स्वास्थ्य सामग्री खरिद अनियमितताको अनुसन्धान गरी दोषीलाई कारबाही गर : कांग्रेस


हरेकपल April 3, 2020

काठमाडौं,२१ चैत । नेपाली कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी स्वास्थ्य सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस सभापति देउवाद्वार जारी विज्ञप्तिमा यो प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेकोे एवं समाचार लेख्ने र बोल्नेलाई हतोत्साहित गर्न खोजिएको विषयलाई गम्भीरतापूर्वक लिएको बताइएको छ ।

कोरोना सचेतना र सहयोग क्रममा नेपाली कांग्रेसले आफ्ना धारणा, सुझाब र अपिल नियमित रूपमा सार्वजनिक गर्दै आएको र मेडिकल सामग्री खरिद प्रकरणमा पनि पार्टीको धारणा सार्वजनिक भइसकेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन यतिबेला हामी सरकारको साथमा छौँ र हरसम्भव सघाइरहेका छौँ, युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएका छौँ, तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएका छौँ ।’

तर अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वस्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिदजस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफीयोग्य नरहेको कांग्रेसको ठहर छ । ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाही प्रक्रियालाई सघाउन देउवाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

तेस्रो बुँदामा भनिएको छ, ‘लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले विशेष चनाखो भई कार्य गर्न आवश्यक छ, अतः अपारदर्शी ढंगले कार्य भएको व्यापक समाचार दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कारबाही प्रक्रिया अघि बढाउन जरुरी छ ।’

लकडाउनको प्रतिकूल अवस्थाका बाबजुद सञ्चारमाध्यमले क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएको र यस्तो बेला राज्यको चौथो अंगलाई विशेष रुपले कदर र प्रोत्साहित गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद रहेको देउवाले बताएका छन् ।

कांग्रेस सबैखाले अनियमितता र बेथितिको विरुद्धमा निरन्तर उभिने बताउँदै सभापति देउवाले यद्यपि आजको संकटसँग जुध्न नेपाली कांग्रेस निरन्तर सरकारको साथमा रहने उल्लेख गरेका छन् ।

काठमाडौं प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक रहेको भन्दै उनले यसमा दोषीलाई पनि कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।