना विषाणुको प्रसारमा कमी आउने कुनै छाँट देखिएको छैन । यो कहरले विश्वमा नै नयाँ सँस्कृतिको सुरुवात गर्ने जस्तो देखिएको छ । यसले खानपान, बसाइ र अहिलेसम्मको जीवन वृत्तलाई नयाँ स्वरुपमा विकास गर्ने जस्तो देखिन्छ । नयाँ बस्ती र नयाँ जीवनको नयाँ स्वरुप कस्तो हुने भन्ने कुरामा स्वतन्त्र प्रेसले नै बहस चलाउने छ विश्वभर किनभने अहिलेको विश्व एउटा सानो गाउँ जस्तो भएको छ र हातमा भएको सानो मोबाइलले सबै कुराको जानकारी दिन्छ ।

हाम्रो नेपालमा अहिले एउटा अचम्भको सँस्कृति देखिन थालेको छ —चीनमा कोरोना संक्रमणको नियन्त्रणको विषयलाई राजनीतिक व्यवस्थाको अनुशासनसँग र पश्चिमा मानवअधिकार र खुला प्रेससँग जोडेर राम्रो व्यवस्था कुन हो भनेर प्रचार सुरु गरिएको छ । कोरोना कहरपछि पनि संसार चाहिन्छ र हामीले कहिले पनि निरङ्कुश शासनको पक्षमा बोल्ने कुरै आउँदैन । अहिले संसारबाट यो यो कारोना कहरको महाव्याधिबाट कसरी पार पाउने भन्ने छ र यसका लागि बन्दाबन्दीले एकअर्कासँग प्रत्यक्ष सम्पर्क नबढाउने भएकाले यसको प्रयोग चीनले गरेजस्तै गर्न थालिएको हो किनभने यो पटकको कोरोना कहरले सबैभन्दा पहिले चीनलाई नै पक्डियो र उसले त्यसबाट धेरै नै पार पाएको देखियो जवकि अझै पनि त्यहाँ त्यो देखिन्छ । अझै ओखती गरेर बसेकाहरुको स्वास्थ्य राम्रो जो हुनु छ । तर चीनभन्दा बढी चीनका भक्तहरु देखिएका छन् र कताकता स्वतन्त्र प्रेसको नियन्त्रणका लागि आफूहरु गोयबल्स शैलीमा लाग्नका लागि खटिएको झैँ गर्न थालेका छन् ।
वैश्विक आपतकालको बहानामा स्वतन्त्र प्रेसमाथि धाबा बोल्ने अवस्था छ , यसका लागि स्वतन्त्र पत्रकारिताका सँस्थाहरु , मानव अधिकारवादीहरु र नागरिक समाजले ध्यान दिनु जरुरी छ । जब जहाँकहीँ पनि सरकार अनुत्तरदायी हुन्छ , त्यहाँ पहिले स्वतन्त्र पत्रकारिताको घाँटी निमोठ्न खोज्छ र बन्द समाजको विकासको उदाहरण दिँदै नियन्त्रणको कहर सुरु गर्नेछ ।

खबरदारी गरौँ , महाव्याधिको आपतकालमा स्वतन्त्र प्रेसको पनि घाँटी निमोठ्ने प्रयासको निन्दा गरौँ र सतर्कताका साथ सजग हुँदै आफ्नो स्वतन्त्रताको रक्षा गरौँ र कोभिड—१९लाई पनि विशेषज्ञको रायबमोजिम गर्दै परास्त गराैँ ।

महाव्याधिसँग लड्न र त्यसबाट निदान पाउन पनि मानव अधिकारको महत्व छ , मानव अधिकार भनेको नै मौलिक हक हो र त्यसको निर्वाध प्रयोग गर्न पाउने हक हो । मानव अधिकार विना कुनै पनि मौलिक हकको प्रयोग गर्न कहाँ पाइन्छ र ? झन आपतकालमा नै मौलिक हकको प्रयोगले मानवोचित सुविधा दिने कर्तव्य सरकारको हुन्छ र आवश्यक सहयोग गरे नगरेको अनुगमन गर्न सकिन्छ । त्यो गर्ने भनेको त स्वतन्त्र प्रेसले नै त रहेछ नि ।