अन्य मुलुकका पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन अस्ट्रेलियाका प्रधानमन्त्रीको आग्रह


हरेकपल April 3, 2020

काठमाडौं, २१ चैत । अस्ट्रेलियाले आफ्नो मुलुकमा रहेका अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेको छ । प्रधानमन्त्री मोरिसनले अन्य भिसामा अस्ट्रेलियामा रहेकाहरुलाई पनि बस्‍नुपर्ने बाध्यता नरहेको बताएका छन् ।

प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो कठिन परिस्थितिमा आफ्नो घर फर्किँदा राम्रो हुने सुझाब दिँदै भनेका छन्, ‘तपाईं आफ्नो मुलुकमा हुँदा तपाईंले सरकारबाट उपलब्ध हुने सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ ।’

अस्ट्रेलियाले कोरोना संक्रमणको संकटका बेला आफ्‍ना नागरिक र यहाँका बासिन्दालाई बढी ध्यान दिनुपरेको उल्लेख गर्दै आफ्नै कमाइले टिक्न नसक्ने विभिन्‍न मुलुकबाट आएका विद्यार्थी आ–आफ्नै मुलुक फर्किने बेला भएको बताएको हफिङटन पोस्टले लेखेको छ ।

अस्ट्रेलियामा अहिले कोरोना संक्रमितको संख्या पाँच हजार २२४ छ भने २७ जनाको मृत्यु भएको छ ।