आज कामदा एकादशीव्रत, महिमासहित हेर्नुहोस् २०७६ चैत्र २२ गते


हरेकपल April 4, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २२ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ४ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको एकादशी तिथि बेलुका ६।०० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्लेषा नक्षत्र दिवा ५।३६ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।५३ मा छ भने सूर्यास्त बेलुका ६।२२ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा छन् ।


आज कामदा एकादशीव्रत परेको छ । चैत्र शुक्लपक्षको एकादशीलाई कामदा भनिन्छ । समस्त मनोकामना पू्र्ण गर्ने भएकाले कामदा नाम रहन गएको हो । यसैगरी प्रेममा सफलता प्राप्तिका निम्ति पनि कामदा एकादशीको व्रतधारण उत्तम मानिएको छ ।


कामदैकादशी नाम्नी या कृता कामदा नृणाम् । (एकादशीमाहात्म्य, १०।३२)
अर्थात् कामना पूर्ण गर्ने दिन भएकाले नै कामदाएकादशी नाम रहन गएको हो । यसैपनि एकादशी विष्णु भगवान्को प्रिय दिन हो । अतः यस दिन लक्ष्मीनरायाण भगवान्को उपासना विशेषफलदायी रहने गर्दछ । विधिपूवृक धारण गरिएको एकादशी व्रतले यो लोकमा सुख सम्पत्ति पप्तिका साथै परलोकमा पनि मुक्ति मिल्ने फल वर्णन गरिएको छ ।


कामदा एकादशीको विधिपूर्वक व्रत धारण गर्नाले समस्त पाप नाश हुन्छन् । यसैगरी राक्षस आदि योनिबाट पनि मुक्ति मिल्ने गर्दछ । यसैगरी यो कथालाई पढ्ने वा सुन्नेले पनि वाजपेय यज्ञ गरे सरह फल प्राप्त गर्दछन् भनी एकादशी माहात्म्यमा उल्लेख गरिएको छ ।